शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागमा डीएसपीको कमान्डमा सुरक्षाकर्मी खटाइने

मङ्गलबार, २३ जेठ २०८०, १४ : ०४
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । वैदेशिक रोजगार विभागको सुरक्षार्थ डीएसपीको कमान्डमा सुरक्षाकर्मी खटाइने भएको छ । त्यसका लागि आवश्यक गृहकार्य तथा छलफल भइरहेको विभागले जनाएको छ । विभागका महानिर्देशक मदन दहालले विभागको सुरक्षार्थ सुरक्षा पोस्ट राख्ने विषयमा छलफल भइरहेको बताए ।

विभागमा बढ्दो सेवाग्राहीको चाप र हुल हुज्जत हुन थालेपछि विभागले सुरक्षाकर्मी माग गरेको थियो । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेर गृह मन्त्रालयलाई पठाएको थियो । गृह मन्त्रालयले भने हालसम्म कुनै निर्णय गरेको छैन । लामो समयसम्म पनि कुनै पहल अगाडि नबढेपछि विभागले नै सक्रियता देखाएको छ ।

दिनदिनै ठगीका घटना बढ्दै जाने र विभागमा आएर अनावश्यक हो हल्ला गर्नुका साथै काममा अवरोध सिर्जना हुँदै आएको छ । महानिर्देशक दहालले डीएसपीको कमान्डमा बर्दिधारी सुरक्षाकर्मी राख्नको लागि पहल भइरहेको बताए ।

‘आज आईजीपी सापसँग छलफल गर्ने कुरा थियो । तर, उहाँ सिंगापुर जानुभयो । अब उहाँ फर्किएपछि छलफल गर्छौ’ महानिर्देशक दाहालले भने ।

हाल विभागमा सादा पोशाकमा प्रहरी खटाइएको छ । तर, अब बर्दिधारी नै राख्न लागिएको उनको भनाई छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरू दिनप्रतिदिन ठगिँदै आएका छन् । पर्याप्तमात्रामा जनशक्ति नहुँदा अनुगमनलाई प्रभावकारी बनाउन नसकिएको विभागले जनाएको छ । हाल विद्यमान रहेको जनशक्ति र सुरक्षाकर्मीको सहयोगमा अनुगमनलाई प्रभावकारी बनाउनुका साथै ठगी गर्ने गिरोहमाथि तत्काल एक्सन लिन सजिलो हुने महानिर्देशक दहालले बताए ।

यसअघि विभागमा ठाउँ अभाव थियो । अब ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा सरेसँगै सेवा प्रवाहमा सहजता आउने विभागको विश्वास रहेको छ । त्यहाँ सुरक्षाकर्मीको पोस्ट खडा गर्न पनि सहज हुने महानिर्देशक दहालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

परिवेश पोखरेल
परिवेश पोखरेल
लेखकबाट थप