मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

दादुरा निवारण गर्न सरकारलाई चुनौती

सन् २०२६ भित्र नेपालमा दादुरा रुबेला निवारण गर्ने लक्ष्य
बिहीबार, २५ जेठ २०८०, १४ : २२
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । बाँके जिल्लामा दादुरा आउटब्रेक भएको समाचार पछिको साढे पाँच महिनामा मात्रै नेपालभर ११ सय बालबालिकामा सङ्क्रमण पुष्टि भएकोे छ । 

पाँच महिनाको अवधिमा १७ जिल्लामा दादुरा–रुबेलाका बिरामी देखिएका छन् । सरकारले प्रभावित ९ जिल्लामा  आजबाट खोप दिने अभियान सञ्चालन गरेकाे छ । यसै क्रममा काठमाडौँ उपत्यकामा ४ जना बालबालिकामा दादुरा पुष्टि भएको परिवार कल्याण महाशाखाले जनाएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकामा भने पुस १२ गते ५ जनामा दादुरा पुष्टि भएको थियो । 

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य खोप शाखाका अनुसार दादुरा र रूबेला रोगविरुद्धको खाेप ६ महिनादेखि १५ वर्ष उमेर मुनिका बालबालिकालाई सम्पूर्ण खोप दिन सुरु गरिएकाे छ ।

हाल सो खोप सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा दिन लागिएको हो । विभिन्न जिल्लाहरूमा देखिएको दादुरा महामारीलाई अन्य जिल्लामा फैलिन सक्ने जोखिम कम गर्न खोप अभियान सञ्चालन गरिएको हो ।

दादुरा रोग अन्य रोगभन्दा अत्यन्त छिटो सर्ने भएकाले यो एक जनामा सङ्क्रमण देखिएमा १२ देखि १८ जनासम्मलाई सार्न सक्ने बाल स्वास्थ्य तथा खोप शाखाका अधिकृत भरत भण्डारीले बताए ।

स्वास्थ्य मन्त्रालयले दादुरा रुबेला रोग सन् २०१९ मै निवारण गरिसक्ने बताउँदै आएकोमा दक्षिण पूर्वी एसियाबाट भने सन् २०२२ मा निवारण गर्ने भनिएको थियो । तर, यो लक्ष्य पुरा भएन । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार दादुरा निवारणका लागि कम्तीमा १२ महिनासम्म एउटा पनि बिरामी देखिनु हुँदैन । समुदायमा दादुराको शङ्कास्पद बिरामीहरूको खोजपड्ताल गर्दा बिरामीको रगतको रिपोर्टमा दादुरा नेगेटिभ आउनुपर्छ । यही अवस्था निरन्तर ३ तीन वर्ष कायम गर्न सकेमा निवारण प्रमाणीकरण गर्न सकिन्छ । जसमा खोप लगाउने देशको कुल जनसङ्ख्याको ९५ प्रतिशत हुनुपर्छ । 

‘कुनै पालिकामा ७ वटा वडा छन् । जसमा ६ वडाले शतप्रतिशत दादुरा–रुबेला विरुद्धको खोप लगाए तर एउटामा खोप लगाउन १० जनामा छुटेमा कुनै कुनै बेला दादुरा देखिन्छ,’ भण्डारीले भने, ‘नेपालमा विगतमा भन्दा खोप कभरेज राम्रो छ । कोरोना महामारीले पूर्ण खोपमा समस्या निम्तिएको हो ।’ 

दादुरा–रुबेला निवारणमा चुनौती 

देशका विभिन्न भागमा बेला बेलामा दादुरा–रुबेलाका बिरामी पुष्टि हुँदा निवारणका लागि समस्या उत्पन्न भएको छ । 

२०७६ चैतमा धादिङमा दादुरा सङ्क्रमणका कारण दुई बालकको मृत्यु र डेढ सय जना सङ्क्रमित भएका थिए । त्यस्तै, ०७९ पुसमा नेपालगन्जमा एक जनाको मृत्यु हुनुका साथै सयौँ बालबालिका सङ्क्रमित भएको पाइयो । हाल १७ जिल्लामा बिरामी देखिएका छन् । 

खोप विज्ञ सल्लाहकार समितिका एक उच्च अधिकारीका अनुसार धार्मिक विश्वासका कारण केही समुदायका मानिसले बालबालिकालाई खोप लगाउन नमान्दा निवारणको लागि चुनौती थपिएको छ । 

आर्थिक वर्ष २०७६÷७७ मा दादुरा–रूबेला विरुद्धको खोपको पहिलो मात्रा खोप कभरेज दर ७०.७ प्रतिशत रहेको शाखाले जनाएको छ । आव ०७७÷७८ सो खोप दर ८०.९ प्रतिशत, आव ०७८÷०७९ मा ९२.८ प्रतिशत र चालु आवमा करिब ९५ प्रतिशतले पहिलो मात्रा खोप लगाएको शाखाले जनाएको छ । 

नेपालमा वार्षिक रूपमा ५ लाख बालबालिकाले पहिलो मात्रा दादुरा–रुबेला विरुद्धको खोप लगाउने गर्छन् । यो खोप नियमित खोप कार्यक्रमअन्तर्गत ९ महिना र १५ महिनाका बालबालिकालाई लगाइन्छ । 

दादुराको पहिलो मात्रा लगाएका मध्ये दोस्रो मात्रा लगाउन करिब ८० प्रतिशत आउने गर्छन् । यस तथ्याङ्कअनुसार दादुरा–रुबेलाको खोप लगाउन धेरै छुटिरहेका छन् ।

बालबालिकालाई दिइने नियमित खोपको व्यवस्थापन जिल्लामा स्थानीय तहको भए पनि पूर्ण रूपमा जिम्मेवारी लिएर काम गर्न नसक्दा समस्या भएको ती खोप विज्ञले बताए । 

उनले भने, ‘वडामा खोप लगाउन कुन बच्चा छुटे वा लगाए भन्नेबारे स्थानीय तहले जानकारीसमेत राख्दैनन् । खोप निवारणको कुरा स्थानीय तहका सरकारले प्राथमिकता पार्न नसक्दा समस्या भयो ।’

सरुवा रोग भएकाले निवारण भएका देशमा समेत दादुरा रुबेलाका बिरामी पुष्टि भएको अधिकृत भण्डारीले जिकिर गरे ।

सात प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिममा दादुरा रुबेलाको पहिलो मात्रा खोप लगाएर बच्चा परिवारसँगै जीविकोपार्जनका लागि भारततिर जाने ठूलो जमात रहेकोले निवारणका लागि चुनौती थपिएको उनले सुनाए ।

‘मधेसतिर बच्चा जन्माएर सुत्केरी बस्न माइती भारत जान्छन् अनि खोप लगाउन छुटाउँछन् । यसले निवारणका लागि जटिलता थपिदै गयो,’ उनले भने ।

देशव्यापी अभियान सञ्चालन 

सरकारले दादुरा रोगसम्बन्धी देशव्यापी रूपमा सन् २०२४ सम्म अभियान सञ्चालन गर्ने जनाएको छ । नेपालले दादुराको खोप अभियान र जनचेतना फैलाउन वडा, स्थानीय, प्रदेश र केन्द्र तहसम्म अभियानलाई तीव्रता दिने भए भएको छ । साथै, अब सन् २०२६ सम्म दादुरा रुबेला रोग नेपालबाट निवारण गर्ने नयाँ लक्ष्य राखिएको छ । 

गएको वर्ष पुसबाट दादुरा सङ्क्रमित बालबालिका धमाधम पुष्टि हुन थालेपछि प्रभावित जिल्लामा खोप दिन खरिद र अनुदान गरी ५३ करोड रुपैयाँमा प्राप्ति गरेको भण्डारीले बताए । 

यस्तै, नेपाल सरकारले बालबालिकालाई दिइने खोप गावी (भ्याक्सिन अलाएन्स), विश्व स्वास्थ्य संगठन, युनिसेफ लगायतका संस्थाको सहयोग तथा खरिद गरेर पनि व्यवस्थापन गर्दै आएको छ । 

कसरी सर्छ ?

दादुराको भाइरस मुख्यतः श्वास प्रश्वासको माध्यमबाट सर्ने गर्छ । जस्तै मुखबाट निस्किएको ससाना पानी कणबाट, खोक्दा, हाच्छिउँ गर्दा एकबाट अन्यमा सर्ने गर्छ । 

यस्तै, थुक, सिँगानको माध्यमबाट पनि सर्ने गर्छ । दादुरा भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा पुगेमा हावाका माध्यमबाट पनि सर्ने गर्छ ।

यी माध्यमबाट सर्दा दादुराको भाइरसले श्वास नलीलाई सङ्क्रमण गरी क्रमशः शरीरभरि फैलिन्छ । बालबालिकाले आफ्ना उमेर समूहका साथीसँग बढी घुलमिल गर्छन् । यस्तो अवस्थामा सजिलै दादुरा सर्ने सम्भावना रहन्छ ।

दादुराको लक्षण

दादुरा सङ्क्रमण भई सम्पर्कमा आएको १०–१२ दिनपछि ज्वरो आउँछ । सङ्क्रमण भएपछि रुघाखोकी लाग्ने, ज्वरो आउने, थकान हुने, आँखा रातो हुने, मुखभित्र सेतो दाग पनि देखिन्छ । 

यस्तै, घाँटीको तल्लो उपल्लो भागमा, खुट्टामा समेत बिमिरा देखिन्छ । यो बिमिरा सङ्क्रमण भएको पाँच दिनपछि आफै हराउँछ ।

डब्ल्यूएचओका अनुसार पाँच वर्ष मुनिका बालबालिकादेखि २० वर्ष माथिकालाई पनि दादुरा देखिन्छ । यो रोगका कारण अन्धोपन, झाडापखाला, निमोनिया, श्वास नली र फोक्सो नलीमा सङ्क्रमणदेखि हेपाटाइटिस, इन्सेफ्लाइटिसलगायत समस्या भएर स्वास्थ्यमा जटिल स्थिति सिर्जना गर्छ ।

उपचार

डब्लूएचओका अनुसार दादुराको कुनै एन्टिभाइरल उपचार छैन । यसबाट जोगिने एक मात्र उपाय दादुरा विरुद्धको खोप लगाउनु हो । यो रोग लागेर जटिलतातिर पुगेको खण्डमा सहयोगी उपचार तथा कम गर्ने प्रयास गर्न सकिन्छ । 

दादुरा सङ्क्रमण पुष्टि भएपछि लक्षणमा आधारित भएर चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ । लक्षणमा आधारित भएर पोषणयुक्त खाना खाने, पर्याप्त मात्रामा झोलिलो पदार्थ पिउने, पखाला, बान्ता भएमा जीवनजल पिउनु पर्छ ।

ज्वरो आउँदा, आँखाको सङ्क्रमण र निमोनिया लगायतका समस्या कम गर्न एन्टिबायोटिक औषधिसमेत दिइन्छ । 

सरकारले निःशुल्क प्रदान गर्ने दादुरा खोप ९ महिना र १५ महिनामा दुई मात्रा खोप लगाएमा जोखिम निर्मूल गर्न सकिन्छ । 

रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चाँडै सङ्क्रमण हुन सक्ने भएका कारण दादुराको लक्षण देखिएपछि बालबालिकालाई स्कुल जान, साथीहरूसँग खेल्न सावधानी अपनाउनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप