बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : उपाधि एमेच्योर सुवाषको पोल्टामा

शुक्रबार, २६ जेठ २०८०, १८ : ००
शुक्रबार, २६ जेठ २०८०

काठमाडौं ।  सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको अन्तिम प्रतियोगिता ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’को उपाधि नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवाष तामाङले जितेका छन् । उनले अन्तिम दिन शुक्रबार सात अन्डर ६५ को उत्कृष्ट स्कोर गरे ।

समग्रमा २१ अन्डर दुई सय ६७ स्कोरसहित उनले अर्का एमेच्योर खेलाडी सद्भाव आचार्यलाई चार स्ट्रोकले हराए । सुवाषको यो सिजनको दोस्रो र करियरको पाँचौं प्रो उपाधि हो । उनले शुक्रबार प्रो र एमेच्योर दुवैतर्फको ट्रफी आफ्नो नाममा लेखाउँदै सिजनको सानदार अन्त्य गरेका छन् ।

प्रोफेसनल गल्फरहरूले यस पटक पनि एमेच्योर खेलाडीको चुनौती पन्छाउन सकेनन् । राष्ट्रिय टोलीका खेलाडी युवा गल्फर सदभावले एक अन्डर ७१ सहित समग्रमा १७ अन्डर दुई सय ७१ को स्कोरमा दोस्रो स्थान हासिल गरे । उनी एमेच्योरर्फ पनि दोस्रो भए ।

धरानका नीरज तामाङले शुक्रबार चार अन्डर ६८ को स्कोर निकाले । उनी समग्रमा १२ अन्डर दुई सय ७६ स्कोरसहित तेस्रो भए । प्रोफेसनलतर्फ उनी पहिलो भए । उनले दुई लाख ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । 

साविक विजेता शुक्रबहादुर राईले चार अन्डर ६८ मा खेल टुंग्याए । उनी समग्रमा ११ अन्डर दुई सय ७७ स्कोरसहित चौंथो भए । प्रोतर्फ दोस्रो हुदै उनले एक लाख ७० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यो पुरस्कार राशीसँगै शुक्रले नम्बर एक खेलाडीको स्थानलाई जोगाएका छन् । यो सिजन उनले कुल ६ लाख ३४ हजार रुपैयाँ प्राप्त गर्दै सर्वाधिक पुरस्कार जिते । 

भुवन नगरकोटीले समग्रमा पाँच अन्डर दुई सय ८३ स्कोर गरे । अन्तिम दिनको खेल इभन पार ७२ मा सकाउँदै भुवन पाँचौ भए । प्रोतर्फ उनी तेस्रो भए र एक लाख २० हजार रुपैयाँ प्राप्त गरे । दुई ओभर ७४ स्कोर गर्दै समग्रमा तीन अन्डर दुई सय ८५ स्कोरसहित दिनेश प्रजापति छैटौं भए । प्रोतर्फ चौथो भएका उनले नगद एक लाख रुपैयाँ प्राप्त गरे । 

यसैगरी समग्रमा एक अन्डर दुई सय ८७ सहित तोरणविक्रम शाही सातौं भए । उनले शुक्रबार इभन पार ७२ मा खेल टुंग्याए । प्रोतर्फ भने पाँचौ हुँदै उनले ८६ हजार रुपैयाँ हात पारे । तीन ओभर ७५ सहित समग्रमा एक ओभर दुई सय ८९ को स्कोरमा‌ शिवराम पौडेल आठौं भए । उनले ७९ हजार रुपैयाँ नगद प्राप्त गरे । प्रोतर्फ उनी छैटौं स्थानमा आए । 

समग्रमा दुई ओभर दुई सय ९० सहित जयराम श्रेष्ठले ७३ हजार रुपैयाँ प्राप्त गरे । उनले शुक्रबार चार ओभर ७७ मा खेल टुंग्याए । प्रोतर्फ उनी सातौ भए । पूर्णप्रसाद शर्मा र राजेन्द्र थापा मगरले प्रोतर्फ संयुक्त रुपमा आठौं स्थान बाँडे । उनीहरूले जनही ६५ हजार प्राप्त गरे । 

सुर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि के रायभरम, एनपीजीएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे । प्रोफेसनल गल्फर्स एसोसिएसन एनपीजीए नेपालद्वारा आयोजित तथा सूर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको थियो । कुल १५ लाख २० हजार रुपैयाँ नगद पुरस्कार राशी रहेको प्रतियोगिताको शीर्ष २१ खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप