शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

म नुवाकोटको भएकोले यहाँ धेरै बजेट परेको छ : अर्थमन्त्री डा. महत

आइतबार, २८ जेठ २०८०, ०८ : ०३
आइतबार, २८ जेठ २०८०

नुवाकोट । अर्थमन्त्री प्रकाशशरण महतले आफू नुवाकोटकै भएकोले यहाँ धेरै बजेट परेको स्वीकार गरेका छन् । नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा मन्त्री डा. महतले भने- ‘म नुवाकोटकै अर्थमन्त्री परेका कारणले बजेट यो जिल्लामा थोरै बढी परेको छ । त्यो नुवाकोटको आवश्यकता हो । 

महतले प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा धेरै बजेट गयो भनेर सांसददेखि सडकसम्म चर्चा भए पनि देशभरि बजेट पुर्‍याउने प्रयास गरेको दाबी गरे । 

अर्थमन्त्री  महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङ मार्ग यसै वर्षदेखि निर्माण प्रक्रिया अघि बढ्ने बताएका छन् । उनले भने, ‘टोखा–छहरे सुरुङ मार्ग नुवाकोटको मात्र आवश्यकता होइन । यो सुरुङ मार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङ मार्गको बहुआयमिक उपयोगिता छ । त्यसैले यो नुवाकोटको मात्र पुँजी होइन ।’

‘यो सुरुङ मार्गको धेरै वर्षदेखि चर्चा भएको विषय हो । चर्चा भयो, ठोस पहल भएन । अहिले हामीले ठोस पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेका छौँ । यद्यपि यसमा विदेशी सहयोग आउने सम्भावना छ’ भवन उद्घाटन समारोहमा मन्त्री डा महतले भने, ‘विदेशी सहयोग आओस् नआओस्, यो सुरुङ मार्ग निर्माणको प्रक्रिया हामी अगाडि बढाउँछौँ । यो नुवाकोटको आवश्यकता मात्र होइन, यो देशको आवश्यकता हो ।’

अर्थमन्त्री डा महतले भने, ‘यसै वर्ष सबै काम हुन्छ भन्ने कुरो होइन, सुरुङ मार्ग निर्माण गर्दा धेरै प्राविधिक कुरा पूरा गरेर मात्र अगाडि बढाउनुपर्छ । तर, यो बन्छ भन्ने सन्देश दिनका लागि पनि यो बजेट पहिलो पटक विनियोजन गरिएको छ । अब यसले नुवाकोटको कृषि, उद्योग व्यवसाय, पर्यटनलाई यो सुरुङ मार्गलाई ठुलो सहयोग पुर्याउँछ । यो निर्माण सम्पन्न हुनका लागि हामीले केही वर्ष पर्खिनु पर्ने हुन्छ ।’

‘बजेटका विषयमा धेरै चर्चा परिचर्चा भएका छन् । स्रोत जुटाउन कठिन छ हाम्रा लागि, राजस्व कम उठेको थियो, विदेशी सहयोग, आन्तरिक ऋण जोडेर बजेट बनाउनुपर्ने हाम्रो बाध्यता थियो । अझ ठुलो बजेट बनाउन प्रधानमन्त्री स्वयम चाहनु हुन्थ्यो, जनताका आवश्यकतालाई बढीभन्दा बढी पूर्ति गर्न सकौँ, बाटो गाउँ गाउँमा पुर्याउन सकौँ भन्ने सबैको चाहना हो । आम्दानी नभई खर्च गर्न सकिँदैन’ मन्त्री डा। महतको भनाइ थियो ।

‘धेरै समययता नुवाकोटमा अत्यन्तै न्यून बजेट परिरहेको छ । धेरै वर्षपछि यहाँका विकास निर्माणको जुन आवश्यकता थिए, ती आवश्यकता पूर्तिका लागि हामीले सक्ने बजेट विनियोजन गरेका छौँ । स्थानीय, प्रदेश पनि छ, त्यसैले सबै काम केन्द्रले गर्दैन’ मन्त्री महतले भने, ‘टोल टोलमा पुग्ने बाटो केन्द्रले बनाउन सक्दैन, त्यसका लागि स्थानीय निकाय र प्रदेशले आफ्नो बजेटबाट प्रवन्ध गर्नुपर्छ । प्रदेशको बजेट पनि आउँदै छ, केन्द्रले राख्न नसकेको ठाउँमा प्रदेशले पनि राख्छ ।’

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप