बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रजनन केन्द्रमा कोरलिन थाले गोहीको बच्चा

आइतबार, २८ जेठ २०८०, १६ : २८
आइतबार, २८ जेठ २०८०

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २० वटा गोहीका बच्चा कोरलिएका छन् । केन्द्रको गुँड नम्बर २ मा राखिएको ३७ वटा अण्डामध्येबाट बीस वटालाई प्रयोगशाला कक्षको इन्कुबेटरमा राखेर ३२ डिग्री तापक्रममा बच्चा जन्माइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ती अण्डाबाट जेठ २४ गते ती बच्चा कोरलिएका हुन् । केन्द्रले वैशाख ८ गते राप्ती नदीको सीतामाइदेखि सौराहासम्म आठ वटा गुँडबाट दुई सय ४२ वटा अण्डा सङ्कलन गरेको थियो । 

ती अण्डा केन्द्रमा बच्चा जन्माउनका लागि राखिएको थियो । तीमध्ये २० वटा गोहीको बच्चा कोरलिएको तिवारीले जानकारी दिए । अन्य अण्डाबाट समेत बच्चा कोरल्ने प्रक्रिया भइरहेको उनले बताए । प्रजनन केन्द्रका तीनवटा गुँडमा गोहीले अण्डा पारेको छ । उनका अनुसार गत दुईवर्ष प्रजनन केन्द्रका अण्डाबाट बच्चा कोरलिएको छैनन् । प्रजनन केन्द्रमा गोहीको सङ्ख्या बढी भएपछि यसवर्ष अण्डा थोरै मात्र सङ्कलन गरिएको हो । 

गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार गत वर्ष पाँच ६३ वटा अण्डा सङ्कलन गरिएको थियो । ती अण्डाबाट चार सय ९६ बच्चा कोरलिएका थिए । यसरी कोरलिएका बच्चा बचाउन निकै जटिल हुने गर्दछ । हालसम्म आइपुग्दा तीमध्ये तीन सयको हाराहारीमा मात्रै जीवित छन् । मगरले प्रजनन केन्द्रमा ६ सय ४० साना ठूला गोही रहेको भन्दै यसवर्ष थोरै मात्र अण्डा सङ्कलन गरिएको बताए । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी गोहीका बच्चा हुर्काएर नदीमा छाड्दै आएको छ । 

प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार आठ सय ५२ वटा गोही विभिन्न नदीमा छाडिसकिएको छ । तीमध्ये सबैभन्दा बढी राप्तीमा एक हजार एक सय ३२ वटा गोही छाडिएको छ । यस्तै नारायणीमा चार सय १९, बबईमा एक सय १०, सप्तकोशीमा एक सय १५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ गोही छाडिएको छ ।
पछिल्ला दिनमा अन्य नदीमा संरक्षण हुन नसकेपछि अधिकांश गोही राप्ती र नारायणीमा मात्रै छोडिदै आएको छ । नारायणी र राप्तीमा छाडिएका गोही पनि वर्षाको समयमा भारत पुग्ने र बाँधका कारण पुनः फर्किएर नआउने समस्या रहेको छ ।  नदी प्रदूषित हुँदै जानु, जथाभावी नदीजन्य पदार्थको उत्खनन गर्नु, माछा मार्न ठूला जाल प्रयोग गर्नु जस्ता कारणले गोही संरक्षणमा समस्या भएको निकुञ्जको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप