सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
सट्टेवाजी

वानएक्स बेटमार्फत करोडौंको सट्टेवाजी

विदेशी विनिमय अपचलनमा धरौटीमा छुटेका खड्का वानएक्स बेटमा पक्राउ
बुधबार, ३१ जेठ २०८०, १६ : ४०
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । २०७८ माघमा विदेशी विनिमय अपचलमा पक्राउ परेर २५ लाख धरौटीमा छुटेका चाबहिलका दिनेश खड्का वानएक्स बेटमार्फत सट्टेवाजी गरेको आरोपमा पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागले त्यतिबेला खड्कालाई सामान्य सूचनाका आधारमा मात्रै पक्राउ गरेको थियो ।

अनुसन्धान गर्दै जाँदा उनी र उनको परिवारका सदस्यमार्फत मोबाइल एपबाट नेपाली रुपैयाँलाई अमेरिकी डलरमा रुपान्तरण गरेर भुक्तानी गरेको रहस्य खुलेको थियो । तीन महिनामा खड्का र उनको परिवारमार्फत मिलेर ३७ करोड ६४ लाख ११ हजार एक सय रुपैयाँलाई डलर (३१ लाख २७ हजार ८१६.७९ सेन्ट) भुक्तानी गरेको पाइएको थियो । 

राजश्वले त्यतिबेलै खड्का र उनको परिवारका केही सदस्यलाई नियन्त्रणमा लिई विदेशी विनिमय अपचलनमा मुद्दा चलायो । खड्का २५ लाख धरौटी तिरेर छुटे । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनै खड्कालाई वानएक्स बेटमार्फत ६४ करोड रुपैयाँ बराबरको कारोबार गरेको आरोपमा पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । खड्काले राम बिलाश डिथारु, तेज बहादुर ठयात खडका, नवीन चौधरी, अनिता धितालको नामका कागजातहरु प्रयोग गरी विभिन्न बैंकमा ६३ वटा खाता खोलेका थिए । ती मध्ये १२ वटा खातामा हालसम्म ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

क्रिप्टोकरेन्सी कारोबारको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समेत खोजिरहेका खड्कासँगै धिताल पनि पक्राउ परेकी छिन् । धितालले आफ्नो मोबाइलमा बाइनेन्स खाता खोली अमेरिकी डलर किन्ने गरेको प्रहरीले जनाएको छ । खड्काले जंगल, पुकुडन, पिंकी, पिन्टु, गुल्लु, चिकु–वान, अनियन–वान नामको कनेक्ट आइपीएस एकाउन्ट खोलेर कारोबार गर्दै आएका थिए । 

विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा गतिविधिहरुमा सट्टबाजी गर्न प्रयोग हुने सट्टेवाज एप मध्ये वानएक्स बेट मार्फत ठूलो रकमको सट्टेबाजी गर्दै आएको छ । सट्टवाजी गर्नेहरुले क्रिप्टोकरेन्सीको समेत व्यापार गर्दै आएका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले केही महिना देखि वानएक्स बेटका अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा एक दर्जन बढीलाई पक्राउ गरिसकेको यस कार्यालयले खड्कालाई पक्राउ गर्न विगत तीन दिनदेखि पिछा गरेको थियो । कार्यालयका प्रमुख एसएसपी मनोज केसीले पत्रकार सम्मेलनमा भने,‘ वानएक्स बेटमार्फत सट्टेवाजी गर्ने र डलर संकलन गर्ने मध्ये खड्का मुख्य व्यक्तिमध्येका एक हुन्, हामी अझै अनुसन्धानमै छौँ ।’ 

प्रहरीले खड्कासँगै धिताल, भक्तपुरका दिपेश श्रेष्ठ, पेप्पीकोला बस्ने दिनेश चन्द र नागार्जुन नगरपालिका–२ बस्ने आशिष् लामिछानेलाई पक्राउ गरेको छ । पक्राउ मध्येका श्रेष्ठ भर्खरै मात्र भारतमा चाटर्ड एकाउन्ट पढेर नेपाल फर्र्किएका थिए । उनले ९८०८३२२००२, ९८५१०८५५३९, ९८१३०४३१२४ र ९८५११३४२३९ मोबाइल नम्बरमार्फत ई–सेवामा क्रमश: ९० लाख १२ हजार, ८२ लाख १९ हजार, २९ लाख २१ हजार र २८ लाख पाँच हजार जम्मा गरेका थिए । जम्मा गरेको रकममध्ये ५९ लाख २९ हजार भने कारोबार गरिसेको प्रहरीले जनाएको छ । 

श्रेष्ठले माछापुछ«े बैंक, एनआइसी एसिया बैंक र प्रभु बैक, सानिमा बैंकमा खाता खोलेका थिए । यी खाताहरुबाट श्रेष्ठले पाँच करोड ५४ लाख ६६ हजार बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठ वानएक्स बेटका एजेन्ट हुन् । उनले आफ्नो मोबाइलमा क्रिप्टोकरेन्सी ट्रेड गर्नलाई ब्यालेन्स एकाउन्ट खोलेर कारोबार गर्दै आएको जानकारी एसएसपी केसीले दिए । 

केसीका अनुसार पक्राउ मध्येकै आशिष् लामिछाने एनआइसी एसियिा बैंक, ग्लोबल आइएमई बैंक, सनराईज बैंक, महालक्ष्मी विकास बैंकमा क्रमशः एक करोड ४० लाख, एक करोड एक लाख ६१ हजार, ९५ लाख तीन हजार, ४० लाख ५३ हजार गरी दुई करोड ९८ लाख ९६ हजार रुपैयाँ कारोबार गरेको देखिन्छ । एसएसपी केसीले भने, ‘ वानएक्स बेट चलाएका यी पाँच जनाबाट मात्रै अहिलेसम्म ७४ करोड १३ लाख ५० हजार बराबरको कारोबार भएको देखिन्छ, हाम्रो अनुमानमा यो एक अर्ब रुपैयाँ पुग्नसक्छ । हामी थप अनुसन्धान गर्दैर्छौं ।’ 

प्रहरीले पक्राउ परेकाहरुको साथबाट ३५ लाख नगद, चार थान ल्यापटप, ३४ वटा सीमकार्ड, सात वटा मोबाइल, ६ वटा नागरिकता, १४ वटा विभिन्न बैंकका चेकबुक, पाँच वटा विभिन्न बैंकका एटिएमकार्ड  र दुई वटा राउटर बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप