शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

कार्यान्वयन नहुने नीति तथा कार्यक्रममा टिप्पणी आवश्यक नभएको विपक्षीको प्रतिक्रिया

बुधबार, ३१ जेठ २०८०, १६ : ४३
बुधबार, ३१ जेठ २०८०

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभामा आज प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयन नै नहुने भन्दै विपक्षी गठबन्धनले यसको विषयमा कुनै प्रतिक्रिया वा टिप्पणी गर्नुको अर्थ नभएको प्रस्ट पारेको छ ।

विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले अल्पमतमा परेको सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन नै नहुने भन्दै यसबारे टिप्पणी आवश्यक नभएको बताएका हुन् ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानको धारा १८४ लाई छल्नका लागि मात्रै नीति तथा कार्यक्रम ल्याइएको बताए । यसखालको नीति तथा कार्यक्रमले प्रदेशवासीको अपेक्षा पूरा गर्न नसक्ने र यसको गहिरिएर अध्ययन तथा टिप्पणी गर्नुको पनि अर्थ नरहने उनको भनाइ छ ।

यस्तै कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम निबन्ध जस्तो रहेको बताए । ‘सबै टाकनटुकन १५ दिनमै प्रदेश आमूल परिवर्तन होलाजस्तो ल्याएको छ । यो कार्यान्वयन नै हुँदैन,’ राईले भने, ‘बजेटको अवस्था एकातिर छ, अर्कोतिर यो सरकार अल्पमतमा छ । सायद भरे १२ बजेसम्ममा प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुहोला । जम्मा १५ दिनका लागि यो नीति तथा कार्यक्रम नल्याएको भए हुने थियो ।’

नीति तथा कार्यक्रममा खास नौलो कुरा केही नरहेको भन्दै उनले एमालेको घोषणापत्र जस्तो दस्तावेज ल्याइएको जिकिर गरे ।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले अल्पमतमा परेको सरकारले ल्याएको नीति तथा कार्यक्रम पास नहुने र कार्यान्वयनमै नजाने निश्चित रहेकाले यसमाथि टिप्पणी गर्नुको औचित्य नरहेको बताए ।

‘चन्द्रमामा मान्छे पु¥यायो भने मान्छे बाँच्छ बाँच्दैन होला भन्ने जस्तो बहसको अर्थ छैन,’ उनले भने, ‘पुरानै विषयहरू कार्यक्रममा रहे पनि अल्पमतमा रहेको सरकारका नीति तथा कार्यक्रम पास नै नहुने भएकाले यसको कुनै अर्थ छैन । अर्को नीति तथा कार्यक्रम बन्छ । यो समय कटनी मात्रै हो ।’

उता, सत्तारुढ दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नीति कार्यक्रम ल्याउनै पर्ने सरकारलाई बाध्यात्मक व्यवस्था नरहेको बताए । तर, सरकारले संसदको अधिवेशन अन्त्य गर्नेतिर भन्दा पनि स्वाभाविक ढंगले नीति तथा कार्यक्रम ल्याएको र छलफल गरेर पारित हुने उनको भनाइ छ ।

‘सामान्य परिस्थितिमा बाहेक बजेट संसदबाटै ल्याइन्छ,’ अब बजेट पनि संसदमै आउँछ भन्ने प्रश्नमा उनले भने, ‘मधेश प्रदेशमा एमालेले सरकारलाई समर्थन दिएको कारण कोशी प्रदेशमा पनि जेसूकै हुन सक्छ ।’

उनले नीति तथा कार्यक्रममा केही नयाँ कुरा आएको पनि बताए । नयाँ कार्यक्रमको रुपमा कोशी–खुवालुङ जलयात्रा आएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप