आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

डिजिटल बैंकिङ : बैंक मात्र तयार भएर हुँदैन, सेवाग्राही पनि तयार हुनुपर्छ !

शुक्रबार, ०१ असार २०८०, १५ : ०२
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । पछिल्लो समय एनएमबि बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई थप परिष्कृत र उन्नत बनाउँदै लगेको छ, चाहे त्यो प्रशासनिक गतिविधिमा होस् या त बैंकिङ सेवामा नै । एनएमबि बैंकले अनलाइनमार्फत बैंक खाता खोल्ने, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भूक्तानीसँगै अनलाइनमार्फत नै डिजिटल्ली लोन (कर्जा) आवेदन गर्न सकिने र लोन पास गर्न सकिने नविनतम् सुविधा समेत प्रदान गरिरहेको छ । 

सन् २०१८ को सुरुवाती दिन देखिनै डिजिटल बैंकिङको प्रयोगमा गएको बैंकले डिजिटल लेन्डिङ (अनलाइनबाट नै कर्जा) मा फड्को नै मारेको बैंकका डिजिटल विभाका प्रमुख शिवराज उपाध्याय बताउँछन् । ‘नेपालमा जतिबेलादेखि डिजिटल बैंकिङको सुरुवात भयो त्यति बेला देखिनै एनएमबि बैंक यो प्रयोगमा अभ्यस्त हुँदै आएको छ । तथापि, सन् २०२० देखि भने हामीले डिजिटल बैंकको प्रयोगलाई थप परिष्कृत र परिमार्जित गर्दै अघि बढिरहेका छौं’ उपाध्यायले भने, ‘अनलाइनबाट नै खाता खोल्ने, भिडियो केवाईसी लिने, व्यक्तिको सम्पूर्ण विवरण लिने, अनलाइनमार्फत नै व्यावसायिक कर्जा आवेदन दिन र भेरिफाइ गरी कर्जा पास समेत अनलाइनमार्फत नै गर्ने प्रणालीको विकास गरिएको छ । यसले बैंकिङ सेवामा सेवाग्राहीसँगै बैंकको आन्तरिक प्रशासनिक कार्यमा समेत निकै सहज बनाएको छ,’ उपाध्यायले रातोपाटीसँग भने । 

उपाध्यायका अनुसार हालै मात्र बैंकले अनलाइन बजार दराजसँगको साझेदारीमा ग्राहकहरूलाई डिजिटल्ली ५ लाख रुपैयाँसम्मको लोन (कर्जा), त्यो पनि विना धितो, सहजै दिने व्यवस्था गरिएको छ । यस्तै, बैंकले आफ्ना क्यूआर मर्चेन्टहरुलाई एनएमबि सजिलो कर्जा अन्तरगत २ लाख रुपैयाँसम्म लोन अनलाइनमार्फत नै उपलब्ध गराइरहेको छ ।

‘एनएमबि सजिलो क्यूआर’ अन्तर्गत सेवाग्राहीले विना धितो तथा विना कागज छिटो, भरपर्दो र सहज रूपमा व्यावसायिक कर्जा पाउन सक्नेछन् । 

साथै, नेपालमा नै पहिलो पटक एनएमबि बैंकले सञ्चालनमा ल्याएको ‘एनएमबि ओम्निच्यानल’ मार्फत सेवाग्राहीले घरमा नै बसिबसी मुख्य बैंकिङ सेवाहरू लिन सक्ने उपाध्याय बताउँछन् । 

सेवाग्राही भौतिक रूपमा बैंकको काउन्टरमा नगई इन्टरनेटको माध्यमबाट एप तथा वेबको माध्यमबाटै लिन सकिने र केवाईसी अपडेट, पिन र पासवर्ड रिसेट, टीडीएस स्टेटमेन्ट हेर्न, बचत र एफडी खोल्ने सुविधा मोबाइल तथा इन्टरनेट बैंकिङको माध्यमबाट लिन सकिने उनले बताए । 

केवाईसी अपडेटमा कारोवार सङ्ख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, बैवाहिक स्थिति, पेशा अपडेट गर्न पनि ओम्नी च्यानलबाटै सकिनेछ । चेक बुक, व्यालेन्स सर्टिफिकेटको सुविधा, चेक भुक्तानी रोक्का पनि अनलाइन माध्यमबाटै गर्न सकिने सुविधा बैंकले प्रदान गरेको छ ।

यी लगायत डिमान्ड ड्राफ्ट, एफडीआई प्रमाणपत्र, डलर कार्ड, टिडीएस प्रमाणपत्र, ब्यालेन्स प्रमाणपत्र जस्ता सुविधा समेत एनएमबि ओम्निच्यानलमा उपलब्ध रहेको बैंकले जनाएको छ ।

साथै एनएबी बैंकको डिजिटल ट्रेड सर्भिसमा आबद्ध ग्राहक वर्गले बैंक ग्यारेन्टीको आवेदन दिन र त्यहीबाट प्राप्त गर्ने सुविधा समेत ल्याएको बैंकले जनाएको छ । साथै अरू ट्रेड फाइनान्सका लागि एलसी र टीटीको अनलाइन सुविधा समेत चाढैनै ल्याउने तयारी बैंकको रहेको उपाध्यायले रातोपाटीलाई जानकारी दिए ।

डिजिटल बैंकिङको चुनौती

उसो त पछिल्लो समय बढ्दो डिजिटल प्रयोगसँगै यसको खतरा र चुनौती समेत बढेर गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार हाल डिजिटल भुक्तानी प्रणाली सञ्चालक सङ्ख्या १० र भुक्तानी सेवा प्रदायक कम्पनीहरूको सङ्ख्या २७ गरी कूल ३७ पुगेको छ । 

यस्तै, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या २ करोड ७ लाख ६३ हजार र इन्टरनेट बैंकिङ सुविधा लिने सेवाग्राहीहरूको सङ्ख्या १८ लाख ३ हजार जना रहेका छन् । यस्तै विभिन्न वालेट सुविधा (भुक्तानी) सेवा लिने प्रयोगकर्ताहरूको सङ्ख्या वैशाख मसान्तसम्म १ करोड ८२ लाख ९१ हजार माथि रहेको छ । 

अन्य, एटिएम, पीएसओ, पीएसपी लगायत सबै गरी यस अवधिमा खर्बौँको डिजिटल भुक्तानी कारोबारहरू भएका छन् । तर, यी हाम्रा डिजिटल प्रयोगहरू ज्ञानका कमीले उत्तिकै चुनौतीपूर्ण र जोखिमपूर्ण समेत बन्दै गइरहेका छन् । 

एनएमबि बैंकका डिजिटल विभाग प्रमुख शिवराज उपाध्याय सर्वसाधारणमा व्यापक डिजिटल प्रयोगको सिकाई आवश्यक रहेको बताउँछन् । 

‘अब जनतामा इकोनोमिक लिट्रेसी (आर्थिक ज्ञान) मात्र भएर हुँदैन उनीहरूमा डिजिटल लिट्रेसी हुन पनि उत्तिकै आवश्यक छ । यसका लागि बैंक मात्र तयार भएर हुँदैन, सेवाग्राही पनि तयार हुनुपर्‍यो’ उपाध्यायले भने । 

डिजिटल बैंकिङमा रेगुलेशनको पाटो केही कठिन भए पनि नियामकले विशेष ध्यान दिन सके र प्रयोगकर्ताहरू सचेत र जवाफदेखि भए सहज नै हुने उनी बताउँछन् ।

हाल डिजिटल बैंकिङलाई एकीकृत गरेर थप सुविधा र सेवा प्रदान गरिरहेको एनएमबि बैंकले निकट भविष्यमा नै थप परिष्कृत र विकसित फिचर्ससहित डिजिटल सुविधा ग्राहकहरू माझ ल्याउने उपाध्यायले रातोपाटीलाई जानकारी दिए । यसका लागि बैंकको आन्तरिक तयारीदेखि बाहिरबाट समेत प्राविधिकहरूको सहयोग लिइरहेको उनले बताए । डिजिटल बैंकिङमा कसरी सहज सरल र अझ विश्वसनीय ढंगले सुविधा प्रदान गर्न सकिन्छ बैंक अनवरत रूपमा लागिरहेको उनले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप