आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गोलभेँडा किसानलाई राहत रकम प्रदान गर्न किसान महासंघको माग

सोमबार, ०४ असार २०८०, ०९ : १०
सोमबार, ०४ असार २०८०

काठमाडौँ । कृषि उपजहरूको समर्थन मूल्य निर्धारण गर्न अखिल नेपाल किसान महासंघले सरकारसँग माग गरेको छ । हाल बजारमा गोलभेँडाले उचित मूल्य नपाएको कारण गोलभेँडा उत्पादक किसानहरूले ठुलो क्षति बेहोर्नु परेको बताउँदै महासंघले समर्थन मूल्य निर्धारण गरी उक्त मूल्यमा अनिवार्य खरिदको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

हाल गोलभेँडा उत्पादनमा क्षति भोगेका किसानको उत्पादनको वास्तविक तथ्याङ्क सङ्कलन गरी उनीहरूको लागतमूल्य बराबरको रकम राहत स्वरूप यथाशीघ्र प्रदान गर्न समेत महासंघले माग गरेको छ । महासचिव बाबुराम थापाद्वारा विज्ञप्तिमा भनिएको छ, ‘ किसानहरूको दैनिक जीविकोपार्जन प्रत्यक्ष प्रभावित भएको छ । कडा परिश्रम र उच्च लगानीबाट उत्पादित कृषि उपजहरूले लागत मूल्यसमेत नपाउने परिस्थिति बारम्बार दोहोरिनुले कृषि पेसा दिनप्रतिदिन जोखिमपूर्ण बन्दै गइरहेको प्रष्ट देखिन्छ । यसरी नेपाली किसानहरूले विभिन्न कारणबाट विभिन्न समयमा भोग्नु परिरहेको क्षतिप्रति अखिल नेपाल किसान महासंघ दुःख व्यक्त गर्दछ । किसानका समस्याहरूमा सरकारको शून्य जवाफदेहीताप्रति अखिल नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

हाल उत्पादित गोलभेँडाको लागत मूल्य समेत प्राप्त नभइरहेको कारण कालीमाटी तरकारी तथा फलफूल विकास समिति र कृषि तथा पशुपन्छी मन्त्रालय लगायतका सम्बन्धित निकायमा आवश्यक क्षतिपूर्ति तथा दिगो समाधानको माग गर्दै पीडित किसानहरू पुगेका थिए । तर, सरकारले उक्त मागहरूप्रति बेवास्ता गरेको कारण आज २०८० असार ३ गते कालीमाटी बजार लगायतका स्थानमा किसानहरू गोलभेँडा सडकमा नष्ट गर्न बाध्य भएको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप