आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

केन्द्रीय समिति बैठकअघि माओवादीले पठायो ५ बुँदे सर्कुलर

बिहीबार, ०७ असार २०८०, १२ : २५
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठकअघि मातहतका कमिटीमा ५ बुँदे सर्कुलर पठाएको छ । बिहीबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संयुक्त हस्ताक्षर रहेको सर्कुलर केन्द्रीय कार्यालयमार्फत मातहतका कमिटीमा पठाइएको हो । 

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यही असार २३ गते ११ बजे प्रज्ञा भवन कमलादीमा बोलाइएको छ ।  केन्द्रीय समितिको बैठकमा केन्द्रीय समितिका सदस्यहरू, तीनवटै आयोगका सदस्यहरू र सबै प्रदेश समितिका पदाधिकारीहरू सहभागी हुने कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । 

माओवादीका एक नेताका अनुसार पाँच बुँदे सर्कुलरमा २ महिने अभियानको समग्र समीक्षा सहितको लिखित प्रतिवेदन असार १५ गतेभित्र सबै प्रदेशहरूले अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको छ । 

यस्तै तीन तहमा सम्पन्न निर्वाचनमा भएका घातअन्तरघात र कमीकमजोरीहरू भए त्यसको समेत लिखित प्रतिवेदन पनि माग गरिएको छ । त्यस्तो प्रतिवेदन असार १५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाइसक्नु पर्ने सर्कुलरमा उल्लेख छ । 

यसैगरी पार्टी केन्द्रलाई दिनपर्ने केही सुझावहरु भए त्यसका लागि आवश्यक व्यवस्था पनि गरिएको छ । ती नेताका अनुसार सुझाव दिँदा केन्द्रीय सदस्य, केन्द्रीय विभागका प्रमुखहरु, मोर्चाका फ्याक्सन इञ्चार्जलगायतले असार १५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन सक्नेछन् । 

यस्तै पार्टीले लेवी बुझाउन बाँकी रहेकाका हकमा पनि आवश्यक निर्देशन दिएको छ । जसमा सबै केन्द्रीय सदस्यह र प्रदेशहरूले बुझाउनु पर्ने २० प्रतिशत लेवी र २०७८ पौषमा सम्पन्न भएको आठौं महाधिवेशनको हिसाब फछ्यौट गर्न बाँकी रहेका प्रदेशहरूले समेत आगामी केन्द्रीय समितिको बैठक अगावै अनिवार्य रुपमा हिसाब मिलान गरी फछ्यौट गर्न निर्देशन दिइएको छ । 

माओवादीले पठाएको सर्कुलरमा हालै नेकपा माओवादी केन्द्रसहितका चार दलबीच बनेको समाजवादी मोर्चाबारे पनि जानकारी गराइएको छ । सोबारे जानकारी गराउँदै पार्टीले मोर्चाको अवधारणापत्र पनि सर्कुलरमा पठाएको छ । 

समाजवादी मोर्चामा माओवादीसहित नेकपा एकीकृत समाजवादी, जसपा र नेकपा रहेका छन् । उक्त मोर्चाको १५ बुँदे प्रतिबद्धता रहेको। संयुक्त प्रतिबद्धता पत्रमा सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य हुने उल्लेख छ । 

त्यस उद्देश्य प्राप्तिका लागि १५ बुँदे वैचारिक एवम् राजनीतिक प्रतिबद्धता अगाडि सारिएको छ। जसअनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्नेसहितका तत्कालीन र दीर्घकालीन कार्ययोजनाहरु रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप