शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय
ठगीधन्दा

नक्कली डाक्टर : मेडिकल क्षेत्रकी युवतीलाई ‘प्रेमजाल’मा पारेर ७८ लाख ठगी

पहिलो कलमा नै भने–म डाक्टर हुँ, बिहे गरौँ
बिहीबार, ०७ असार २०८०, १७ : १३
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । काठमाडौँमा क्लिनिक सञ्चालन गर्ने एक युवतीलाई अपरिचित मानिसले बारम्बार फोन गरिरहे । क्लिनिकमा फोन गरेर भने, ‘म डाक्टर हुँ, म्यामको नम्बर दिनु बिरामी पठाउँछु ।’ 

सर्जिकल सामान बेच्नेबारे पनि कुरा गर्नु छ भनेपछि क्लिनिक स्टाफले सञ्चालिकाको नम्बर दिए । अनि, सञ्चालिकाले ती अपरिचित डाक्टरसँग कुरा गरिन् । वीर अस्पतालमा चिकित्सक रहेको दाबी गर्ने युवकले पहिलो कलमा नै उनलाई भने, ‘म डाक्टर हुँ, बिहे गरौँ ।’ 

सुरुवातको कुराकानीमा नै बिहे गर्ने कुरा गरेपछि ती युवतीले उनलाई ‘ब्लक’ गरिन् । त्यसपछिका करिब ३ महिना कुरा नहुँदा युवकले ती स्वास्थ्य क्षेत्रमा काम गर्ने युवतीको तीन पुस्ते पत्ता लगाइसकेका थिए । 

परिवारमार्फत फेरि युवतीको सम्पर्कमा गएका तिनै डाक्टरले करिब १८ महिनाको अवधिमा युवतीको ७८ लाख ठगेको पाइएको छ । युवतीलाई यसरी ठगी गर्ने व्यक्ति कञ्चनपुरको पुनर्वास घर भएका मात्रिका जैसी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले जैसीलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मात्रिका जैसी डाक्टर नै नभएको खुलेको छ । ‘आरोपी नक्कली चिकित्सक रहेको थाहा भएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी तथा एसपी सीताराम रिजालले रातोपाटीसँग भने, ‘चिकित्सकको आवरणमा उनले ठगी गर्ने गरेको थाहा भएको छ, थप अनुसन्धान गर्दैछौँ ।’ 

कञ्चनपुर पुनर्वासका जैसी भक्तपुरको कौशलटारमा बस्दै आएका थिए । काठमाडौँ प्रहरीले उनको डेरामा खानतलासी समेत गरेको छ । 

प्रहरीका अनुसार करिब १८ महिनाको अवधिमा उनले ती युवतीलाई प्रेमजाल बिछ्याए । एप्रोन लगाएर भिडियो कल गर्थे र भन्थे, ‘म वीर अस्पतालमा ड्युटीमा छु ।’ प्रेम जालमा पारेपछि उनले विभिन्न बहाना बनाएर पैसा माग्ने गरेको युवतीले प्रहरीलाई बताएकी छन् । 

पैसा माग्ने बहाना गर्दै उनी भन्थे, ‘मैले दिएको चेक बाउन्स भएछ, मेरो करिअर बिग्रने भो ।’ पेसाले चिकित्सक र बिहे गर्ने कुरा भएको हुनाले ती युवतीले उनलाई पैसा दिँदै गइन् । ७८ लाख दिएपछि भने उनले आफू ठगिएको भेउ पाइन् र जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी गरेकी हुन् । 

प्रहरीका अनुसार मातृकाका भाइले पीडित युवतीलाई फोन गरेर दाजुको कर्तुतका बारेमा जानकारी गराएपछि आफू ठगिएको भेउ पाएकी थिइन् । प्रहरीका अनुसार उनीहरुबीच गएको वैशाख १६ गते बिहे हुने तय थियो । तर सो अघि नै कर्तुत खुलासा भएपछि पीडित प्रहरीमा पुगेकी थिइन् । 

आफूसँगै पैसा मागेर आरोपीले गाडी किनेको युवतीले प्रहरीलाई बताएकी छन् । बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौँमा भेटिएकी पीडितले प्रहरीसँग भन्दै थिइन्, ‘गाडी किन्न ४० लाख दिएको थिएँ ।’ 

मात्रिका अहिले बागमती प्रदेश ०२७ च २८८४ नम्बरको गाडी चढ्छन् । सो गाडी किन्न ती युवतीसँग उनले ४० लाख नगद लिएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालसँग जैसीले भनेका छन्, ‘गाडी मेरो नाममा नामसारी हुन बाँकी थियो, सोरुमकै नाममा छ ।’ 

मात्रिका जैसीले बिबिएससम्म पढेका छन् । आइएस्सीमा बायोलोजी विषय पढेका उनले केही समय सर्जिकल सामान पनि बेच्ने काम गरे । मेडिकल क्षेत्रसँग जोडिएकाले उनलाई गाइनो (स्त्रीरोग) बारे धेरथोर  जानकारी छ । गाइनोबारे कुरा गरेर उनले ती पीडित युवतीलाई विश्वासमा पारेका हुन् ।

प्रेमिका हत्या उद्योगमा ६ वर्ष जेल 

मात्रिका जैसी पहिलेदेखि प्रेम गर्न अगाडि थिए । कैलालीको धनगढीमा कलेज पढ्दा उनले दुईवटी किशोरीसँग एकसाथ प्रेम गरे । दुई जना सँगको प्रेम सम्बन्ध एक–अर्कामा छिपेन । त्यसपछि उनले युवतीलाई सक्याउन नयाँ आइडिया निकाले, ‘तिनै जना सँगसँगै आत्महत्या गर्ने ।’ 

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार दुई जना प्रेमिकालाई विष खुवाएर आफूले चाहिँ ‘नक्कली विष’ पिएका थिए । तर, मात्रिकाले सो कुरा अस्वीकार गरेका छन् । प्रहरीसँग उनले भनेका छन्, ‘एउटीले विष पिएर र अर्कीले झुन्डिएर आत्महत्या गरेका हुन् ।’ 

२०७० सालमा भएको सो घटनामा उनी ६ वर्ष जेल बसेर निस्केका हुन् । आत्महत्या गर्ने मध्येकी एक किशोरी गर्भवती थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप