बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
फिल्म

दियाको गन्तव्य : फिल्म र हिमाल आरोहण सँगसँगै

अबको यात्रा अफ्रिकाको ‘किलीमान्जारो’
शुक्रबार, ०८ असार २०८०, ११ : ०६
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । दिया पुन उत्कृष्ट अभिनय गर्ने अभिनेत्रीमा पर्छिन् । फरक फरक कथामा अभिनय गर्न रुचाउने उनलाई एकैखालको कथावस्तु भएको फिल्म दोहोर्‍याउन मन पर्दैन । त्यसैले पनि उनका फिल्म अन्य अभिनेत्रीको तुलनामा कम छन् ।

‘वीरविक्रम’बाट अभिनयमा डेब्यु गरेकी उनका त्यसपछि ‘मिस्टर झोले’ र ‘मन्त्र’ आए । अहिले उनका अझै दुई फिल्म ‘दयारानी’ र ‘अन्तिम संस्कार’ रिलिजको क्रममा छन् ।

त्यस मध्येको एक ‘अन्तिम संस्कार’ शुक्रबार रिलिज भएको छ । फिल्ममा उनी ‘डिएसपी रक्षा’ नामक पात्रको भूमिकामा  देखिँदै छिन् । केही फरक चरित्र निर्वाह गर्ने इच्छा ‘अन्तिम संस्कार’ ले पुर्‍याएकोमा उनी सन्तुष्ट छिन् ।

डिएसपीको भूमिका उनका लागि नौलो र च्यालेन्जिङ थियो । उनको यो भूमिका दर्शकको रुचिमा पर्छ कि पर्दैन, त्यही हो उनको अहिलेको चुनौती । त्यसैले फिल्म रिलिजका लागि उनी एकदमै एक्साइटेट छिन् । ‘यस अघिको फिल्मबाट ‘नानुमाया’ र ‘जुनु’ भनेर चिनिएकी थिएँ । यो पटक डिएसपी भनेर चिनिनेछु’, उनले थपिन् ।

353094440_226779110183532_5350084117562575578_n

दियाले प्रहरी चरित्र निर्वाह गरेको यो पहिलो पटक हो । प्रहरी सम्बन्धी ज्ञान नहुँदा उनले केही पूर्व तयारी गरिन् । महिला प्रहरीको भूमिका लागि उनले केही महिला ट्राफिकको रिसर्च समेत गर्नुपर्‍यो ।

‘बाटोमा महिला प्रहरी देख्दा उभिएर उनीहरूको व्यवहार हेर्थे’, दियाले भनिन्, ‘नेपाली फिल्ममा महिला प्रहरीहरू कमै देखिन्छन् । यो फिल्मका लागि मैले प्रहरी अधिकृतसँग घुलमिल हुन त पाइनँ । तर मैले यस्तै खालका फिल्म हेरेर आइडिया लिएँ ।’ 

फिल्मको पोस्टर र ट्रेलरको राम्रो चर्चा छ । फिल्मको निर्माण युनिटले स्कुल, कलेजदेखि मिडियासँग प्रचार गरेको छ । त्यसैले  फिल्मको व्यवसाय पनि राम्रो हुने आस दियाले गरेकी छन् । उनले भनिन्, ‘मलाई विश्वास छ, फिल्म राम्रो बनेको छ । पब्लिकको रुचिमा पर्छ ।’

कथा खोल्न मिल्दैन

फिल्मका निर्देशक प्रदीप शाही हुन् । प्रदीपले यसअघि ‘गोर्खाः विनिथ विथ ब्रेभरी’ निर्देशन गरेका थिए । प्रदीपको उक्त फिल्मको कामबाट प्रभावित थिइन् दिया । प्रदीपले पनि दियाको केही फिल्म हेरेका थिए ।

14045531_294608844230783_6655900576049464439_n

अन्ततः कोरोना महामारीको समयमा दियालाई प्रदीपले भर्चुअलमार्फत् फिल्मको अफर दिए । ‘कोरोना महामारीको समयमा म बाहिर थिएँ । प्रदीपजीले जुम मिटिङमार्फत् कथा सुनाउँदै फिल्म अफर गर्नुभयो’, दियाले भनिन् ‘कथा र भूमिका दुवै मन पर्‍यो । अभिनयका लागि राजी भएँ ।’

दियालाई फिल्ममा जोडिनुको अर्को कारण प्रदीप नयाँ निर्देशक हुनु पनि हो । किनभने दियालाई नयाँ निर्देशकसँग काम गर्न एकदमै मज्जा लाग्छ रे । ‘म नयाँ निर्देशकलाई सपोर्ट र विश्वास गर्छु’, दियाले कारण खुलाइन्, ‘नयाँले केही फरक र राम्रो गर्छन् भन्ने लाग्छ ।’

फिल्म सस्पेन्स थ्रिलर विषयमा निर्माण भएको छ । यो जनरामा उनले अहिलेसम्म फिल्म अभिनय गरेको छैनन् । त्यसैले पनि यो फिल्म आफ्नो रोजाइमा परेको उनले सुनाइन् ।

फिल्ममा दियाको अपोजि भूमिकामा अभिनेता एकराज उप्रेती छन् । फिल्ममा एकराजसँग प्रेम र रोमान्सका किस्सा त होला नि, हैन त ? भन्ने प्रश्नमा दिया भन्छिन्, ‘फिल्मको सस्पेन्स विषय नै यही हो । यो बताए फिल्मको सबै कथा खुल्छ ।’  उनलाई एकराज सँगको जोडी एकदमै राम्रो जमेको लागेको छ ।

दियाले अहिलेसम्म जति फिल्ममा अभिनय गरेकी छन् । अभिनयका हिसाबले चर्चा राम्रो भए पनि व्यावसायिक सफलता त्यति हात लागेको छैन । यो फिल्मबाट उनी निकै आशावादी छिन् ।

नेपाली अडियन्सलाई बुझ्न गाह्रो छ । एक समय एक जनराका फिल्म रुचाउँछन्, अर्का समय अर्को । त्यसैले, फिल्मले व्यवसाय गर्छ गर्दैन भन्न सकिन्न । फिल्म राम्रो भएकोले व्यवसाय पनि हुन सक्ने उनले अनुमान लगाइन् ।

फिल्म मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा खिचिएको हो । मुस्ताङको चिसो मौसममा छायाङ्कन गर्दा केही असहज भए पनि टिमको समन्वयले त्यो सहज भएको उनले बताइन् ।

फिल्ममा अभिनेता विजय लामा पनि मुख्य भूमिकामा छन् । लामासँग दियाको यो पहिलो सहकार्य हो । ‘उहाँ सहयोगी स्वभावको हुनुहुन्छ । सबैलाई अभिनयको लागि प्रोत्साहन दिनुहुन्छ । उहाँमा म वरिष्ठ हो भन्ने भावना छैन,’ दियाले सुनाइन् ।

कलाकारको रूपमा दियाले गाउँले भूमिकाको रूपमा पनि भूमिका निर्वाह गरेकी छन् । अव भने उनलाई नेगेटिभ र एक्सन भूमिकामा अभिनय गर्न मन छ । ‘नेपालमा महिलाको एक्सन भएको फिल्म कम छ । त्यसैले, म एक्सन लेडीको रूपमा देखिन चाहन्छु,’ दियाले भनिन् ।

७ हिमालको उद्देश्य

दियाले गत वर्ष सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी थिइन् । निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनले सगरमाथाको शिखर चुमेकी थिइन् ।

व्यक्तिगत ४२ लाख खर्च र तीन च्यारिटी उद्देश्यले उनले सगरमाथा चढेकी थिइन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस टुगेदर), कोलचेस्टर अस्पताल र नेपालको चिल्ड्रेन एन्ड यूथ फस्ट रहेका थिए ।

सगरमाथा चढ्ने दिया दोस्रो नेपाली अभिनेत्री हुन् । यसअघि निशा अधिकारीले पनि सगरमाथा चढेकी थिइन् । 

 

‘मेरो ७ हिमाल आरोहण गर्ने उद्देश्य थियो । सुरुवात साउथ अमेरिकाको अग्लो हिमाल आकन्काग्वाबाट भयो । त्यसपछि मनासलु सगरमाथाको ट्रेनिङका लागि गरे । सगरमाथा पनि चढें’, दियाले भनिन्, ‘अझै ५ हिमाल चढ्न बाँकी छ ।’ आगामी अगस्टमा अफ्रिकी मुलुक तान्जानियाको ‘किलीमान्जारो’ हिमाल चढ्न जान लागेको उनले खुलाइन् । ‘किलीमान्जारो’ अफ्रिकाको सबैभन्दा अग्लो हिमाल हो ।

‘किलीमान्जारो’ यात्राको लागि उनी अहिले आरोहणको विभिन्न ट्रेनिङमा व्यस्त छिन् । 

285093033_1663336004024720_4829700808527390173_n

दियालाई कलेज अध्ययनकै बेला हिमाल आरोहणमा एकदमै रुचि थियो । त्यो समय अध्ययनको कारणले उनले हिमाल चढ्न भ्याइनन् । त्यसपछि काम र अभिनयमा व्यस्त भइन् ।

‘जीवनको एक समय आफूले आफूलाई प्रश्न गरिँदो रहेछ । मैले जीवनमा के गरे ? साथीहरू हेर्दा कोहीले घरजम गरे, कोहीले व्यवसाय र कोहीले घर पनि किनेको देखियो । मैले केही गरेजस्तो लागेन’, दिया अगाडि थप्छिन्, ‘त्यो समय धेरै सोचेर म डिप्रेसनमा पनि थिएँ । आफूले आफूलाई यो अवस्थाबाट कसरी निकाल्ने भनेर बेलायतमा भएको ३ हिमाल आरोहण च्यालेन्जमा सहभागी भएँ  । त्यसमा सहभागी भएपछि धेरै ऊर्जा आयो ।’ 

उनेको अनुभवले भन्छ, हिमाल आरोहणको सुखानुभूति अन्य क्षेत्रबाट मिल्दैन । हिमाल आरोहणमा त उनले सफलता पाइरहेकी छिन् । फिल्मको उचाइमा पुग्ने उनको यात्राबारे भने ‘अन्तिम संस्कार’को प्रदर्शनले के गर्ला ? अहिले नै यसै भन्न सकिन्न ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप