शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालय एयरलाइन्सले हरेक शनिबार बेइजिङ उडान गर्ने

शनिबार, ०९ असार २०८०, १३ : १४
शनिबार, ०९ असार २०८०

काठमाडौँ । हिमालयएयरलाइन्सले काठमाडौँ र बेइजिङबीचको नियमित उडान सञ्चालन गर्ने भएको छ । काठमाडौँ–बेइजिङ–काठमाडौँ आजदेखि हरेक शनिबार सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको हो । 

चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालयएयरलाइन्स्को पहिलो उडानबाट बेइजिङको यात्रा गरेका छन् । एयरलाइन्सको पहिलो उडान, एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट स्थानीय समय अनुसार बिहानको ७ बजेर ४० मिनेटमा प्रस्थान गरेको छ र बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल, बेइजिङमा दिउँसो २ बजेर १५ मिनेटमा अवतरण हुने छ । उडानको अवधि ४ घण्टा ४५ मिनेटको रहने छ । साथै बेइजिङबाट फर्कने उडान, एच नाइन ६६६, स्थानीय समय अनुसार दिउँसो ३ बजेर २५ मिनेटमा प्रस्थान गर्ने तालिका रहेको छ जुन बेलुका ६ बजेर ३० मिनेटमा काठमाडौँमा अवतरण हुने छ । 

यस नयाँ सेवाले बेइजिङ र काठमाडौँ घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ । यस रुटको उडान पुनः सुचारु हुँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने एयरलाइन्सको विश्वास रहेको छ । 

‘काठमाडौँ र बेइजिङ बीचको निर्धारित उडान सुरु गर्न पाउँदा हामी हर्षित छौँ । यस क्षेत्रका दुई प्राचीन राजधानीहरूलाई जोड्न र साथै दुई देशबीचको पर्यटन विकासलाई पुनर्जीवित गर्न समेत यसले प्रभावकारी भूमिका निर्वाह गर्ने हुँदा कोभिड–१९ को महामारी पछि यस रुटमा उडानहरू पुनः सुचारु हुनु महत्त्वपूर्ण छ,’ उपाध्यक्ष विजय श्रेष्ठले बताए । यात्रुहरूले हिमालय एयरलाइन्सको टिकेटिङ काउन्टरबाट काठमाडौँ–बेइजिङ–काठमाडौँ उडानको टिकट बुकिङ गर्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप