आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरविरुद्ध फुटपाथ व्यवसायी सडकमा उत्रने, नगर प्रहरीको प्रतिकार गर्न टिम तयार

बालेन्द्र शाह सामन्तवादीको पक्ष पोषणमा लागेको आरोप
आइतबार, १० असार २०८०, २१ : ००
आइतबार, १० असार २०८०

काठमाडौँ । उद्योग व्यापार सहकार्य महासंघमा आबद्ध राष्ट्रिय स्वरोजगार व्यवसायी संघका व्यवसायीहरूले काठमाडौँ महानगरविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । आइतबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले महानगरले हालसम्म पनि फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन नगरेको भन्दै आन्दोलनमा उत्रिन लागेका हुन् ।

काठमाडौँ महानगरकै इतिहासमा महानगर प्रमुख बालेन्द्र शाह सबैभन्दा सबैभन्दा झुटो मेयर भएको उनीहरूको आरोप छ । बालेन गरिबहरूको सहानुभूतिबाट चुनाव जितेर पुँजीपति वर्गको सेवा र सामान्तवादीहरुको पक्ष पोषणमा लागेको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको आरोप छ । आफूहरूसँग महानगर र सरकारले पटक–पटक गरेको सम्झौता कार्यान्वयनमा ल्याएर गरिखाने वातावरण निर्माण गरिदिन उनीहरूले माग गरेका छन् । आफूहरूमा माग सम्बोधन नभएको खण्डमा कडा आन्दोलन छेड्ने उनीहरूको चेतावनी छ । बालेनले पीडामा पिल्सिएकाहरूलाई मात्र पीडा दिएको र उनीमा सामन्ती शैली देखिएको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको बुझाई छ । 

राष्ट्रिय स्वरोजगार व्यवसायी संघले आगामी असार ११ गतेदेखि १५ गतेसम्म सम्पूर्ण राजनीतिक दलको कार्यालयमा छलफल गर्ने र असार २४ गतेदेखि व्यापारी श्रमिकहरूको सम्बन्धित संघ–संस्थाहरूमा अन्तरक्रिया कार्यक्रम गरी भावी आन्दोलनका लागि मोर्चा तयार गर्ने घोषणासमेत गरेको छ ।  राष्ट्रिय स्वरोजगार व्यवसायी संघका सहसचिव राजु गिरीले बालेनले फुटपाथ व्यवसायीलाई दुःख दिने र वर्षौँदेखि नागरिक बस्दै आएको घरहरू भत्काउने काम भन्दा केही नगरको आरोप लगाए । 

महानगर प्रहरीले गेटभित्र रहेको ठेलासमेत उठाएर ल्याएको उनको आरोप छ । अब आफूहरू महानगरको दमनविरुद्ध प्रतिकारमा उत्रिनेसमेत उनले घोषणा गरे । महानगरका प्रहरीले उठाएर लगेको सामान के गरिन्छ भन्ने वास्तविकता पनि बाहिर आउनुपर्ने उनले बताए ।  राष्ट्रिय स्वरोजगार व्यवसायी संघका केन्द्रीय अध्यक्ष लीला दाहालले आफूहरू पनि नेपाली नागरिक भएकाले यहाँ केही गरेर खाने र बाँच्ने अधिकार भएको बताए । आफूहरूको पेसा व्यवसायको संरक्षणका लागि राज्यले अहिलेसम्म कुनै नीति नै नबनाएको उनको गुनासो छ । फुटपाथ व्यवसायीहरूले विभिन्न चरणमा महानगरमा ज्ञापन पत्र बुझाऊ र वार्ताका लागि जाँदा कुनै सुनुवाइ नभएको उनले बताए । बालेनले फुटपाथका व्यापारीलाई व्यवस्थापन गर्ने विषयमा बेलैमा नसोचेमा आफूहरू कडा प्रतिकारमा उत्रिने उनले उद्घोष गरे । 

‘तपाईँ अब यो समस्यालाई कसरी समाधान गर्नुहुन्छ ? त्यतातिर जानुस् । यदि जानुभएन भने तपाईँका पछाडि अब गम्भीर चुनौतीहरू आउने छन् । हामी चुप लागेर बस्ने छैनौँ । हिजो जसरी सुकुम्वासी उठाउन जानुभयो नि त्योभन्दा पनि कडा प्रतिकारमा हामी उत्रिने छौँ ।’ उनले थपे, ‘त्यो सुकुम्वासीले गरेको त एउटा कास्टिङमात्रै हो, यहाँ लाखौँलाख व्यवसायी हामी उत्रिनुपर्‍यो भने बालेनजी हिजो कताबाट आएका हौ, उतै जानुपर्छ ।’ मेयर शाहले हेमराज तामाङ, इन्द्रबहादुर राईजस्ता ठुला मान्छेहरूको महलमा चाहिँ डोजर चलाउन नसकेको उनको आरोप छ । 

राष्ट्रिय स्वरोजगार व्यवसायी संघका इन्चार्ज केशव आछामीले सरकारले उचित व्यवस्थापन नगर्दा फुटपाथ व्यवसायीले २१ वर्षदेखि पीडा झेलिरहेको बताए ।  संघका उपाध्यक्ष सुजन गिरीले व्यवसायीहरुको समूहबाट महानगरसँग प्रतिकारका लागि २ सय तीन सदस्यीय युवा टिम तयार भइसकेको बताए ।
उद्योग व्यापार सहकार्य महासंघका केन्द्रीय संयोजक कृष्णबल्लभ नेपालले नागरिकले काम गर्ने र गरिखाने वातावरण सिर्जना गर्नुपर्ने बताए । गरिखान देऊ भनेर पनि लड्न पर्ने दिन आएको भन्दै उनले दुखेसो पोखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप