बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठकको शून्य समय : कुन सांसदले के भने ?

सोमबार, ११ असार २०८०, १४ : १८
सोमबार, ११ असार २०८०

काठमाडौँ । प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले बजेटलाई संशोधन गरेर पारित गर्नुपर्ने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सदस्य गैरेले बजेट असन्तुलित र अव्यवहारिक रहेको आरोप लगाए ।

‘कम्तीमा यस पटकको सदनबाट दलहरु कमजोरी स्विकार्न तयार छन् । सरकार कमजोरी स्वीकार गर्न तयार छ भन्नेकुरालाई आत्मसात् गर्दै यो बजेटलाई संशोधन गरेर जनपक्षिय, व्यवहारिक र सन्तुलित बनाएर पास गर्न यो सदन एकताबद्ध भएर प्रस्तुत हुन जरुरी छ । जसले देशलाई सकारात्मक सन्देश दिन्छ’, गैरेको भनाइ  छ । उनले बजेट जनपक्षीय समेत नभएको भन्दै बजेटलाई जनपक्षीय, व्यवहारिक र सन्तुलित बनाएर पारित गर्नुपर्ने बताए ।

प्रतिनिधिसभा सदस्य तोसीमा कार्कीले लागुपदार्थ दुर्व्यसनीमा परेकाहरुलाई राख्ने सुधार गृहलाई स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउनुपर्ने बताइन् ।

उनले लागुपदार्थ दुर्व्यसनमा फसेकाहरुलाई अपराधीको जस्तो व्यवहार गर्नु नहुने भन्दै समस्याको समाधान मनोसामाजिक पाटोबाट गर्नुपर्ने बताइन् ।

‘विश्व स्वास्थ्य संगठनले लागुपद्धार्थ दुर्व्यसनलाई रोगको रुपमा लिएको छ । तर हाम्रो परिवेशमा मुख्य समस्या भनेकै यसलाई मनोसामाजिक समस्या भन्दापनि अपराधको रुपमा मान्नु हो । आजसम्म पनि सुधार गृहहरु गृहमन्त्रालय अन्तर्गत छन्’, कार्कीले भनिन्, ‘अपराधी सरहमात्रै व्यवहार गर्ने हो भने यो समस्या बढिरहन्छ ।’

लागुऔषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्टिले नमिल्ने कार्कीको भनाइ छ ।

‘अधिकांश प्रयोगकर्ताहरु १६ वर्ष मुनिका, मुख्य समस्या साथीको संगतले र विभिन्न रोगहरु विशेषतः यौन रोग, एचआइभि, हेपाटाइटिसबाट ग्रस्त हुने देखिन्छ । मूलभूत यसको कारण मनोसामाजिक पाटो समाधान जरुरी छ । त्यसैले सुधार गृहहरुलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत ल्याउन जरुरी छ । र बजेटमा पनि सुधार गृहहरुका लागि प्रोत्साहन आवश्यक छ’, कार्कीको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीले कास्कीको फेवाताल संरक्षण गर्न र बाराही मन्दिर पुनःनिर्माण गर्न माग गरे । उनले अन्नपूर्ण पर्यटन क्षेत्रको संरक्षण, विकास र पैदल मार्गको व्यवस्था गर्न माग गरे ।

त्यस्तै माछापुच्छ«े पैदल मार्गको लागि व्यवस्था गर्न र घोडेपानी, टाडापानी पर्यटन क्षेत्र विकासका लागि ध्यान दिन पनि सरकारसँग माग गरे ।

प्रतिनिधि सभासदस्य देवेन्द्र पौडेलले पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्यतथ्य जानकारी संसदमा गराउन माग गरे ।

‘पशुपतिनाथ मन्दिर परिसरको गर्भगृहमा रहेको जलहरीको बारेमा यो सदनमा निकै चर्चा भयो । आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरुले त्यहाँको सुनको खोजी गरेर तौलिँदै हुनुहुन्छ भन्ने हामी सुनेका छौँ । कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ?’, प्रश्न गर्दै पौडेलले भने, ‘यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । यो सदनमा सत्यतथ्य जानकारी गराउनको निम्ति सम्बन्धित निकायलाई अनुरोध गर्न चाहन्छु ।’

प्रतिनिधिसभा सदस्य नारायणी शर्माले भारतसँग सीमा जोडिएको दाङ जिल्लामा विभिन्न स्थानमा सीमा स्तम्भ नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

कतिपय स्थानमा सिमास्तम्भ बाढीले बगाएको र कतिपय स्थानमा जीर्ण भएको भन्दै सीमा स्तम्भलाई व्यवस्थित बनाउन माग गरिन् ।

‘भारतसँग जोडिएको सीमा दाङको बढवा गाउँपालिका वडा नं. ८ खबरी नाकामा रहेको ४८ नम्बरको सीमा स्तम्भ खबरी खोलाले बगाएको वर्षौं भएको छ । पुनःस्थापना अहिलेसम्म भएको छैन’, उनले भनिन् ‘त्यसैगरी दाङको राजपुर गाउँपालिका वडा नं. ७ भौवानाका स्थानीय नाकाबासीहरुले सिमलको बोटलाई सीमा मानी त्यही आधारस्तम्भ मानेर अहिलेसम्म सीमाको रुपमा बुझिराखेका छन् र नेपाल भारत सीमा छुट्याउँदै आएका छन् ।’

उनले दाङका सीमास्तम्भहरु निकै जीर्ण अवस्थामा रहेको भन्दै ३७ वटा मुख्य सीमा र ४० वटा सहायक स्तम्भ रहेको भन्दै मर्मत सम्भारका लागि केही पहल नभएको बताइन् ।

‘सीमा स्तम्भ दिन प्रतिदिन जीर्ण बन्दै गएका छन् । सीमा स्तम्भलाई व्यवस्थित र पूर्ण बनाउनको निम्ति नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु’, कार्कीको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले पशुपतिमा रहेको सुनको जलहरीको विषय छानबिनका लागि संसदीय समिति बनाउन माग गरे ।

‘पशुपतिनाथको मन्दिरमा राखिएको जलहरी सम्बन्धमा कुरा उठाउँदा त्यसलाई रेकर्डबाट हटाइयो । भ्रष्टाचार कहीँ पनि हुनु हुँदैन । धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिदा संसार सामु हाम्रो शिर निहुरिएको छ’, पौडेलको भनाइ छ ।

उनले उजुरी परेको दुई वर्षपछि अख्तियारले छानबिन गरेको भन्दै अख्तियारको कार्यशैलीप्रति प्रश्न पनि उठाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप