बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

कर्णालीमा लागुऔषध कारोबारको जालो फैलिँदै, केन्द्रविन्दुमा वीरेन्द्रनगर

सोमबार, ११ असार २०८०, २१ : ३०
सोमबार, ११ असार २०८०

सुर्खेत । बढ्दो सहरीकरणसँगै कर्णाली प्रदेशमा लागुऔषधको कारोबार अत्यधिक मात्रामा हुने गरेको छ । प्रहरीको तथ्यांक अनुसार दैनिकजसो कारोबारीहरु प्रहरीको नियन्त्रणमा आउने गरेका छन् । विशेषगरी राजधानीसमेत रहेको वीरेन्द्रनगर लागुऔषध कारोबारको हव नै बनिरहेको छ ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार प्रत्येक वर्ष लागुऔषध सेवनकर्ता र कारोबारीको संख्यामा वृद्धि हुँदै आएको छ । आर्थिक वर्ष २०७७/०७८ मा १०६ जना पुरुष र १७ जना महिला गरी १२३ जना लागुऔषध कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा आउँदा यो संख्या बढेको देखिन्छ । तथ्याङ्क अनुसार १६४ जना पुरुष र ८ जना महिला गरी १७२ जनालाई सो वर्ष प्रहरीले पक्राउ गरेको थियो ।

चालु आर्थिक वर्षको अहिलेसम्म १६३ जना लागुऔषध कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा १५० जना पुरुष र १३ जना महिला छन् ।  प्रदेश प्रहरी कार्यालय प्रहरी प्रमुख डीआईजी भीम प्रसाद ढकालले कर्णालीमा प्रत्येक वर्ष लागुऔषधका कारोबारी र सेवनकर्ता बढ्दै गएको बताए ।

केही समय अघिसम्म कर्णाली प्रदेश अन्तर्गत लागुऔषध कारोबारी सुर्खेतमा मात्र भेटिने गरेका थिए । पछिल्लो समय अन्य जिल्लामा समेत यसका कारोबारी भेटिने गरेको प्रहरी बताउँछ । अनुसन्धानमा सक्रिय एक प्रहरी अधिकृतले भने, ‘पहिला प्रायः लागुऔषध कारोबारमा संलग्न भएकाहरुमा पुरुषमात्र हुन्थे, तर, पछिल्लो समय महिला समेत भेटिन थालेका छन् ।’

कर्णालीमा आउने लागुऔषध कारोबारीमध्ये धेरैजसो नेपालगञ्ज हुँदै सुर्खेतमा आउने गरेको भेटिन्छन् । नेपाल–भारत खुला सीमाना भएकाले भारतीय बजारबाट लागुऔषध नेपालगञ्जको बाटो हुँदै सुर्खेत आउने गरेको प्रहरीको भनाइ छ ।

प्रदेश प्रहरी प्रमुख ढकाल लागुऔषध नियन्त्रणका लागि प्रहरी एक्लैले चाहेर मात्रै नहुने बताउँछन् । ‘यातायात पुग्ने ठाउँमा लागुऔषध कारोबार बढी नै हुने भएकाले यातायात र लागुऔषध नङ र मासुको जस्तै सम्बन्ध हुन्छ,’ उनले भने, ‘लागुऔषधबारे घरपरिवार तथा विद्यालयका शिक्षकहरुले समेत यो राम्रो होइन भन्ने खालको शिक्षा दिनुपर्छ ।’ 

आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले लागुऔषध नियन्त्रणका लागि आवश्यक कानुन, कार्यविधि तथा योजनाहरु बनाएर कार्यान्वयन गर्न सकेमा लागुऔषध नियन्त्रण हुने सक्ने बताए । विद्यालयका शिक्षकहरुले लागुऔषध सेवनमा लागेका विद्यार्थीहरुको डेटा संकलन गरी आफूहरुलाई दिएमा मन्त्रालयबाट ती विद्यार्थीहरुका लागि आवश्यक केही कानुन निर्माण गर्न सहज हुने उनले बताए ।

‘लागुऔषध खतरनाक चिज हो, घरपरिवार र विद्यालय तहदेखि नै यो विषयमा सचेतनामुलक शिक्षा प्रदान गरिनुपर्छ,’ उनले भने, ‘यदि समयमै सबैले ध्यान नदिए यसले भविष्यमा ठुलो समस्या निम्त्याउन सक्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप