शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सांगठनिक संरचनालाई पूर्णता दिँदै लोसपा

मङ्गलबार, १२ असार २०८०, २१ : ००
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सांगठनिक संरचनालाई पूर्णता दिने गृहकार्य सुरु गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले केही दिनदेखि पार्टीका नेताहरुसँग आन्तरिक छलफल गरिरहेका छन् । 

पार्टी गठन भएको दुई वर्ष पुग्न लाग्दा तर हालसम्म पार्टीको अन्तरिम विधान अनुसार कुनै संरचना बनेको छैन । पार्टी दर्ता गराउने बेला कार्यकारिणी समितिको नाम दिएको थियो । त्यही समितिको आधारमा हालसम्म कामहरू भइरहेका छन् ।

‘ अध्यक्षज्यूले केही दिनदेखि हामीसँग राय सुझाव माग्नु भएको छ । अब धेरै ढिलो भयो, चाँडो गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ,’ लोसपाका कार्यकारिणी सदस्य लक्ष्मण लाल कर्णले भने, ‘सबै संरचना चाँडै निर्माण गर्न भनेका छौँ ।’

केन्द्रीय समिति सदस्यको नामावली यसअघि नै तयार भइसकेको र त्यसैलाई केही तलमाथि गरी अन्तरिम रूप दिई यही महिनाभित्र सबै संरचना निर्माण गरी सार्वजनिक गरिने पनि उनले जानकारी दिए । लोसपाको विधान अनुसार ४०१ सदस्यीय केन्द्रीय समिति रहनेछ । 

सो सङ्ख्या त्यति नै राख्ने वा कम गर्ने बारेमा राय सुझाव पनि आएको कार्यकारिणी सदस्य केशव झाले बताए । ‘जसपाबाट अलग भएपछि बनेको अन्तरिम विधानमा ४०१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने उल्लेख छ तर अब त्यति नै बनाउने कि त्यो भन्दा कम गर्ने त्यस विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘कसैले २५१, कसैले ३०१, ३५० सदस्यीय केन्द्रीय कमिटी बनाउने सुझाव दिएका छन् ।’ त्यसको बारेमा थप छलफल हुने उनको भनाई छ । केन्द्रीय समिति सदस्य घटाउनु पर्दा विधान पनि संशोधन गर्नुपर्ने भएकाले त्यसको विषयमा पनि छलफल भइरहेको उनले बताए ।

लोसपाका नेता सुरेन्द्र झाले पार्टीको सर्वशक्तिमान् निकाय कार्यकारिणी समिति नै भएकाले सो समितिलाई विधान संशोधन गर्ने अधिकार पनि रहेको जिकिर गरे । ‘आवश्यक परे त्यसलाई संशोधन गर्न सकिनेछ,’ उनले भने, ‘यो असार महिनाभित्र सबै संरचना निर्माण गर्ने लक्ष्य रहेको छ । त्यसको लागि एउटा अनौपचारिक रूपमा उपसमिति बनेको छ । संरचना निर्माण गर्ने विषयमा घनिभूत छलफलहरू भइरहेका छन् ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप