धान रोपाइँको चटारोमा किसान
कैलाली । कैलाली, कञ्चनपुरलगायतका जिल्लाका किसानलाई यतिबेला बर्खे धान बालीको रोपाइँ गर्ने चटारो छ ।
रोपाइँका लागि पर्याप्त मनसुनी वर्षा नभएपछि बोरिङबाट पानी तानेर भए पनि रोपाइँ गर्नुपरेको कृषकले बताएका छन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहितका जिल्लामा एक हप्ताअघिनै मनसुन भित्रिएको भए पनि रोपाइँ गर्न पुग्ने गरी ठूलो वर्षा हुन सकेको छैन ।
आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतको रुपमा बर्खे धान बाली रहेकाले बोरिङको पानी तानेर भए पनि रोपाइँ गर्नै परेको धनगढीका किसान मानबहादुर चौधरीले बताए । “यसैबाट जीविका चलाउँनु छ, ब्याड तयार भइसकेकाले अहिले धान नरोपे कहिले रोप्ने, उखरमाउलो गर्मी भए पनि रोपाइँ गर्नै पर्यो”, खेत जोत्दै गरेको भेटिएका कृषक चौधरीले भने ।
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले अहिलेसम्म जिल्लामा रोपाइँ हुने जग्गाको झण्डै १२ प्रतिशतमा रोपाइँ पूरा भएको बताए । “वर्षा भए पनि रोपाइँका लागि पर्याप्त छैन”, उनले भने, “वर्षाको पानीले खेतको माटो भिजाएर बोरिङको पानी कम मात्रामा लाग्नेसम्म बनाएको छ ।”
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा यस वर्ष मनसुन एक हप्ताअघिनै प्रवेश गरे पनि ठूलो वर्षा हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका सूचना अधिकारी सिङ्गल चौधरीले यस वर्ष सरदर कम वर्षा हुने अनुमान गरिएको बताए ।
मनसुन भित्रिएको एक हप्तायता अत्तरिया धनगढी क्षेत्रमा पटकपटक गरी झण्डै एकसय २५ मिमि मात्र वर्षाको मापन भएको छ । धान रोपाइँ गर्ने, हिलो बनाउने, काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्दा खेती गर्न पहिलेको भन्दा सजिलो भएको कृषकको अनुभव छ ।
यी औजारको प्रयोगले समयको बचत हुनुका साथै परिश्रमसमेत कम लाग्ने हुँदा रोपाइँ गर्न सहज भएको धनगढीका किसान वीरबहादुर रानाले बताए । “खेती गर्न र कृषिउपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरुगाडाको प्रयोग घटेर आधुनिक मेसिनको प्रयोग बढ्दा निकै सहज भएको छ”, रानाले भने, “समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ ।”
सिँचाइको भरपर्दो सुविधा नभएको क्षेत्रमा आकाशको पानीको भरमा धान रोपाइँ हुने गरेको छ । कैलाली जिल्लामा ७२ हजार पाँच सय हेक्टर र कञ्चनपुरमा ४८ हजार चार सय ५० हेक्टरमा बर्खे धान खेती हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण