बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
नागरिकता समस्या

नयाँ ऐन अनुसार कतिले लिए मधेसमा नागरिकता ?

शुक्रबार, १५ असार २०८०, ११ : ३९
शुक्रबार, १५ असार २०८०

जनकपुरधाम । नागरिकता सम्बन्धी हालै प्रमाणीकरण भएको नयाँ ऐनका आधारमा नागरिकता लिन विभिन्न जिल्ला प्रशासन कार्यालयमा घुइँचो लागेको छ ।

 मधेस प्रदेशका आठ वटै जिल्ला प्रशासन कार्यालयमा गत आइतबारदेखि नागरिकता लिनेहरूको घुइँचो छ । वर्षौँदेखि नागरिकताविहीन रहेका नेपाली जन्मसिद्ध नागरिकका सन्तानले नयाँ नागरिकता ऐन कार्यान्वयनमा आएसँगै नागरिकता लिन थालेका हुन् ।

गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक प्रमाणीकरण गरेपछि जन्मसिद्ध नागरिकका सन्तानहरूले नागरिकता पाउने व्यवस्था भयो । तर सो ऐन विरुद्ध सर्वोच्चमा रिट निवेदन परेपछि नागरिकता वितरण गर्न तम्तयार जिल्ला प्रशासन कार्यालयहरू रोकिए । गत बिहीबार सर्वोच्च अदालतले अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेसँगै नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो ।

DAO1

गत आइतबारदेखि नागरिकता वितरण सुरु गरेको धनुषामा पहिलो दिन ४२, दोस्रो दिन सोमबार ७८, मंगलबार ९२ र बुधबार १०६ जनाले नागरिकता प्रमाणपत्र लिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जनाए ।

उनले नागरिकता प्राप्तिका लागि हालसम्म ३ हजार ४ सय जनाले आवेदन दिएको जानकारी दिए ।

यस्तै, बुधबारसम्म जिल्ला प्रशासन कार्यालय महोत्तरीले जन्मसिद्ध नागरिकका ३ सय ६७ जना सन्तानलाई वंशजको आधारमा नागरिकताको प्रमाणपत्र वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जनाए । प्रमाणसहित सबै आवश्यक कागजात लिएर आएकाहरूलाई नागरिकता वितरण गर्दै आएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले आइतबार २४, सोमबार ६८, मंगलबार १ सय ९१ र बुधबार १ सय १२ जनालाई नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव जानकारी दिए ।

DAO3

त्यस्तै रौतहटमा ७८ जनाले नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत निरजकुमार श्रीवास्तवले नागरिकताको प्रमाणपत्र लिन ऐनमा तोकिएका कागजातहरु पूरा गरी आएका जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई निर्वाध रुपमा नागरिकता वितरण गरिआएको बताए ।

जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार ४१, मंगलबार १०८ र बुधबार १ सय ३५ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरेको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताए ।

सोमबारबाटै जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि नयाँ ऐनअनुसार नागरिकता वितरण सुरु गरेको छ । सप्तरीबाट हालसम्म एक जना जन्मसिद्ध नागरिकका सन्तानले मात्र वंशजका आधारमा नागरिकताको प्रमाण पत्र पाएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जनाए ।

जिल्ला प्रशासन कार्यालय बाराले बिहीबारसम्म १ सय १३ जनालाई नयाँ ऐन अनुसार नागरिकताको प्रमाणपत्र वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जनाए ।

जिल्ला प्रशासन कार्यालय पर्साबाट ५ सय ५४ जनाले नागरिकता प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जनाए ।

उनका अनुसार २०६३ सालको टोलीमा १५ हजारको हाराहारीमा जन्मसिद्धका आधारमा नागरिकता लिएको तथ्याङ्क देखिन्छ । सो अनुसार पर्सामा ४५ हजारको सङ्ख्यामा नागरिकता वितरण हुने अनुमान गरिएको उनले बताए । उनका अनुसार ६ हजार जनाले टोकन लिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप