सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
रोपाइँ

लुम्बिनी प्रदेशमा ३४ हजार ४८३ हेक्टरमा रोपाइँ

प्रदेशमा सबैभन्दा बढी प्युठानमा रोपाइँ, कपिलवस्तुमा कम
शनिबार, १६ असार २०८०, १२ : ३३
शनिबार, १६ असार २०८०

बुटवल  । लुम्बिनी प्रदेशमा मध्य असारसम्म ११ प्रतिशत रोपाइँ भएको छ । वर्षा ढिलो भएका कारणले प्रदेशका १२ वटै जिल्लामा अहिले  रोपाइँ विगतका वर्षमा भन्दा कम भएको लुम्बिनी प्रदेश कृषि मन्त्रालयले जनाएको छ । 

कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासिनीका अनुसार गत वर्ष यही अवधिमा करिब ३२.७१ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा धान रोपाइँ हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफल हो । जसमध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ, जुन प्रतिशतको हिसाबले ११.०९ हो ।

2

प्रदेशको कुन जिल्लामा कति रोपाइँ ?

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रोपाइँ प्युठानमा भएको छ भने सबैभन्दा कम कपिलवस्तुमा भएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार प्युठानमा ६५२५ हेक्टर  क्षेत्रफलमा धान रोपाइँ हुने ठाउँमा अहिले ५ हजार २२० हेक्टर क्षेत्रफलमा रोपाइ भएको छ, जुन ८० प्रतिशत हो । 

कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा ४ हजार २०४ हेक्टर क्षेत्रफलमा अर्थात् ६ प्रतिशत मात्र रोपाइँ भएको छ ।  

रुकुम पूर्वमा १ हजार ४१९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने ठाउँमा अहिले ८ सय ५८ हेक्टर अर्थात् ६०.५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।  

उता, रुपन्देहीमा ८ प्रतिशत रोपाइँ सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा रोपाइँ भएको छ ।

3

यस्त, धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ८ प्रतिशत र बर्दियामा १० प्रतिशत रोपाइँ सकिएको छ । दाङ जिल्लामा धान रोपाइँ हुने कुल ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये ४ हजार २९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको जनाइएको छ ।

अर्को धान राम्रो उत्पादन हुने जिल्ला बर्दियामा पनि  जम्मा १० प्रतिशत रोपाइँ  भएको छ । यहाँ ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ९०३ हेक्टरमा रोपाइँ सकिएको छ । 

बाँकेमा धान उत्पादन हुने ३३ हजार हेक्टर क्षेत्रफलमा अहिलेसम्म ४ हजार २७० हेक्टर अर्थात् १३ प्रतिशतमा क्षेत्रफलमा मात्रै धान रोपाइँ सकिएको छ । 

नवलपरासी पश्चिममा धान रोपाइँ हुने २० हजार ५०० हेक्टर क्षेत्रमध्ये २ हजार ४६० हेक्टर अर्थात् १२ प्रतिशत मात्रै रोपाइँ भएको छ । 

उता, गुल्मीमा ८ हजार ६७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने अहिलेसम्म ७३७ हेक्टर क्षेत्रफलमा जम्मा ८.५ प्रतिशत रोपाइँ भएको छ ।           

8

पाल्पामा भने ८ सय २१ हेक्टर क्षेत्रफल अर्थात् १० प्रतिशत रोपाइँ सकिएको छ । पाल्पामा ८ हजार २१० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गर्दछ । अर्घाखाँचीमा ८ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ, त्यहाँ अहिले ८०५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ, जुन १० प्रतिशत मात्रै हो ।

रोल्पामा ४५.५ प्रतिशत रोपाइँ सकिएको छ । रोल्पामा धान रोपाइँ हुने ४ हजार ६३८ हेक्टर क्षेत्रफलमध्ये २ हजार ११० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । 

मन्त्रालयका  प्रवक्ता  मरासिनीले यस वर्ष समयमै वर्षा नहुँदा धान उत्पादनमा गिरावट आउन सक्ने देखिएको बताए ।  

रुपन्देहीको सैनमैना नगरपालिका–६ का रामबहादुर चौधरीलाई विगतको वर्षजस्तै अहिले पनि मलकै चिन्ता छ । उनले ४ बिघा खेतको लागि ६/७ केजी मल मात्र पाएका छन् । आकाशे पानी भरमा खेत रोप्नु, त्यसमा पनि मल समयमा नपाउनु आफूहरूको सधैँका दुःख रहेको उनले बताए । 

मन्त्रालयका प्रवक्ता मरासिनी मलको लागि सहज रूपमा वितरण हुने व्यवस्था मिलाउन जिल्लाहरूमा समन्वय गरिरहेको बताए ।  

one

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप