आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यसका कारण फेडेररको सम्मानमा उपस्थित हुन सकिनन् सेरेना

सोमबार, १८ असार २०८०, १७ : ३२
सोमबार, १८ असार २०८०

काठमाडौँ । विश्व टेनिसको चार ग्रान्डस्लाम प्रतियोगितामध्ये एक हो, विम्बल्डन । विश्व खेलकुदकै सबैभन्दा पुरानो प्रतियोगितामा पर्छ, यो प्रतियोगिता । सन् १८७७ मा स्थापना भएको विम्बल्डनको हालसम्म एक सय ३५ वटा संस्करण सम्पन्न भइसकेको छ । 

विम्बल्डनसँग जोडिएका यस्तै कीर्तिमानी खेलाडीमध्ये एक हुन्, स्वीस टेनिस स्टार रोजर फेडेरर । उनले हालसम्म आठपटक विम्बल्डनको एकल उपाधि चुमिसकेका छन् । गत वर्ष नै सक्रिय खेलजीवनबाट सन्न्यास लिइसकेका फेडेररलाई मंगलबार विम्बल्डनले सम्मान गर्ने भएको छ । 

४१ वर्षीय फेडेररको सम्मानमा मंगलबार विम्बल्डनको खेल सुरु हुनुअघि सेन्टर कोर्टमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । फेडेररले विम्बल्डनमा सन् २००३ देखि सन् २००७ सम्म लगातार पाँच पटक पुरुष एकलतर्फको उपाधि जितेका थिए ।

यसका अतिरिक्त उनले सन् २००९, सन् २०१२ र सन् २०१७ मा पनि विम्बल्डनको एकल उपाधि चुमेका थिए । उनले सन् २०१७ मा विम्बल्डनको एकल उपाधि जित्दै विश्व टेनिसका महान् खेलाडी पिट साम्प्रासको कीर्तिमान तोडेका थिए । 

त्यतिबेलासम्म साम्प्रास विम्बल्डनमा सबैभन्दा बढी एकल उपाधि जित्ने खेलाडी थिए । साम्प्रासले सात पटक विम्बल्डनको उपाधि जितेका थिए । ‘२० पटक ग्रान्डस्लाम प्रतियोगिताको एकल उपाधि जित्ने फेडेररको सम्पमानमा विशेष कार्यक्रम आयोजना गरिने छ । आखिर उनी विम्बल्डनमा सबैभन्दा बढी पुरुष एकलतर्फको उपाधि जित्ने खेलाडी हुन् । त्यसैले उनी यो सम्मानको हकदार पनि हुन् । यसको तयारी पनि पूरा भइसकेको छ,’ विम्बल्डनका प्रमुख कार्यकारी सेली बोल्टनको कथन छ । 

फेडेररको सम्मान कार्यक्रममा प्रभावशाली अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पनि आमन्त्रण गरिएको थियो । ४१ वर्षीया सेरेना विम्बल्डनमा सबैभन्दा बढी महिला एकलतर्फको उपाधि जित्ने खेलाडी हुन् । 

सेरेनाले हालसम्म विम्बल्डनमा सात पटक महिला एकलतर्फको उपाधि जितेकी छन् । प्रमुख कार्यकारी अधिकृत बोल्टनका अनुसार, गर्भवती भएका कारण सेरेना उक्त समारोहमा उपस्थित हुन असमर्थ भएकी छन् । ‘हामी सम्मान कार्यक्रममा सेरेनालाई पनि देख्न चाहन्थ्यौं तर, सेरेना गर्भवती भएका कारण त्यो सम्भव हुन सकेन,’ बोल्टनले भनेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप