शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघ र परिसंघको नवनिर्वाचित पदाधिकारीबीच भेटवार्ता, आपसी सहकार्यमा जोड

सोमबार, १८ असार २०८०, २० : ०४
सोमबार, १८ असार २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ । 

महासंघले सोमबार परिसंघका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई बधाई एवं शुभकामना प्रदान गर्न आयोजना गरेको उक्त कार्यक्रममा दुवै संस्थाको नेतृत्वले सहकार्यमा जोड दिएका हुन् । 

महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले परिसंघका नवनिर्वाचित अध्यक्ष राजेश कुमार अग्रवाललाई बधाई दिँदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेको हुँदा सहकार्य आवश्यक रहेको बताए । 

'हामीले विगतमा पनि सहकार्य गरेर सुखद नतिजा ल्याउन सफल भएका थियौ र अब पनि यसलाई निरन्तरता दिनुपर्छ', ढकालले भने,  'महासंघ, परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बिहीबार संयुक्त रूपमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव पेश गर्दैछ । यसले सकारात्मक सन्देश दिनेछ ।' 

यसैगरि परिसंघका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाका समितिहरुबीच पनि सहकार्य आवश्यक रहेको बताए । महासंघको स्वागतका लागि धन्यवाद दिँदै उनले भने, 'हामीले सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्छ ।' 

परिसंघको यही असार ९ गते अध्यक्ष अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । सोमबारको छलफलमा परिसंघ र महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप