शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चिडियाखानाका जनावरको आकृति काष्ठकलामा

सोमबार, १८ असार २०८०, २१ : ४४
सोमबार, १८ असार २०८०

ललितपुर ।  जावलाखेलस्थित सदर चिडियाखानामा रहेका जनावरको आकृति काष्ठकलामा उतारिएको छ । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले कछुवा, हात्तीको टाउको, गोही, लाटोकोसेरो र चिलको चित्र काठमा उतारिएको जानकारी दिए ।

उनका अनुसार चिडियाखानाभित्र नै रहेका काठबाट जनावरहरूको चित्र बनाइएको हो । कलाकारले बनाइसकेपछि उक्त काठका आकृतिलार्ई सर्वसाधारणका लागि प्रदर्शनमा राख्ने तयारी रहेको कोइरालाले बताए ।

काठबाट निर्माण गरिएको हुनाले यसका लागि घामपानीबाट बचाउन सकिने स्थान आवश्यक पर्ने हुँदा सोहीअनुसार प्रदर्शनका लागि राखिने छ । काठबाट निर्माण गरिएका यी सामग्रीका कारण अवलोकनमा आउने विद्यार्थीका लागि पनि सहयोग पुग्ने विश्वास चिडियाखानाले लिएको छ ।  

कोरोनाले गर्दा तीन वर्षसम्म आर्थिक समस्या झेलरिहेको चिडियाखानामा पछिल्लो समय दैनिक तीन हजार अवलोकनकर्ता आउने गरेका छन् । उनका अनुसार अवलोकनकर्ता बढेकै कारण विगत वर्षमा भन्दा यस वर्ष आम्दानीको लक्ष्यसमेत बढाइएको छ । विगतका वर्षमा वार्षिक रु १४ देखि रु १६ करोड आम्दानी गर्दै आएको चिडियाखानाले यस वर्ष रु २० करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।

हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छन् ।  त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुनलागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । 

अवलोकन गर्न विदेशीका लागि रु सात सय ५०, सार्क देशका लागि रु पाँच सय, नेपालीलाई रु दुई सय तथा नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ । अवलोकनका लागि उठ्ने शुल्कबाट नै चिडियाखानाले कर्मचारीलाई तलब भत्ता र जीवजनावरलाई खाना खुवाउनेलगायत सबै व्यवस्थापनको काम गर्दै आएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यो चिडियाखाना स्थापना गर्नुभएको हो । विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको विसं २०५२ देखि व्यवस्थापनको जिम्मेवारीसहित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप