सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बैङ्कमा ३ खर्ब ७० अर्ब तरलता थुप्रियो, ब्याजदरमा कार्टेलिङ भइरहेको पूर्व बैंकर कुँवरको आरोप

मङ्गलबार, १९ असार २०८०, १० : ५१
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्रीले बैङ्कहरूले मिलिमिली ब्याजदरमा कार्टेलिङ गरिरहेका आरोप लगाएका छन् । खुल्ला अर्थतन्त्र नीतिमा ब्याजदर बजारले नै निर्धारण गर्नुपर्ने भए पनि बैङ्कहरूले सहमतिको नाममा एउटै ब्याजदर लादिरहेको उनले बताए । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको नाफिज संवादमा आर्थिक पत्रकारहरूलाई प्रशिक्षण दिँदै पूर्व बैंकर क्षेत्रीले कुनै पक्षले एकरूपताको अभ्यास गर्न नहुनेमा जोड दिँदै सबै बैङ्कमा एउटै ब्याजदर हुँदा बजार प्रतिस्पर्धी बन्न नसकेको बताए ।

‘विगत लामो समयदेखि बैङ्कहरूले अपनाउँदै आएको ब्याजदर निर्धारणको गलत अभ्यासले प्रतिस्पर्धी बजारको विकास हुन सकिरहेको छैन’ उनले भने, ‘यस सम्बन्धमा अर्थमन्त्रालय र राष्ट्र बैङ्कले बैंक तथा वित्तीय संस्थालाई प्रश्न गर्नुपर्छ ।’ 

परिस्थिति असहज भएका बेला बैङ्कहरूले सहकार्य गरी स्थितिलाई नियन्त्रणबाहिर जान नदिएको भए पनि अहिले स्थिति सहज भएको भन्दै क्षेत्रीले ब्याजदर निर्धारणको जिम्मा बैंकहरु स्वयम्लाई नै दिनुपर्ने बताए । 

बैंकिङ क्षेत्रमा अहिले साढे ३ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम भएको अवस्थामा बैङ्कहरूले आफू अनुकूल ब्याजदर निर्धारण गर्नुपर्ने उनले बताए । 

‘हिजो बजार असहज अवस्थामा हुँदा बैंकर्स सङ्घले ब्याजदर नियन्त्रण गर्न राम्रो भूमिका खेलेको थियो, नेपाल राष्ट्र बैङ्कले अनौपचारिक दबाब पनि दिएको हो’ क्षेत्रीले भने, ‘अहिले साढे ३ खर्ब भन्दा बढी लगानीयोग्य रकम छ । यस्तोमा ब्याजदर बढाउने कि घटाउने बैंलाई नै छाड्नुपर्छ । खुला अर्थतन्त्रमा सबै बैङ्कको एउटै ब्याजदर कसरी हुन्छ ?’ क्षेत्रीले प्रश्न गरे । 

एउटै ब्याजदर हुँदा ग्राहकलाई कुन बैङ्कमा पैसा जम्मा गर्ने भन्ने छनोट गर्न पनि असहज भएको उनको भनाई छ । अहिले बजारमा बैङ्कहरूसँग ३ खर्ब ७० अर्ब रुपैयाँ लगानी गर्न सक्ने क्षमता छ । बैङ्कहरूसँग कुल स्रोत ५९ खर्ब २५ अर्ब रुपैयाँबाट ९० प्रतिशत सिडी अनुपातको आधारमा ५३ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गर्ने क्षमता छ । तर, शनिबारसम्मको तथ्याङ्क अनुसार ४९ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी भएको छ । अर्थात् बैङ्कहरूसँग ३ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी गर्न सक्ने स्पेस छ ।

चालु आर्थिक वर्षको साढे ११ महिनामा बैङ्कहरूले १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको थप कर्जा प्रवाह गरेका छन् । अर्थात् बैङ्कको क्षमता अनुसार कर्जा प्रवाह हुने हो भने दुई साताभन्दा कमको अवधिमा साढे ११ महिनाको भन्दा ३ गुणा बढी कर्जा प्रवाह गर्न सक्छन् । नेपाल राष्ट्र बैङ्कले चालु आवमा कुल कर्जा प्रवाह १२.६ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको थियो । तर, साढे ११ महिनामा ३.०८ प्रतिशतले मात्र कर्जा प्रवाह बढेको छ । बाँकी अवधिमा केन्द्रीय बैङ्कको लक्ष्यअनुसार कर्जा प्रवाह हासिल हुन बजारमा पर्याप्त लगानीयोग्य रकम भए पनि लक्ष्य पुरा हुने देखिँदैन । 

पूर्व बैंकर क्षेत्रीले नेपालको कर्जा–जीडीपी अनुपात पनि दक्षिण एसियाली क्षेत्रकै सबैभन्दा बढी रहेको बताए । नेपालमा बैङ्कहरूले मात्र कर्जा प्रवाह गर्छन् । विदेशमा कर्पोरेट क्षेत्रले बैङ्कसँगै धितोपत्र बजार र विदेशी संस्थाबाट विभिन्न उपकरणका माध्यमबाट पनि ऋण लिन्छन् । जसका कारण ती मुलुकमा कुल गार्हस्थ्य उत्पादनमा कर्जाको अनुपात थोरै भएको देखिन्छ । तर, नेपालको सन्दर्भमा भने कर्जा बैङ्कबाट मात्र परिचालन हुने भन्ने बुझाई र व्यवहारले कुल गार्हस्थ्य उत्पादनमा कर्जाको हिस्सा धेरै हुने गरेको छ । ऋणका सबै स्रोत मिलाउँदा पनि नेपालको कुल गार्हस्थ्य उत्पादनमा कर्जाको अनुपात दक्षिण एसिया क्षेत्रकै बढी हुने क्षेत्रीको ठहर छ । यद्यपि यी सबै कर्जा उत्पादनमूलक क्षेत्रमा भन्दा व्यापारिक क्षेत्रमा प्रवाह भएकाले आर्थिक वृद्धिमा योगदान दिन नसकेको क्षेत्रीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप