मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश अधिवेशन

नेकपा एमालेलाई प्रदेश अधिवेशनको चटारो : भदौभित्र सातै प्रदेशमा नयाँ नेतृत्व

मङ्गलबार, १९ असार २०८०, २० : ०१
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । नेकपा एमालेलाई प्रदेश अधिवेशनको चटारोले छोएको छ । आगामी भदौ महिनाभित्र सातै प्रदेशमा प्रदेश कमिटीको अधिवेशन सम्पन्न गर्नुपर्ने केन्द्रको निर्देशनपछि सो पार्टीका नेता कार्यकर्तालाई प्रदेश अधिवेशनको चटारोले छोएको हो । प्रदेश अधिवेशन सकिएलगत्तै एमालेले जिल्ला, गाउँ र वडा अधिवेशन पनि सम्पन्न गर्दैछ ।

पहिलो पटक प्रदेश अधिवेशनमार्फत एमालेले प्रदेशको नेतृत्व चयन गर्न लागेको हो । जसमा सदस्य सङ्ख्याका आधारमा प्रत्येक प्रदेशमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव–२ र सदस्यहरू निर्वाचित हुनेछन् । यसअघि एमालेले प्रदेश कमिटी मनोनयनमार्फत चयन गरेको थियो ।  

पार्टी सुदृढीकरण तथा संगठन विस्तार अभियानलाई विशेष प्राथमिकता दिएको एमालेले अधिवेशनहरूबाट विद्यमान भद्दा कमिटीहरूको गुणात्मक सुधार गर्ने दाबी गरेको छ । प्रदेश अधिवेशनको व्यवस्थापनको जिम्मेवारी प्रदेश पदाधिकारीहरू र जिल्ला अध्यक्षलाई प्रदान गरेको सो पार्टीले चुनिएर आउनेलाई मात्रै प्रदेश अधिवेशनमा प्रतिनिधि बनाउने व्यवस्था गर्ने जनाएको छ ।

त्यसका लागि अहिले एमालेले गाउँपालिकाहरूबाटै सदस्यता नवीकरण र प्रमाणीकरणको काम धमाधम गरिरहेको छ । सदस्यता प्रमाणीकरणको अन्तिम निर्णय संगठन विभागमार्फत पार्टी केन्द्रले नै लिनेछ । एमाले उपमहासचिव विष्णु रिमालले एमालेले सार्वजनिक गरेको वार्षिक कार्यक्रमअन्तर्गत अधिवेशन हुन गइरहेको बताए । ‘वार्षिक कार्यक्रमअन्तर्गत धेरै कार्यक्रमहरू छन् । पहिलो सदस्यता वृद्धि गर्ने हो । त्यसमध्येको एक काम विभिन्न पार्टी कमिटीको अधिवेशन हुन गइरहेको छ । अधिवेशन भदौमा प्रदेशबाट सुरु भएर चैतमा वडासम्म पुग्छ’, रिमालको भनाइ छ ।  

तीन प्रदेशमा तोकियो मिति

एमालेले भदौभित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्देशन जारी गरे पनि अहिलेसम्म मधेस, कर्णाली र सुदूर प्रदेशमा मात्र अधिवेशनको मिति तोकिएको छ । त्यसबाहेकका प्रदेशले अधिवेशन मिति नै तोक्न सकेका छैनन् । कर्णाली प्रदेशको अधिवेशन भदौ २९ र ३० गते गर्ने निर्णय प्रदेश कमिटीले गरिसकेको छ । असार ४ गते बसेको प्रदेश कमिटीको बैठकले भदौ २९ र ३० मा अधिवेशन गर्ने निर्णय गरेको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार साहले जानकारी दिए ।

उनका अनुसार अधिवेशन प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने छ । साहले केन्द्रीय निर्देशनअनुसार असार १५ गतेसम्म पार्टी सदस्यता नवीकरण गरिसकेको र असार २९ सम्म सबै जिल्ला कमिटीको बैठक बसेर मसान्तसम्म प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरिरहेको बताए ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका एमाले अध्यक्ष दामोदर भण्डारीले भदौ २२ र २३ गते प्रदेश अधिवेशनको मिति तोकिएको जानकारी दिए । असार ८ गते बसेको प्रदेश कमिटी बैठकले उक्त मिति तोकिएको भण्डारीको भनाइ छ ।

‘भदौ २२ र २३ धनगढीमा प्रदेश अधिवेशन हुने गरी मिति तय भएको छ’, उनले भने, ‘पार्टी सदस्यता नवीकरण असार १५ मा तय गरेकोमा तलबाट आउने क्रम जारी नै छ, त्यो टुंगिएपछि त्यसको आधारमा कुन जिल्लामा कति पार्टी सदस्यता नवीकरण भयो सोही आधारमा प्रतिनिधिको मापदण्ड तय गर्छौ ।’ त्यसपछि अधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि विभिन्न उपसमितिहरू गठन गरेर अघि बढ्ने भण्डारीको भनाइ छ ।

कोशीमा सदस्यता नवीकरण धमाधम

एमाले कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपानेले अहिले सदस्यता नवीकरणको काम भइरहेको भन्दै नवीकरण सकेर प्रमाणीकरण भएपछि अधिवेशनको मिति तोकिने बताए ।

‘अहिले जिल्लाहरूमा सदस्यता नवीकरणको काम भइरहेको छ । नवीकरणपछि प्रमाणीकरणको काम सकेर मिति तोकिन्छ’, अध्यक्ष न्यौपानेले भने, ‘तोकिएको मिति भदौभित्रै अधिवेशन सम्पन्न गर्छौ ।’

मधेसमा असोज ५ र ६ मा

पार्टी केन्द्रले भदौभित्र प्रदेश अधिवेशन सक्न निर्देशन दिए पनि मधेस प्रदेशले भने असोजमा अधिवेशन गर्ने मिति तोकेको छ । एमाले मधेस प्रदेशका उपाध्यक्ष रेवती पन्तले असोज ५ र ६ गते प्रदेश अधिवेशन हुने बताए । उनले केन्द्रसँगको सल्लाह अनुसार नै असोज ५ र ६ को अधिवेशन मिति तय गरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीको समेत समयलाई ख्याल गरेर उक्त मिति तय गरिएको बताए ।

‘असोज ५ र ६ पहिलो हप्तालाई पनि भदौ महिना नै मान्न सकिने गरी केन्द्रसँगको सुझावमै यो मिति तय गरेको हो’, उपाध्यक्ष पन्तले रातोपाटीसँग भने ।

उनले सदस्यता नवीकरणको काम सकिएको भन्दै त्यसको रुजु भइसकेपछि अन्य कामले तीव्रता पाउने पनि बताए । 

बागमतीमा असार २५ र २६ मा बैठक बसेर तोक्ने

एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले गाउँपालिकाहरूमा सदस्यता नवीकरणको काम सकिएकाले अव प्रदेश कमिटी बैठक बसेर अधिवेशनको मिति तय गर्ने जानकारी दिए ।

‘असार २५ र २६ गते प्रदेश कमिटीको बैठक बोलाइएको छ । सोही बैठकले अधिवेशन मिति तय गर्छ’, अध्यक्ष पाण्डेले रातोपाटीसँग भने । बागमतीमा अध्यक्ष पाण्डेसहित उपाध्यक्ष रामहरि सुवेदी,सचिव विजय सुवेदीलगायत अध्यक्षका आकाङ्क्षी छन् ।  

गण्डकीमा साउन पहिलो साता मिति तोक्ने

गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले साउन पहिलो साताभित्र प्रदेश कमिटी बैठक बसेर अधिवेशनको मिति तोक्ने तयारी भइरहेको जानकारी दिए । उनले असार महिनाभित्र सदस्यता नवीकरण सक्ने र त्यसपछि प्रदेश कमिटीको बैठक बसेर अधिवेशन मिति तोक्ने तयारीअनुसार काम भइरहेको भएको बताए । ‘अहिलेसम्म प्रदेश अधिवेशनको मिति तोकिएको छैन । किनभने असार महिनाभर सदस्यता नवीकरण सकिन्छ । त्यसपछि साउनमा बैठक बसेर मिति तोकिन्छ’, अध्यक्ष शर्माले भने, ‘भदौको अन्तिम साता अधिवेशनको मिति तोकिन्छ ।’

लुम्बिनीमा १५ देखि २० भदौमा अधिवेशन

एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले भदौको १५ देखि २० भित्र प्रदेश अधिवेशन गर्ने तयारीमा रहेको बताए । उनले प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षहरूलाई अधिवेशन तयारीको जिम्मेवारी दिइसकेको भन्दै असार महिनामा सदस्यता नवीकरणको काम सकेर सोही अनुसार मिति तय हुने बताए ।

‘भदौभित्रै अधिवेशन सक्ने गरी आन्तरिक काम भइरहेका छन्’, उनले भने, ‘प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षहरूलाई सबै जिम्मेवारी दिइसकेको छ । सामान्यतया भदौ १५ देखि २० भित्र अधिवेशन गर्ने तयारीमा छौ ।’

उपत्यका विशेषको बैठक बस्ने तयारी

सात प्रदेश बाहेक एमालेमा उपत्यका विशेष कमिटी पनि प्रदेशकै हैसियतमा छ । उपत्यका विशेष कमिटीका उपाध्यक्ष विदुर कार्कीले असारको तेस्रो साता कमिटीको बैठक बसेर अधिवेशन मिति तय गर्ने बताए ।

‘उपत्यका विशेष प्रदेश कमिटीलाई भदौ तेस्रो साता अधिवेशन गर्न निर्देशन भएको छ सोही अनुसार हामी तयारीमा छौ’उपाध्यक्ष कार्कीले भने, ‘असार २१ र २२ मा कमिटीको बैठक बोलाइएको छ त्यही बैठकले मिति तय गर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप