मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा, यी प्रदेशमा भारी वर्षाको सम्भावना

मङ्गलबार, १९ असार २०८०, २२ : ४७
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । मुलुकमा जारी मनसुनी वर्षाका कारण देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । 

निरन्तरको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढेको छ । कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा पुगेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार अहिले तिनाउ नदीको बहाव खतरा तहमा पुगेको छ । स्याङ्जा, अर्घाखाँची, रुपन्देही र पाल्पा जिल्ला बाढीका हिसाबले चेतावनी तहमा रहेका छन् । ती क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बाढी र पहिरोको जोखिम रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

बागलुङ, कास्की, तनहुँ, पाल्पालगायत जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन चेतावनी जारी गरिएको विभागले उल्लेख गरेको छ । 

जल तथा मौसम विज्ञान विभागले पनि कोशी नदीको बहाव बढेको जनाएको छ । सप्तरी, सिरहा, धनुषा जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ । 

निरन्तरको वर्षाले सेती, कालीगण्डकी नदीको माथिल्लो भेगमा पानीको बहाव बढेको छ ।

 विपद् व्यवस्थापनका लागि प्राधिकरणको तयारी

सम्भावित मनसुनजन्य विपद्को जोखिम व्यवस्थापनका लागि सबै हिसाबले तयारी अवस्थामा रहेको प्रवक्ता खड्काले जानकारी दिए । “सम्भावित विपद् जोखिम व्यवस्थापनका लागि हाम्रो क्षमता अनुकूलका सबै संयन्त्र र सामग्री तयारी अवस्थामा छन्”, उनले भने, “मनसुन अवधिका लागि देशका चार स्थान हेलिकप्टर तैनाथ गरिएको छ । इटहरी, भरतपुर, काठमाडौँ र सुर्खेतमा कम्तीमा आधा घण्टामा पुगेर उद्धार गर्ने गरी हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।”

पूर्वमा कोशी र मधेस प्रदेशलाई लक्षित गरी इटहरीमा, बागमती र गण्डकीको केही भागलाई समेट्ने गरी काठमाडौँमा, चितवन आसपासका जिल्लालाई समेट्ने गरी भरतपुरमा र सुदूरपश्चिम र कर्णालीलाई समेट्ने गरी हेलिकप्टर तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । 

जिल्ला जिल्लामा सबैखाले तयारी गरिएको छ । भोलिका दिनमा निकै ठूलै विपद्का घटना आएको खण्डमा सबै किसिमका समग्र विमानस्थल नजिकै रहेका गोदामघरमा स्टोर गरिएको छ । तत्कालै राहत र उद्धारका लागि संयन्त्र र सामग्री पुग्ने गरी व्यवस्था मिलाइएको छ । 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै भारी वर्षा, मेघ गर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रसमेत प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ ।

 यी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

भोलि बुधबार पनि कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप