आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमालेलाई माओवादीको ‘काउन्टर’ जवाफ : मध्यरातमा  ‘रअ’ प्रमुखसँग भेटेको जनताले बिर्सेका छैनन्

बिहीबार, २१ असार २०८०, २३ : ०३
बिहीबार, २१ असार २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले असार १८ गते पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले देखाएको व्यवहार कुत्सित चाहाना पुरा गर्ने अभिष्टताबाहेक केही नभएको प्रस्ट पारेको छ । 

माओवादी केन्द्रका उपाध्यक्ष तथा पार्टी प्रवक्ता कृष्णबहादुर महराले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सरदार प्रीतम सिंहबारे दिएको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्ष दलबाट गरिएको भ्रामक, आपत्तिजनक, दुराशययुक्त प्रचारबाजी र लोकतन्त्रको अभ्यास गर्ने थलो संसद् समेत अवरोध गरेकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘जनयुद्धबाट शान्ति प्रक्रियासँगै सरदार प्रितम सिंह र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ का बीचमा औपचारिक मात्र होइन, भावनात्मक रूपमा समेत प्रगाढ सम्बन्ध रहँदै आएको तथ्य सार्वजनिक भैसकेको छ’, महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही पृष्ठभूमिमा सरदार प्रितम सिंहबाट आफूलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेको र त्यसको लागि उहाँले सक्दो योगदान गरेको यथार्थता प्रकट गर्ने सम्माननीय प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्ष दलको कुत्सित चाहना पुरा गर्ने अभिष्टता बाहेक केही होइन ।’

साथै माओवादी केन्द्रले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटक–पटक संसद् विघटन गर्ने, जनताका मुद्दाहरूमा कानुन बनाउन खोज्दा संसद् अवरोध गरेको कुरा जनताले नर्विसिएको पनि जनाएको छ । ‘भ्रष्टाचारीहरूको छानबिन र फाइल खोल्दा गैर जिम्मेवार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनैतिक उपलब्धिहरू माथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझेका छन्’, प्रवक्ता महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

माओवादीले भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतहरुप्रति घोर भर्त्सना गर्दै  राष्ट्रियता, गणतन्त्र र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टीपंक्ति र जनसमुदायमा हार्दिक अपिल गरेको छ ।

mahara

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप