बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले विकल्प दिएर मात्र प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ :  रास्वपा महामन्त्री ढकाल

काँग्रेस–एमाले मिलेर सरकार बनाउन सुझाव
शनिबार, २३ असार २०८०, १७ : ००
शनिबार, २३ असार २०८०

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा ) का महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले प्रधानमन्त्रीको अभिव्यक्तिको आधारमा नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागे पनि रास्वपाले राजीनामा नमागेको स्पष्ट पारेका छन् । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीले सहयोग गरेको भनेर दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका हुन् । 

रास्वपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भैरहवा आएका महामन्त्री ढकालले  पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘प्रधानमन्त्रीले किन बोल्नुभयो आफ्नो कुरा स्पष्ट पार्नुपर्छ । उहाँले स्पष्ट पारेको आधारमा हामी थप टिप्पणी गर्नेछौँ ।’ नेता ढकालले एमालेले नेपालको संविधानको मर्मअनुसार विकल्प बिना प्रधानमन्त्रीको राजीनामा माग्न नहुने जिकिर गरे । उनले भने, ‘यो कुरा एमालेले बुझ्नुपर्छ । प्रधानमन्त्री राजीनामा माग्दा  विकल्प दिनुपर्छ नत्र राजीनामा माग्न हुँदैन ।’ 

महामन्त्री ढकालले काँग्रेस–एमालेलाई मिलेर सरकार बनाउन पनि सुझाव दिए । उनले काँग्रेस–एमाले मिल्दा पनि माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत नभएको दाबी गरे । ढकालले भने, ‘माओवादी सरकारमा टाँसिरहन्छ । काँग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने हो भने रास्वपा प्रतिपक्षमा बस्छ । २०७९ को निर्वाचनको जनमत र जनादेश पनि यही हो ।’ पुराना पार्टीहरूले सरकार चलाउनुपर्ने र रास्वपा प्रतिपक्षमा बस्नुपर्ने उनको भनाई । 

अहिलेको प्रदेश सरकारबाट जनताको अपेक्षा पूरा हुन नसक्ने पनि उनले बताए । प्रदेश सरकारको माध्यमबाट नेता कार्यकर्ताको मात्र व्यवस्थापन भइरहेको उनको भनाइ छ । प्रदेश सरकार भनेको धेरै सांसद र मन्त्री मात्रै हुनु भन्ने नरहेको उनले जिकिर गरे । प्रदेशप्रति रास्वपाको विमति नरहे पनि यति धेरै सांसद र मन्त्री स्वीकार्य नरहेको ढकालले स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप