कविता : व्यापार पृथ्वीको
पृथ्वीलाई दाहिने हातले अँठ्याएर
देब्रे गोजीमा राखी
आफ्नो जमिनको कित्ता
मंगल ग्रहमा खोजी हिँड्ने
मान्छे जातले घाँटीमा
रातो हरियो वादको टाई झुन्ड्याइ
बाहिर हरियो भए पनि
भित्रभित्रै निक्खुर रातो
खर्बुजाजस्तो मान्छे
रङका कुराहरू गर्दै
झन्डाको विचारहरू पोख्दै
बाध्यता फिँजाएर बसेका
पसिना बेच्न बसेका
गरिबहरूको हाट बजारमा
सपनाको व्यापार गरी
बेचिरहेछ पृथ्वी
पोलिथिनको झोला झोलामा हाली ।
सगरमाथाहरूको छातीभित्र
मुटु होइन पत्थरहरू छन्
त्यसको च्यापबाट निस्केको पसिनाले
माओत्सेतुङको तिर्खा मेट्न नसकेरै होला
प्रचण्ड घामहरूको जन्म भएको
तर घामहरू पनि कति लोभी भने नि
सौर्य परिवार उसकै वरपर घुमोस् भन्छ
ऊ शक्तिको केन्द्र नै बनिरहुँ भन्छ
तर उसको मस्तिष्कमा रहेको क्रान्ति
बिस्तारै बिस्तारै क्षीण हुँदै जाँदै छ
फगत रङ फेर्न बानी परेको घाम
रेड जाइन्ट ह्वाइट ड्वार्फ हुँदै
ब्ल्याक होलमा परिणत हुने नै हो
यति हेक्का नभएको घाम
आफू केन्द्रमा रहन
बेचिरहेछ क्रान्तिका टाउकाहरू
परिवर्तनका सपनाहरू
एउटी पत्नीको सिन्दुर र
बेचिरहेछ छोराको सिङ्गै पृथ्वी
पोलिथिनको झोला झोलामा हाली ।
चन्द्रमाहरू पनि सुरक्षित छैनन् यहाँ
निष्प्राण छ चन्द्रमा
न वायु छ
न पानी छ
तर बाहिर फुस्रो छाला ओढेर
भित्र रातो रगत बोक्ने मान्छे
जीवन्त पृथ्वीको हत्या गरी
चन्द्रमातिर जीवन खोज्दै हिँड्छ
चन्द्रमालाई पनि कित्ता कित्ता बनाई बेच्ने मान्छे
लेनिनहरू जन्माएर क्रान्तिको व्यापार गर्छ
लेनिनहरूलाई कमिजको गोजीमा राखी
माक्र्सहरूलाई पाठ्यक्रमतिर छरी
विद्यालय बन्द गराई
विद्यालयको भित्ताभरि
जिन्दावाद मुर्दावादहरू रंग्याइदिन्छ अनि
न्युटन र आइन्स्टाइनहरू टाउकोमा रित्तो डोको
र हातमा सिकल बोकी घाँस काट्न जान्छन्
मेण्डलिभहरू धर्तीको छातीमा बाघचाल खेल्छन्
विद्यालय समयमा
अनि रङका व्यापारीहरू भने
कहिले रातोमा हरियो मिसाई
कहिले हरियोमा रातो मिसाई
व्यापार गरिरहेछन्
निधारहरू बेच्न बसेका निर्धाहरूको
पृथ्वी बेचिरहेछन्
पोलिथिनको झोला झोलामा हाली ।
(इलामबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण