मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आइतबार, २४ असार २०८०, १४ : ३६
आइतबार, २४ असार २०८०

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित खानेपानीको ट्याङ्की निर्माणका क्रममा आधा काम बाँकी छँदै भुक्तानी दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीले आर्थिक वर्ष २०७७÷०७८ मा चंखेली–२ स्थित खानेपानी ट्याङ्की निर्माण समेतका कार्यमा आधा अधुरो रहेको कामलाई सम्पन्न भएको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई ६ लाख ४८ हजार ७८६ रुपैयाँ हानिनोक्सानी पुर्‍याएको ठहर गरिएको हो । त्यसैले सोही रकमलाई बिगो कायम गरी उनीविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

यस्तै, चंखेली गाउँकार्यपालिकाका इन्जिनियर मान बहादुर ऐडी र प्राविधिक सहायक (सवइन्जिनियर) गोभधन बोहोराले पनि फिल्डमा नभएको कामलाई सम्पन्न भएको भनेर नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई ६ लाख ४८ हजार ७८६ रुपैयाँ भुक्तानी दिन भूमिका निर्वाह गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।

चंखेली गाउँकार्यपालिकाका लेखापाल नविन रेग्मीले पनि भुक्तानीका लागि सम्बन्धित उपभोक्ता समितिको निवेदन, वडाको सिफारिस, प्राविधिक मूल्याङ्‍कन प्रतिवेदन, बिल भरपाई तथा अन्य आवश्यक कागजातहरु प्राप्त भइसकेपछि सम्पूर्ण कागजातहरु चेकजाँच गरी भुक्तानी दिनुपर्नेमा काम बिनानै भुक्तानी दिएको भन्दै आयोगले उनीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यस्तै, उक्त मुद्दामा आयोगले चंखेली गाउँपालिका–२ का तत्कालीन वडा अध्यक्ष हरिहर उपाध्याय, देवकोटावाडा खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दा देवी देवकोटा (धिताल)लाई पनि विपक्षी बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप