मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अब कमेडी गर्न चाहन्छु : करिश्मा मानन्धर

मङ्गलबार, २६ असार २०८०, ११ : ३७
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले आफूलाई अब कमेडी अभिनय गर्न मन लागेको बताएकी छन् । करिब ४ दशक अभिनयमा बिताएकी उनले अभिनयमा प्रायः सबैखाले भूमिका निर्वाह गरे पनि कमेडी भने गर्न नपाएको बताइन् । 

‘चार दशक अभिनय यात्रामा बिताएकी छु । कमेडी बाहेकका प्रायः सबै भूमिका निर्वाह गरिसकेँ’, अभिनेत्री करिश्माले रातोपाटीसँग भनिन्, ‘अहिले भने कमेडी अभिनय गर्ने रहर जागेको छ ।’ केही अगाडि एक विज्ञापनमा कमेडी भूमिका निर्वाह गर्दा पाएको चर्चाले कमेडी गर्ने रहर जागेको उनले सुनाइन् ।

‘विज्ञापनबाट ममा पनि कमेडी गर्न सक्ने क्षमता रहेको बुझेँ, अब कमेडी भूमिका पाए गर्छु,’ करिश्माले थपिन् ।

हुन त करिश्मा यस अगाडि जितु नेपालको कमेडी सो ‘मुन्द्रेको कमेडी क्लब’मा अध्यक्षका रूपमा देखिएकी छन् । शोमा आफ्नो काम थपडी बजाउने र हाँस्ने मात्र भएकाले मज्जा नआएको उनी बताउँछिन् । अभिनेत्री करिश्माले भनिन्, ‘प्रेमकथा, एक्सनदेखि सामाजिक कथासम्मको फिल्ममा भिजिसकेँ । अब कमेडीको अनुभव लिनु छ ।’

करिश्मा अभिनीत पछिल्लो फिल्म ‘बगान’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । फिल्ममा करिश्माले एकल महिलाको भूमिका निर्वाह गरेकी छन् । अभिनेता सरोज खनालले फिल्म निर्देशन गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप