सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व खेलकुदमा दुर्व्यवहार : चार सय प्रतिशतले बढे घटना

बुधबार, २७ असार २०८०, १६ : ०३
बुधबार, २७ असार २०८०

काठमाडौँ । विश्व खेलकुदमा सन् २०२२–२३ सिजनमा विभिन्न प्रकारका दुर्व्यवहार र गालीगलौजका घटनामा उल्लेख्य वृद्धि भएको पाइएको छ । एक संस्थाले गरेको अध्ययनले एक वर्षको अवधिमा दुर्व्यवहारको घटनामा ६५.१ प्रतिशतले वृद्धि भएको देखाएको छ ।  उक्त अध्ययन खेलकुदमा हुने भेदभावविरुद्धको अभियानमा सक्रिय संस्थाले गरेको हो । पछिल्लो एक वर्षको अवधिमा आफूमाथि दुर्व्यवहार भएको भनी उजुरी दिने खेलाडीहरूको सङ्ख्या पनि निकै बढेको अध्ययनले देखाएको छ । उक्त संस्थाका अनुसार, सन् २०२२–२३ अवधिमा आफूमाथि विभिन्न किसिमको दुर्व्यवहार भयो भनेर एक हजार सात जनाले उजुरी दिएका छन् । तल्लो तहका घरेलु प्रतियोगितादेखि लिएर व्यावसायिक खेलकुदमा सक्रिय खेलाडीसम्मले यस्तो उजुरी दिएका छन् । 

यसका अतिरिक्त सामाजिक सञ्जालहरूमार्फत पनि धेरैले आफूमाथि दुर्व्यवहार भएको घटना सार्वजनिक गर्ने गरेका छन् । ‘विगतको तुलनामा खेलकुदमा दुर्व्यवहारका घटना बढेको पाइएको छ । विभिन्न माध्यमबाट उजुरी दिनको सङ्ख्यामा पनि वृद्धि भएको छ । पक्कै पनि यो निराशाजनक तथ्याङ्क हो,’ अनुसन्धानमा संलग्न संस्थाका प्रमुख कार्यकारी टोनी बर्नेटले भनेका छन् ।  अन्य खेलको तुलनामा फुटबलमा बढी दुर्व्यवहारका घटना हुने गरेको पनि अध्ययनले देखाएको छ ।

विभिन्न प्रकारका दुर्व्यवहारका घटनामध्ये सबैभन्दा बढी जातीय दुर्व्यवहारको घटना हुने गरेको अध्ययनले देखाएको छ । परेका उजुरीहरूमध्ये ४९.३ प्रतिशत जातीय दुर्व्यवहारको घटना रहेको समाचारमा जनाइएको छ । यसैगरी विद्युतीय माध्यमको प्रयोग गरेर पनि खेलाडीहरूमाथि दुर्व्यवहारका घटना हुने गरेको छ । अघिल्लो वर्ष विद्युतीय माध्यमको प्रयोग गरेर आफूमाथि दुर्व्यवहारका भयो भनी ७४ वटा उजुरी परेका थिए । 

सन् २०२२–२३ अवधिमा भने त्यो सङ्ख्या बढेर दुई सय ८१ पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २७९ प्रतिशतले बढेको हो । यसैगरी अघिल्लो वर्ष महिलामाथि हुने यौन दुर्व्यवहारको घटनामा १६ वटा उजुरी परेका थिए । सन् २०२२–२३ मा त्यो सङ्ख्या बढेर ८० पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ४०० प्रतिशतले बढेको हो ।  दुर्व्यवहारका घटनालाई निरुत्साहित पार्न समर्थकहरूमा जनचेतना फैलाउन आवश्यक रहेको सुझाव पनि अनुसन्धान प्रतिवेदनले दिएको छ । ‘पक्कै पनि यो निराशाजनक पक्ष हो । यसका लागि समर्थकमाझ अझ बढी चेतना फैलाउनु आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ ।

 सन् २०२० को युरो फुटबलको फाइनलमा इटालीले इङ्गल्यान्डलाई पेनाल्टी सुट आउटमा ३—२ गोलले हराएको थियो । त्यतिबेला इङ्गल्यान्डका तीन खेलाडी मार्कुस रासफोर्ड, बुकायो साका र जोर्डन सान्चो पेनाल्टी सुट आउटमा गोल गर्नबाट चुकेका थिए । त्यसपछि उनीहरूमाथि व्यापक जातीय दुर्व्यवहार भएको थियो । त्यसैको सम्झनामा यो अध्ययनको अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप