शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
स्मृति

सीताबारे हिसिला : प्रचण्डजीले असल सल्लाहकार गुमाउनुभयो

बुधबार, २७ असार २०८०, १६ : ५०
बुधबार, २७ असार २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीकी नेता एवम् पूर्वमन्त्री हिसिला यमीले सीता दाहालले जीवनभर प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सही सल्लाहकारको भूमिका निर्वाह गरेको बताएकी छन् । दाहालको निधनपछि प्रतिक्रिया दिँदै यमीले प्रधानमन्त्री प्रचण्ड कहिलेकाहीँ भावुक भएर धेरै बोल्दा पत्नी दाहालले नै सम्झाउने गरेको स्मरण गरेकी हुन् ।

प्रचण्ड र बाबुराम भट्टराई ३६ वर्षभन्दा बढी एउटै पार्टीमा सहकार्य गर्दा सीता र हिसिला पारिवारिक रूपमा पनि नजिक थिए । पारिवारिक रूपमै लामो समय नजिक भएकाले दुई जनाले एक–अर्कालाई राम्रोसँग बुझ्ने अवसर पाएका थिए । ‘सीता दाहालको क्षमता देखेरै बाबुरामजीले सल्लाहकार प्रस्ताव गर्नुभएको हो । त्यसमा मेरो पनि साथ र समर्थन थियो,’ यामीले रातोपाटीसँग भनिन्, ‘मान्छेहरू अहिले अलि पढे–लेखेको, सहरी परिवेशको टाठाबाठालाई मात्र जान्ने–बुझ्ने भन्ने रूपमा लिन्छन् । वास्तवमा मान्छे जान्ने–बुझ्ने हुन संघर्षबाटै खारिएर आउनुपर्छ । त्यस दृष्टिकोणबाट सीता दाहाल असाध्यै पाको हुनुहुन्थ्यो ।’ 

यमीको शब्द जस्ताको त्यस्तै :

सीता दाहाल एउटा ग्रामीण परिवेशमा जन्मिएर हुर्किनुभयो । पारिवारिक रूपमा त्यति धेरै धनी परिवार होइन । त्यस्तो परिवेशमा हुर्किएकी महिला प्रचण्डजीले जनयुद्ध सुरु गरेपछि सँगै हिँड्नुभयो । प्रचण्डजी जहाँ जानुभयो त्यहीँ पुग्नुभयो । काठमाडौँ हुँदा काठमाडौँ आउनुभयो । भारत हुँदा भारतका गल्ली–गल्ली पुग्नुभयो । पछि भारतबाट फर्किएर रोल्पा रुकुमका गाउँ बस्तीमै पुग्नुभयो । उहाँले प्रचण्ड जीलाई कहिल्यै छोड्नु भएन । 

औपचारिक अध्ययन धेरै नभए पनि बुझाई र चेतनाको स्तर धेरैमाथि थियो । त्यसैले पार्टीको सल्लाहकारको भूमिका राम्रोसँग निभाउनुभयो । त्यतिबेला बाबुरामजीले उहाँलाई सल्लाहकारको प्रस्ताव गर्दा धेरैले राम्रो रूपमा लिएनन् । तर, सीता दाहालको क्षमता देखेरै बाबुराम जीले सल्लाहकार प्रस्ताव गर्नुभएको थियो । त्यसमा मेरो पनि साथ र समर्थन थियो । मान्छेले अलि पढ्ने लेख्न जानेको, सहरी परिवेशको टाठाबाठालाई अलि जानेको बुझेको भन्ने रूपमा लिन्छन् । वास्तवमा मान्छे राम्रो बन्न  संघर्षबाटै आउनु पर्दो रहेछ । त्यस दृष्टिकोणबाट सीता दाहाल असाध्यै परिपक्व हुन् । 

त्यतिबेला प्रचण्डजी बोलीलाई कन्ट्रोल गर्ने सक्ने मान्छे हो । प्रचण्डजी अलि भावुक हुँदा वा धेरै बोल्न थालेपछि कन्ट्रोल गर्नुहुन्थ्यो । त्यसले प्रचण्डजीलाई सहज बनाएको थियो । पछि बिरामी भएर केही गर्न नसक्ने हुनुहुन्थ्यो । अब उहाँ निधन भएपछि प्रचण्डजीलाई त्यो खट्किने छ । 

भारतमा हुँदा उहाँ शरीरिक रूपमा असाध्यै कमजोर हो कि भन्ने लाग्थ्यो । जहाँ जाँदा पनि रिक्सा चाहिने एकदमै छोटो बाटोमा रिक्सा लिएर मात्रै बाहिर जाने गर्नुहुन्थ्यो । हेर्दा शारीरिक रूपमा असाध्यै कमजोर हो कि भन्ने हुन्थ्यो । जब हामी भारत छाडेर रोल्पा रुकुमका बस्तीहरूमा जान थालियो । थवाङमा गाउँगाउँ जान थाल्यौँ । उहाँ ठमठम हिँड्न थालेपछि म दङ्ग परेर हेरेको हेर्‍यै हुन्थेँ । आइलाग्यो भने उहाँ जस्तोसुकै कठिन परिस्थितिमा जुध्न सक्ने महिला हुनुहुँदो रहेछ भन्ने लाग्यो । परे संघर्ष गर्न सक्ने मान्छे हुनुहुँदो रहेछ भन्ने भयो । यसो हेर्दा उहाँ जस्तोसुकै परिस्थितिलाई हेन्डल गर्न सक्ने मान्छे हो । 

ग्रामीण परिवेशमा हुर्किएर आउनुभयो, रामोसँग औपचारिक शिक्षा दीक्षा लिन पाउनु भएन । उहाँको तुलनामा प्रचण्ड जी धेरै स्मार्ट देखिनुहुन्छ । पार्टी हेडक्वार्टरमा नेता कार्यकर्ता भेट्न जाने ठेलमठेल हुन्थ्यो । पार्टी अध्यक्षलाई भेट्न जानेको घुइँचो हुन्थ्यो । कतिपय अवस्थामा नेता कार्यकर्ताले उहाँलाई घचटेर प्रचण्डजीलाई भेट्न गएको मैले देखेको छु । उहाँ हेर्दा स्मार्ट नदिए पनि परिपक्व व्यवहार देखाउन सक्ने र हरेक विषयलाई गहिरो गरी बुझ्न सक्ने मान्छे हो ।   

घर परिवारको व्यवस्थापनमा राम्रै देखिन्थ्यो । नेता कार्यकर्तालाई सान्त्वना दिनेमा सहजीकरण गर्नुहुन्थ्यो । त्योभन्दा बढी प्रचण्डको सल्लाहकारमा बढी भूमिका थियो । प्रचण्डजीले सीता दाहालको सल्लाहलाई कहिल्यै नकार्नु भएन । उहाँको सल्लाहलाई सधैँ गम्भीर रूपमा लिएर पालना गर्नुहुन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप