सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
स्मृति

सीता दाहाल भन्थिन् : मलाईभन्दा पनि उहाँलाई केही भइहाल्यो भने के होला ?

पति प्रचण्ड, परिवार र जनयुद्धबारे सीताको अनुभव
बुधबार, २७ असार २०८०, ११ : ०५
बुधबार, २७ असार २०८०

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको बुधबार बिहान निधन भएको छ । वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । 

वि.सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् । पछिल्लोसमय उनी पीएसपी र पार्किन्सनजस्ता दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित थिइन् । दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ । 

स्वर्गीय दाहालको पारिवारिक र राजनीतिक जीवनलाई बुझ्न यो अन्तर्वार्ता सहयोगी हुन सक्छ । यो अन्तर्वार्ता मूल्याङ्कन मासिकका लागि राजेन्द्र महर्जन, चन्द्र खाकी र चन्द्रलाल गिरीले लिएका थिए । पछि यो ‘जनयुद्धका नायक’ पुस्तकमा समेत प्रकाशित गरिएको थियो ।

तपाईंहरूको पनि निकै छिटो विवाह भएको रहेछ । कसरी विवाह भएको थियो, मागी विवाह नै हो ? 

– त्यो बेला गाउँघरमा छिट्टै विवाह गर्ने चलन थियो । विवाहभन्दा पहिला हाम्रो चिनाजानी थिएन । पहाडमा हाम्रो घर एक्कैठाउँमा जस्तो रहेछ । उहाँको कास्की, ढिकुर पोखरी र मेरो हेङ्जामा घर थियो । हिँडेर जाँदा एकघण्टा लाग्छ होला । उहाँका र मेरा बुबाहरू एउटै सालमा पहाडबाट झर्नुभएको रहेछ । हाम्रो चितवनकै सुन्दरवस्ती गाउँ र उहाँको भिमसेननगर भन्ने ठाउँमा बसाइँ सर्नुभएको हो । त्यहाँ पनि हिँडेर आउन–जान बीसमिनेट समय लाग्छ । हाम्रो केही नाता पनि पर्छ, मावलीपट्टि वा कताबाट अलिकति सम्बन्ध थियो । तर पहिला नै हाम्रो चिनजान त थिएन । मलाई माग्न त धेरै ठाउँबाट आएका थिए । तर मेरो मामाले उहाँसँग नै विवाह गरिदिनुपर्छ भनेर जोड गरेपछि हाम्रो विवाह भएको हो । विवाहको कुरा चलिसकेपछि कहिलेकाहीँ बाटोमा हाम्रो भेट हुन्थ्यो । मेरो केटा यही हो भन्ने हुन्थ्यो, तर बोलचाल भने हुँदैनथ्यो । वास्तवमा हाम्रो विवाह भएको लामो समयपछि मात्रै बोलचाल भयो । उहाँ पनि केटाकेटीमा लाज मान्ने, म पनि झन् महिला ।

अध्यक्ष प्रचण्डको पारिवारिक भूमिका कस्तो रह्यो ? 

– हाम्रो बिहे हुँदा उहाँ पन्ध्र वर्षको हुनुहुन्थ्यो । बिहेपछि केटाकेटीदेखि नै सँगै जन्मेको, सँगै हुर्केकोजस्तो भयो । सानैमा विवाह भएकोले हामीहरू साथी र दिदी भाइजस्तो थियौँ । म गएपछि थाहा भयो, उहाँले घरका भाइबहिनीलाई गर्ने व्यवहार राम्रो थियो । घरमा दिदीबहिनी र दाजुभाइमा त्यस्तो झगडा हुँदैनथ्यो । गाउँमा कतै–कतै झगडा हुँदा खेरी वृद्ध काइँली आमाले उहाँलाई देखाएर भन्नुहुन्थ्यो, यसले झुटो बोल्दैन, झगडा मिलाई दिन्छ । छोराछोरीलाई दिने समय त दिनुभएन । मैले र उहाँ दुवैले दिन सकेनौँ भन्दा हुन्छ । राजनीतिमा लागेपछि त्यस्तै भयो । 

छोराछोरीसँगको उहाँको व्यवहार कस्तो पाउनुभएको छ ? 

– उहाँले छोरा–छोरीलाई कहिल्यै नियन्त्रण गर्नुभएन । सामन्तवादीहरूले गर्ने जस्तो नियन्त्रण त हुने कुरै आएन । उनीहरूसँग पनि साथीभाइजस्तै ठट्टामजाक नै गर्नुहुन्छ । छोराछोरी र बुबाको जस्तो दूरी छैन । 

म पन्ध्र वर्षको उमेरमा विवाह गरेर आएकी थिएँ । त्यसबेला त बाहुन समाज भनेको सामन्ती संस्कारमा लिप्त थियो ।

तपाईं कसरी राजनीतिमा लाग्नुभयो नि ?

– उहाँले मलाई के बुझाउनुभएको थियो भने, यो राजनीति भनेको यस्तो चिज हो, यसले पीडित महिलालाई अधिकार दिन्छ । कम्युनिस्ट समाज धनी गरिब हुँदैन, सबै बराबर हुन्छ, त्यसका लागि लड्नुपर्छ । यो कुरा बुझेपछि राजनीति भन्ने चिज ठिक रहेछ भन्ने कुराले भित्रसम्म गहिरो प्रभाव पर्‍यो ।

हिजो उहाँलाई पन्ध्र वर्षको उमेरमा पाउँदा र अहिले देशको महत्त्वपूर्ण नेताको रूपमा पाउँदा कस्तो अनुभूति भइरहेको छ ? 

– बच्चादेखि नै संगत भएकोले त्यस्तो ठुलो र अनौठो केही महसुस भएको छैन । एउटा श्रीमतीको भूमिका पनि खेलेँ, एउटा महिला भएको नाताले आमाले खेल्ने भूमिका पनि प्रशस्तै खेलेँ । बिहे हुँदा उहाँ दस कक्षामा पढ्दै हुनुहुन्थ्यो । त्यो बेलादेखि नै ‘यो गर्नुहोस्, त्यो नगर्नुस्’ भन्थेँ । एउटी आमाले बच्चालाई ‘तिमीले नुहाउनुपर्छ, नुहाऊ’ भनेजस्तै श्रीमान् भए पनि सुझाव दिने गर्दथेँ ।

अध्यक्षको सबभन्दा राम्रो वा नराम्रो बानी के होलाजस्तो ठान्नुभएको छ ?

– नराम्रो नै भन्ने त त्यस्तो केही देखेको छुइनँ । तर पनि सामान्यतया त्यस्तो अवगुण हुँदै नहुने कुरा भएन । संसारमै नभएको चिज हामीसँग मात्रै हुने कुरा पनि होइन । कहिलेकाहीँ उहाँ अलि झट्ट रिसाउनेजस्तो गर्नुहुन्छ । उहाँको राम्रो पक्षमा हेर्दा उहाँ एकदमै सरल हुनुहुन्छ । उहाँमा केटाकेटीदेखि वृद्धवृद्धासँगसम्म पनि मिल्न सक्ने गुण छ । मान्छेसँग प्रस्तुत हुँदा र छलफल गर्दा अति सहज र सरल नै हुनुहुन्छ । बुझ्नेगरी कुरा गर्नुहुन्छ ।

बमबारी हुनुभन्दा पाँच दिनअगाडि पासाङलाई पनि भनेकी थिएँ, ‘अब यहाँ त बस्नुहुन्न है बाबु !’ त्यसपछि उहाँहरूले ‘ठिक हो’ भनेर सरेको दुई रातमात्र भएको थियो, बमबारी गरिहाल्यो ।

अनि सासू–ससुरासँग एउटी बुहारीको नाताले कस्तो सम्बन्ध रह्यो नि ? 

– म पन्ध्र वर्षको उमेरमा विवाह गरेर आएकी थिएँ । त्यसबेला त बाहुन समाज भनेको सामन्ती संस्कारमा लिप्त थियो । त्यसमा पनि म सानी मान्छे, दस–बाह्रजनाको जहान हुन्थ्यो । भाँडा माझ्ने काममा र चुल्होमा म एक्लै पर्दथेँ । जब सुत्ने बेला हुन्थ्यो, अनि म सोच्थेँ, म बिहान उठ्न सक्छु कि सक्दिनँ ? बिहान उठेर दैलो पोत्न सकिनँ भने के गर्ने ? एउटा पन्ध्र वर्षकी बच्चीलाई परेको असर हो यो । असाध्यै कष्टसाध्य जीवन बाँचेर हुर्केर आएकी महिला हुँ म । अहिले हेर्दा त एक ढङ्गको नयाँ अनुभूति भइरहेको छ । 

उहाँ पूर्णकालीन सदस्य भएपछि बच्चाहरू हुर्काउने जिम्मा पनि तपाईंकै काँधमा बढी पर्‍यो होला, होइन ? 

– उहाँ पूर्णकालीन सदस्य भएपछि त्यो बोझ त पूरै मलाई नै पर्‍यो । हामी समग्र परिवारमा हुँदा उहाँले गोरखाको आरुघाटमा अढाई वर्षजति पढाउनुभयो । यो स्वार्थी समाजमा छोराले कमाउन्जेलसम्म राम्रो भन्ने चलन हुन्थ्यो । बुहारी, छोराछोरी, नाति, नातिना सबै ठिकै हुन्थे । जब उहाँ पूर्ण रूपमा राजनीतिमा होमिनुभयो, तब पैसा पनि भएन । बुहारी पनि पार्टीमै हिँड्छे भनेपछि त समस्या भइहाल्यो । 

उहाँ पूर्णकालीन भएपछि पुलिसले सताउन थाल्यो । त्यसपछि परिवार छुट्टियो । यस क्रममा पाँच वर्षजति मलाई भयङ्कर समस्या भयो । त्यतिबेला छोराछोरी साना–साना थिए । छोरा प्रकाश २०३८ सालमा जन्मिएको हो । छुट्टिने बेला पाँच महिनाको मात्रको थियो ऊ । यता माइतको भैँसी, घरबाट पाएको दुइटा भैँसी, खेतीपाती हेर्नुपर्ने अनि उता बच्चाबच्ची स्याहार्नुपर्ने, यसले गर्दा मलाई एकदम दुःख थियो । 

त्यस्तो बेला पार्टीले सहयोग गरेन त ?

– त्यो बेला पार्टीमा पनि मोहनविक्रमको नेतृत्व थियो । त्यो बेला महिलाले जतिसुकै दुःख गरे पनि घरै धान्नुपर्ने, महिलालाई बच्चा जन्माउने मेसिन हो, पुरुषलाई मात्र स्वतन्त्रतापूर्वक छाड्नुपर्छ भन्ने धारणा थियो पार्टीभित्र । त्यो बेला म उहाँलाई भन्थेँ, श्रीमान् र श्रीमती भनेको एउटा रथका दुई पाङ्ग्रा हो । त्यसैले पार्टीमा महिलालाई अगाडि बढाउने हो भने पुरुषले पनि सहयोग गर्नुपर्छ, पढाइ र राजनीतिमा पनि अगाडि बढाउने वातावरण बनाउनुपर्छ । म सुरुदेखि नै उहाँसँग यसरी नै प्रस्तुत हुँदै आइरहेकी छु । उहाँ भन्नुहुन्थ्यो ‘तिमीले भनेको ठिक हो’ । पछि बिस्तारै पार्टीमा महिला उभार आउन थाल्यो । त्यसमा मैले पनि भूमिका खेलेकी छु जस्तो लाग्छ । 

कहिलेदेखि पारिवारिक जीवन सहज हुन थाल्यो ? 

– जब उहाँ पूर्णकालीन सदस्य भएर राजनीतिमा लाग्नुभयो, त्यसपछि मलाई धेरै सरल र सहज हुँदै आयो । उहाँसँग त मेरो त्यस्तो समस्या भएन तर परिवारमै हुँदा त त्यो खालको कष्ट भइहाल्थ्यो ।

उसबेला त दुब्लो पातलो नै हुनुहुन्थ्यो । बुढेसकाल लागेपछि मोटाउन थाल्नुभएको हो ।

अहिले कस्तो महसुस भइरहेको छ ? 

– अहिले खासै त्यस्तो फरक लाग्दैन । काम गरिएको थियो, त्यसकै फल मिलेकोजस्तो लाग्छ । त्यो बेला देश र जनताका लागि गर्दै जानुपर्छ, गर्दै जाँदा भए होला, नभए पनि केही छैन भनेर लागियो । अहिले भने केही सन्तुष्टि मिलेको छ ।

अध्यक्षलाई शारीरिक रूपमा केही समस्या भएको छ कि छैन । उहाँको स्वास्थ्य कस्तो छ ? 

– त्यस्तो त खासै केही छैन । उच्च रक्तचाप छ । जनयुद्धको बेला पहिला त्यस्तो केही समस्या थिएन । काठमाडौँ आएपछि तीन महिनापछि त्यस्तो समस्या देखिएको हो । यहाँ आएपछि नियमित खान पाउनुभएको छैन । कहिले कहाँ, कहिले कता यस्तै भइरहन्छ । 

पहिले त उहाँ पातलो हुनुहुन्थ्यो, अहिले मोटो हुनुहुन्छ त ?

– उसबेला त दुब्लो पातलो नै हुनुहुन्थ्यो । बुढेसकाल लागेपछि मोटाउन थाल्नुभएको हो । उहाँको तौल त ठ्याक्कै थाहा छैन ।

चुनवाङमा केन्द्रीय कमिटी बैठकमा म पनि गएकी थिएँ । त्यो बेला मैले भनेकी थिएँ, ‘चिज बिग्रिएको छ, दुवै जनाले गल्ती गर्नुभएको छ । दुवैतिरबाट सच्चिएर पार्टी बचाएर लानुपर्छ । कुनै हालतमा पनि पार्टीलाई फुटाउन पाइँदैन ।’

भनिन्छ, पार्टीमा अन्तरसङ्घर्ष हुँदा पार्टी फुट्नबाट जोगाउन तपाईंको पनि भूमिका रह्यो । यहाँले कस्तो भूमिका खेल्नुभएको थियो ? 

– मैले पार्टीमा एकता कायम हुनुपर्छ भनेर खेलेको भूमिका पार्टीबाहिर र भित्र दुवैतिर थाहा भइसकेको कुरा हो । त्यो बेला मैले आफूले कुनै पनि हालतमा पार्टी फुट्नुहुँदैन, एकता हुनैपर्छ भनेर अध्यक्ष र डा. बाबुराम भट्टराई दुवैलाई दबाब दिएकी थिएँ । चुनवाङ बैठकभन्दा अघिल्लो लाहावाङ बैठकमा म बिरामी थिएँ । म भारतमा उपचाररत थिएँ । पार्टीभित्र कच्याककुचुक त पहिलादेखि नै भइरहेको थियो । त्यो बैठकमा धेरै नै विवाद भयो रे भनेपछि मलाई एकदम चिन्ता लाग्न थाल्यो । म नगएर गल्ती गरिछु भन्ने लाग्यो । 

प्रचण्डजीले तुरुन्तै आउनुपर्‍यो भनेपछि गएँ । त्यहाँ गएपछि चिज गडबड भएको थाहा भयो । पासाङ र विप्लवहरूलाई थाहा छ, मैले ‘यसरी जानुहुँदैन, जसरी हुन्छ, पार्टी बचाएर लानुपर्छ’ भन्थेँ । श्रीमानको नाताले अध्यक्षलाई त आफूले सकेको बुद्धि दिन्थे । पार्टी फुटेर गइहाल्यो भने पनि पार्टीभित्र झन् नराम्रो मान्छे आउँछ भन्ने ढङ्गले सम्झाउँथेँ । अनि बाबुरामजीलाई पनि भन्थेंं, ‘माओवादीले गर्दा संसार पनि हल्लिएको छ । तर तपाईंहरू झिनामसिना कुरामा अड्किएकोजस्तो लाग्यो मलाई । तपाईंको पनि गल्ती छ । उहाँले पनि कमजोरी गर्नुभएको छ ।’  

म जे देख्छु, त्यही भन्छु भनेर अध्यक्ष र बाबुरामजीलाई कुरा राख्थेँ । चुनवाङमा केन्द्रीय कमिटी बैठकमा म पनि गएकी थिएँ । त्यो बेला मैले भनेकी थिएँ, ‘चिज बिग्रिएको छ, दुवै जनाले गल्ती गर्नुभएको छ । दुवैतिरबाट सच्चिएर पार्टी बचाएर लानुपर्छ । कुनै हालतमा पनि पार्टीलाई फुटाउन पाइँदैन ।’ मैले यसरी कुरा राखेँ, ‘यत्रो जनताको रगत बगिसकेको छ । तपाईंहरूको के हो यस्तो ताल ? यस्तो गर्न पाउनुहुन्न । यस्तै गर्ने हो भने त तपाईंहरूलाई जनता र विदेशी मित्रहरूले पनि छाड्दैनन् ।’ 

अहिलेसम्म जनयुद्धमा अध्यक्ष प्रचण्डलाई कसरी सहयोग पुर्‍याउनुभयो ? 

– मलाई लाग्छ, मैले उहाँलाई धेरै सहयोग गरेँ । जनयुद्ध सुरु हुनुभन्दा पहिला पनि घरपरिवार, छोरा/छोरी सब त्यागेर यो पार्टीमा जसरी लाग्दै आएँ र जनयुद्धमा पनि म उहाँसँगसँगै छु । प्रायः एकाध दिन छुट्टिएँ होला । हरेक ठाउँमा मैले धेरै भूमिका खेलेको छु । 

रेलमा सबै मान्छेको चेक गरियो । म निन्द्रामा रहेछु । चेक गरेको थाहा पाएर म बिउँझिएँ । यसो हेर्छु त पुलिसले सारा झोला र खल्ती चेक गरिराखेको छ, अरूलाई उठाइरहेको पनि छ ।

तपाईंले नै उहाँलाई सुरक्षित गराएका घटनाहरू उल्लेख गरिदिनु न ? 

– त्यस्ता घटनाहरू त धेरै छन् । ठ्याक्कै मेरो बलले उहाँलाई बचाएका मुख्यतः दुइटा घटना छन् । एकपटक सात वर्षअगाडि भारतमा अल कायदाको खुब चर्चा र खोजी भइरहेको थियो । उहाँ र म दिल्लीबाट गोरखपुर आउँदै थियौँ । रेलको एउटा सिटमा हामी दुईजना सुतेर आएका थियौँ । एउटाको टाउको अर्कोको खुट्टा यता बनाएर, उल्टोपाल्टो हुँदै । त्यहाँ इण्डियन प्रहरीले रेलका सारा महिला, बच्चा, वृद्धदेखि लिएर कागजपत्रसमेतको सम्पूर्ण जाँच गर्दै थियो । उहाँले हाम्रो ठुलो झोलामा माओवादी डकुमेन्ट, पुस्तक र लेखहरू राखेर ल्याउनुभएको थियो । 

मैले दिल्लीमा नै उहाँलाई भनेकी थिएँ, ‘अहिले किताबहरू नलैजाऔँ । हाम्रो स्टाफ पछि आउँदै हुनुहुन्थ्यो । बाइचान्स चेक भयो भने सबै पर्छ । तपाईं नबोक्नुस् ।’ यति भन्दाभन्दै उहाँले लिएर आइहाल्नुभयो केही हुन्न भनेर । उहाँले रेलमा ती सबै सामान सिरानीमा हालेर बस्नुभएको थियो । 

इण्डियामा रहँदा दुनियाँ नाटक गरेर बस्नुपर्दथ्यो । म पनि प्रायः हातभरि चुरा, गहना वा त्यस्तै पहिरन लगाएर हिँड्थे । माओवादी महिलाहरूजस्तो ‘सिम्पल’ भएर हिँड्नुको सट्टा गृहिणी महिलाजस्तो भएर हिँड्थेँ, त्यो आफूलाई जोगाउन गरिन्थ्यो । रेलमा सबै मान्छेको चेक गरियो । म निन्द्रामा रहेछु । चेक गरेको थाहा पाएर म बिउँझिएँ । यसो हेर्छु त पुलिसले सारा झोला र खल्ती चेक गरिराखेको छ, अरूलाई उठाइरहेको पनि छ । फेरि त्यही बेला उहाँले जुँगा पनि पाल्नुभएको थियो । दाह्री पनि लामो भइसकेको थियो । मुख्यतः मुसलमानहरूले प्रायजसो दाह्री पाल्ने । त्यतिखेर दाह्री–जुँगा भएका मुसलमानहरूकै खोजी भइरहेको थियो । त्यसपछि मलाई कस्तो भयो भने के गर्ने के नगर्ने ? उहाँ त तन्ना ओढेर सुतिरहनुभएको थियो । खुट्टाले झकझकाएर सङ्केत गरेँ, ‘तपाईं चुप लागेर सुत्नुहोस् ।’ त्यो सङ्केत पाएपछि उहाँले बुझ्नुभो । म गृहिणी महिलाजस्तो यता–उता गर्दै बसेँ । त्यसपछि सबैलाई चेक गर्दा पनि हामीलाई गरेन र बल्लतल्ल बचियो । 

अर्को त्यस्तै घटनामा २०६० सालमा सुरेश आलेमगर र मातृका यादव पक्राउ भएको बेला थोरै संयोगले उहाँलाई बचाइएको छ । घटना दिल्लीकै हो, त्यहाँ हामी सँगै थियौँ । साथीहरूसँग कुरा गरेर डेरामा फर्किँदै गर्दा साँझ परिसकेको थियो । उहाँले ‘म त सुरेश आलेको डेरामा जान्छु, मातृका पनि आउनुभा’को छ, कुराकानी गर्नुछ’ भन्नुभयो । मैले ‘राति भइसक्यो अहिले नजानुहोस्’ भनेँ । दुई/तीनपटक जुत्ता लगाउँदै बाहिर जाँदै गर्नुभयो । मैले कराएको कराई गरेपछि फर्केर भित्र कोठामा आउनुभयो । 

भोलिपल्ट बिहान ९ बजेको थियो होला । उहाँले ‘म जान्छु’ भन्न थाल्नुभयो । मलाई के लागेको थियो भने सुरेशजी त यता–उता भाषण गर्दै हिँडिराख्ने मान्छे, त्यहाँ सुरक्षित नहुनसक्छ । त्यसैले श्रीमान्लाई सम्झाउने तरिकाले कुरा गरेँ । ‘उहाँहरू कोठामा हुनुहुन्छ कि हुनुहुन्न, त्यो बुझेर मात्रै जानुपर्छ भनेँ । त्यसपछि उहाँले स्टाफलाई फोन गरेर सुरेशजीकहाँ बुझ्न लगाउनुभो । पहिलोपटक जाँदा नभएको खबर लिएर साथी आउनुभएछ । दोस्रोपटक बादलजीको स्टाफलाई पठाउँदा त त्यहाँको चिया पसलेले भनेछन्, ‘ती मान्छेहरूलाई त बेलुकै पुलिसले लगिसक्यो ।’

त्यसरी यी दुइटा घटनामा म नजिकबाट सामेल भएको छु । 

The_Prime_Minister_of_Nepal,_Mr._Pushpa_Kamal_Dahal_and_Mrs._Sita_Dahal_being_received_by_the_Prime_Minister,_Shri_Narendra_Modi,_at_the_Ceremonial_Reception,_at_Rashtrapati_Bhavan,_in_New_Delhi_on_September_16,_2

रोल्पाको डाँडा गाउँमा पनि अध्यक्ष रौँ–रौँले बच्नुभएको रहेछ, होइन ? 

– रोल्पामा त जनताकोमा बस्ने गर्दथ्यौँ । त्यहाँ हामी बसेको घरमा बमबारी पनि गर्‍यो । त्यहाँ पनि मैले चेताउने काम अलि पहिलेदेखि नै गरेकी थिएँ । उहाँहरूलाई भन्थेँ, ‘अब हामी यहाँ नबसौँ । यहाँ बसेको लामो समय भइसक्यो । जनताहरू सदरमुकाम आउँछन्, जान्छन् । त्यो भएपछि लिक हुनसक्छ, खतरा हुनसक्छ ।’ 

बमबारी हुनुभन्दा पाँच दिनअगाडि पासाङलाई पनि भनेकी थिएँ, ‘अब यहाँ त बस्नुहुन्न है बाबु !’ त्यसपछि उहाँहरूले ‘ठिक हो’ भनेर सरेको दुई रातमात्र भएको थियो, बमबारी गरिहाल्यो ।

जनयुद्धको बेला आफू पनि मरिन्छ कि भन्ने डर वा चिन्ता केही भएन ? 

– त्यस्तो भएन । मलाई के भयो कुन्नि, त्यस्तो डर लागेन । तर पनि मान्छे भएपछि डरै नलाग्ने कुरा पनि भएन । बमबारी हुँदा वा दुस्मनको नजिक पर्दा मलाईभन्दा पनि उहाँलाई केही भइहाल्यो भने के होला ? देश र जनता आज यो ठाउँमा आइपुगेको छ । पार्टीभित्रको अन्तर्द्वन्द्व पनि सबै बुझिएको छ । उहाँको अनुपस्थितिमा जनता पनि टुहुरा हुन्छन् । त्यसैले उहाँलाई केही हुनुहुन्न भन्ने खालको बढी चिन्ता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप