मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसी पास नगरे शान्ति प्रक्रिया नै बिथोलिने धम्की आएको थियो : नेता पोखरेल

शुक्रबार, २९ असार २०८०, २१ : २९
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने बेला आफ्नो पार्टीलाई धम्की आएको खुलासा गरेका छन् । एमसीसी पास नगरे शान्ति प्रक्रिया बिथोलिने सम्मको धम्की दिइएको नेता पोखरेलले दाबी गरेका हुन् ।

चीनको विकास मोडलबारे राजधानीमा आयोजित विचार विमर्श कार्यक्रममा बोल्दे पोखरेलले तत्कालीन अमेरिकी राजदूतले एमसीसी पास नभए नेपालले पाउने आर्थिक सहायतासमेत रोकिने धम्की दिएको बताए ।

‘जब एमसीसी पास गर्ने बेलामा विवाद भइरहेको थियो । त्यतिबेला अमेरिकी राजदूतले एमसीसी पास नभए नेपालको शान्ति प्रक्रिया नै बिथोलिने धम्की दिए । विश्व बैंकलगायतबाट नेपालमा आउने सबै आर्थिक सहायता रोकिने बताए । माओवादी र माओवादी सम्बद्ध संस्थाहरूका सदस्यहरूको भिसामा कडाइ हुन्छ भने,’ नेता पोखरेलले भने ।

एमसीसीमार्फत चीनलाई घेराबन्दी पार्ने नीति अमेरिकाले बढाइरहेको बताउँदै उनले नेपाल यतिबेला चीनविरोधी गतिविधि गर्ने अखडा बनिरहेकोमा चिन्तासमेत व्यक्त गरे । नेपालको ब्युरोक्रेसी र विद्वान वर्गहरूसमेत अमेरिकाको गलत कदमको विरोध गर्न नै नहुने भन्ने सोचाइ राख्ने गरेकोमा पोखरेलले दुःख व्यक्त गरे ।

नेपालको राजनीति स्याटेलाइट प्रवृत्तिको बन्दै गएको नेता पोखरेलको भनाई थियो । उनले नेपाल अहिले विकास र सार्वभौमिकतामा पनि विभाजित भइरहेको जिकिर गरे । रुस–युक्रेन युद्धमा अमेरिकासँग ठुलो व्यापार भएको छिमेकी मुलुक भारतसमेत तटस्थ बन्दा नेपाल भने तटस्थ बस्न नसेको स्मरण गराए । ‘हामी युक्रेनको पक्षमा उभिएसँगै हाम्रो असंलग्न परराष्ट्र नीति फेल भयो,’ उनले भने, ‘हामी एमसीसीमार्फत अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) संयन्त्रमा सामेल भइसक्यौँ ।

नेपालमा एमसीसी लागू भइरहँदा चीनसँग गरिएको बीआरआई सम्झौता भने अगाडि बढ्न नसकेकोमा चिन्ता व्यक्त गरे । ‘बीआरआईमा तीनपटक सम्झौता गरेका छौँ । तर मध्ये कुनै पनि सम्झौता अगाडि बढ्न सकेका छैनन् । विश्व बैंक र यूएनडीपीले नेपालको अर्थतन्त्रमा हस्तक्षेप गरेको कारण यसलाई अघि बढाउन सकिएन । जबकि आईपीएसजस्तो बीआरआईमा सैनिक गठबन्धनको कुनै बुँदा देखिँदैन ।’

नेपालको यही नीतिका कारण अब नेपाल कता लाग्छ भन्नेमा चीनमा सन्देह पैदा भइरहेको नेता पोखरेलले दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप