खर्कबाट फर्किएन छोरो
दार्चुलाको एक विकट काँडापारी गाउँ, जुन दिपेशको जन्मथलो थियो । घरको माइलो, जेठी दिदी अनि दुई जना उ भन्दा कान्छा भाइहरुलगायत आमा बुवा, हजुरआमा, हजुरबुबा लगायतको खुशी परिवार थियो । गाउँकै विद्यालयमा कक्षा ७ मा अध्ययनरत दिपेश कक्षाकै उत्कृष्ट विद्यार्थीमध्ये पर्दथ्यो ।
स्कुलमा वर्षात्को समयमा टाढा टाढाबाट भीरपाखा र खहरे भेल छिचोल्दै आउने विद्यार्थीहरुलाई सहज होस् भन्दै एक महिने विदा हुन्थ्यो । अनि बर्खामा गाईबस्तु चराउन लेकतिर खर्क बनाएर उतै राख्ने चलन थियो । साथमा गोठालो जानु पथ्र्यो । टाढा टाढा भिरालो बाटो अनि कयौं खोलानाला पार गर्दै खर्क पुगिन्थ्यो ।
गाउँभरीका गोठाला जाने, रमाइला खेलहरु खेल्ने अनि रमणीय ठाउँहरु हेर्न पाइने हुँदा खर्क जान रमाइलो लाग्थ्यो । विशेष गरी केटाकेटीहरु घरमा जिद्दी गरेरै भए पनि खर्क जाने गर्दथे । खर्कमा रहेको गोठालोलाई पालो दिन तथा सामल तुमल पुर्याउन घरबाट जानु पथ्र्यो बेला बेलामा ।
साउनको महिना थियो । स्कुलमा छुट्टी रहेकाले दिपेश पनि अरु गोठालोहरुसंगै खर्क लाग्छ । खुट्टामा भर्खर किनेको नयाँ चप्पल लाएको थियो । त्यसैले, हिँड्न अलि असहज नै भएको थियो ।
३ घन्टाको बाटो हिँडेपछि ऊ खर्क पुग्छ । अर्को दिन बिहान खाना खाएर सबै गोठालाहरु गाईबस्तु खोलेर चरन क्षेत्रतिर लाग्छन् । गोठालाहरुले बेलुका गाईबस्तुलाई खुवाउन घाँस पनि काटेर साथमा ल्याउने गर्दथे । राम्रो घाँस पाउन गाई बस्तु पुग्न नसक्ने कान्ला तथा भीरतिर चहार्नु पथ्र्यो ।
दौँतरीहरुलाई देखेर दिपेशलाई पनि घाँस काट्न मन लाग्छ । अनि, हँसिया लिएर कान्लातिर चढ्छ । राम्रो घाँसको लोभमा बिस्तारै झन् झन् भिरालोतिर जान्छ । रातभरी पानी परेर भिजेको डाँडा, त्यसमाथि हँसिया राम्रोसँग चलाउन नजान्ने अनि साथमा पनि उ जस्तै अरु अल्लारेहरु ।
तल फर्किएर घाँस काट्दै गर्दा खुट्टाको चप्पल चिप्लिएर दिपेश अचानक खस्न पुग्छ । ऊ झन्डै ३ सय मिटर तल पुग्छ । वनभरी कोलाहल मच्चिन्छ एकछिनमा सबै गोठालाहरु जम्मा भएर भिरबाट निकाल्छन् ।
त्यति बेलासम्म उ अर्धचेत अवस्थामा अन्तिम क्षणको मुठ्ठीभर सासको सहाराले मृत्युसँग लडिरहेको थियो । शरीर क्षतबिक्षत अवस्थामा थियो टाउको तथा छातीमा गम्भीर चोट लागेको थियो ।
मान्छे बिरामी हुँदा डोकोमा बोकेर अस्पताल लानुपर्ने मेरो गाउँमा उसका लागि अरु कुनै विकल्प थिएन । उसलाई पिठ्युँमा बोकेर अस्पताल लाँदै गर्दा आधी बाटोमै प्राण त्याग्न पुग्छ ।
मृत शरीर घर ल्याइन्छ । आफ्नै काखमा हुर्काएको कलिलो मुना अल्पायुमै चँुडिदा ७ दशक पार गरिसकेका हजुरबुबा, हजुरआमाको मनमा फाटेको धाजा, आफ्नो बुढेसकालको सहारा आज आँगनमा लाश बनी आउँदा बुवालाई परेको पीडा, भाइटीकामा दीर्घायुको कामना गर्ने दिदीलाई परेको बज्रपात अनि जेठो दाइ गुमाउनु पर्दा भाइहरुले झारिरहेका आँसुबारे वर्णन गर्ने कुनै शब्द थिएन ।
अब केवल आमाको पर्खाइ थियो । आमा चाहिँ घाँसपातको लागि मेला गएकी थिइन् । घरमा आइपुग्न लाग्दा घरमा के को भीड हो भन्दै आत्तिन्छिन् । अनि आँगनमा राखिएको आफ्नो मुटुको टुक्राको लाश देख्दा भावविह्वल हुन्छिन्, रुन्छिन्, कराउँछिन् । घरी मुर्छित हुन्छिन्, घरी मृत छोरालाई अंगालो हाल्छिन् ।
खर्कबाट छिट्टै फर्कि आउँछु भनी गएको छोरा सदाका लागि यो संसार छाडेर गयो भन्ने विश्वास नै लागिरहेको थिएन ।
एकछिनमा आँगनभरी गाउँलेहरु जम्मा हुन्छन् । गाउँको चलनअनुसार ब्रतवन्ध नगरेकोले साबिकको मसानघाटमा नजलाई छुट्टै जङ्गल बीचको खोल्सानजिक रुखको जरामुनि उसलाई गाडिन्छ ।
ऊ पुरिएर गए पनि आमा बुवाको हृदयमा बनेको खाडल कहिल्यै पुरिन सकेन । घर वरपर उसका साथीहरु खेलेको देख्दा गाण्डिवबाट छुटेको बाणलेझै आमाको छाती वारपार गरेर जान्छ ।
उसको नाम हराए पनि इगल कापीको प्रत्येकजसो पानामा उसले कोरेका चित्र अनि कथा, कविता ताजै छन् । उसले खेल्ने डण्डीबियो अनि काठको भटभटे आँगनको डिलमा छ । उसको घरपरिवारको सदस्यहरुलाई लाग्छ, कतै न कतैबाट एकदिन त ऊ पक्कै आउला । कुनै चाड्पर्वमा त कसो नआउला र । विडम्वना आइरहन्छन् केवल उसका यादहरु ।
काँडापारी, दार्चुला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण