बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

दुई दशकपछि निगमको भण्डारण क्षमता विस्तार, पोखरामा १ करोड लिटर डिजेल भण्डार गृह

सोमबार, ०१ साउन २०८०, १७ : ०७
सोमबार, ०१ साउन २०८०

पोखरा । करिब २ दशकपछि नेपाल आयल निगमले आफ्नो डिजेल भण्डारण क्षमता विस्तार गरेको छ । सोमबार पोखरामा १० हजार किलोलिटर (एक करोड लिटर) क्षमताको डिजेल भण्डारण गृह उद्घाटन भएको हो ।

सरकारको ३ महिनालाई पुग्ने इन्धन भण्डारण क्षमता विस्तार गर्ने नीति अनुसार निगमले ३ वर्ष अघिदेखि यो भण्डारण गृह निर्माणको काम सुरु गरेको थियो । करिब १ अर्ब रुपैंयाको लागतमा यो भण्डार गृहको निर्माण भएको आयल निगमका प्रवक्ताले रातोपाटीलाई जानकारी दिए ।

सोमबार उद्घाटन भएको यो भण्डार गृह निर्माणको लागि ८९ करोड लागतमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की तयार गरिएको हो । यसका अलवा फायर फाइटिङका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्क पनि निर्माण गरिएको छ ।  १० हजार किलोलिटर क्षमताको दुईवटा भण्डारण गृह थपिएसँगै गण्डकीमा डिजेल भण्डारण एक महिनालाई पुग्ने छ । यसअघिसम्म एक सातालाई मात्र डिजेलको भण्डारण रहेको थियो ।

oil-dip-pokhara (2)

निगमको इतिहासमा दुई दशकपछि भण्डारण क्षमता विस्तार भएको हो । निगमले विसं २०५६ यता नयाँ भण्डारण गृह निर्माण गर्न सकेको थिएन । इन्धन भण्डारण गृह नहुँदा इन्धन आपूर्तिमा अवरोध हुँदा बजारमा अभाव हुने गरेको थियो । पोखराबाट गण्डकी प्रदेशको मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की, तनहुँ र स्याङ्जाका पम्पमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरिन्छ । पोखरामा डिपोबाट सामान्य अवस्थामा दैनिक डिजेल दैनिक २८० किलोलिटर, पेट्रोल १२० किलोलिटर बिक्री हुन्छ ।

पर्याप्त भण्डारण स्थल नहुँदा इन्धन आपूर्तिमा कठिनाइ भइरहेको अवस्थामा पोखरामा एक करोड लिटर क्षमताका इन्धन भण्डारण ट्याङ्क निर्माण गरिएको निगमले जनाएको छ । आयल निगमले गण्डकी प्रादेशिक कार्यालय मातहतको निगम डिपोमा हाल पाँच सय किलोलिटर पेट्रोल र डिजेल दुई हजार पाँच सय किलोलिटर क्षमताको भण्डारण गृह रहेको थियो ।

निर्माणको काम समानान्तर, रेलिगियर र भारत ट्याङ्कले गरेका हुन् । भण्डारण स्थलमा आगजनी भए वा धुवाँ निस्केमा स्वचालित मेसिनबाट अग्नि नियन्त्रण गर्ने प्रविधिसमेत जडान गरिएको छ । भण्डारण गृहको निर्माणको काम तीन वर्षअघिदेखि सुरु भएको थियो। निगमले विभिन्न ठाउँमा इन्धन भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढिरहेको छ ।

चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । चितवनमा भण्डारण गृह निर्माण निगमको लगानीमा हुने छ । हाल निगमसँग एक हप्तालाई मात्र पुग्ने ६८ हजार किलोलिटर क्षमताको भण्डारण रहेको छ । डेढ लाख किलोलिटर क्षमताको दुई ठाउँमा भण्डारण गृह निर्माण गरिने भएको हो ।

oil-dip-pokhara (4)oil-dip-pokhara (5)oil-dip-pokhara (6)oil-dip-pokhara (7)oil-dip-pokhara (8)oil-dip-pokhara (9)oil-dip-pokhara (10)oil-dip-pokhara (12)oil-dip-pokhara (13)oil-dip-pokhara (14)oil-dip-pokhara (15)oil-dip-pokhara (16)oil-dip-pokhara (17)oil-dip-pokhara (18)oil-dip-pokhara (19)oil-dip-pokhara (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप