आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

विभागको पहलपछि अध्यागमनले दियो प्रस्थान अनुमति, कुवेत उड्न थाले श्रमिक

बुधबार, ०३ साउन २०८०, १३ : ४५
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । अध्यागमन कार्यालयले अनुमति दिएसँगै नेपाली श्रमिकहरू क्रमिक रूपमा कुवेत उड्न थालेका छन् । यसअघि कागजात शंकास्पद रहेको भन्दै त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले ११७ जना श्रमिकलाई प्रस्थान अनुमति दिएको थिएन ।

तर  वैदेशिक रोजगार विभागले आवश्यक सहजीकरण गरिदिन भन्दै पत्राचार गरेपछि अध्यागमन विभागले  पनि अध्यागमन कार्यालयलाई सहजीकरण गर्न र प्रस्थान अनुमति दिन भनेको थियो । 

गत असार २७ र २८ गते कागजात शङ्कास्पद देखिएको, ढिला गरी विमानस्थल पुगेको जस्ता कारण देखाउँदै अध्यागमनले रोकेको थियो ।  विनाकारण अध्यागमनले श्रमिकहरूलाई रोकेको भन्दै म्यानपावर व्यवसायीहरू आक्रोशित बनेका थिए । उनीहरूले अध्यागमनका महानिर्देशकको राजीनामा माग्नुका साथै कार्यालयमा प्रदर्शन समेत गरेका थिए । 

त्यसपछि यो विषयमा अध्यागमनले विभिन्न चार सर्त पुरा गरेको खण्डमा प्रस्थान अनुमति दिने बताएको थियो । अध्यागमनको विज्ञप्तिपछि वैदेशिक रोजगार विभागले समेत आफ्नो क्षेत्राधिकार मिचेको आरोप लगाएको थियो । 

विद्यमान कानुन अनुसार श्रम स्वीकृति लिएर गएका श्रमिकहरूलाई रोक्ने अधिकार अध्यागमनलाई नभएको विभागले प्रस्ट पारेको थियो । सोही आधारमा अध्यागमनले अर्को विज्ञप्ति जारी गर्दै ऐन, कानुन पालन गर्न प्रतिबद्ध रहेको जनाएको थियो । वैदेशिक रोजगार विभागको क्षेत्राधिकारभित्र प्रवेश गर्ने आफ्नो कुनै मनसाय नरहेको बताएको थियो । 

त्यसपछि वैदेशिक रोजगार विभागले अध्यागमनलाई सहजीकरण गरिदिन भन्दै पत्राचार गरेको हो । सोही आधारमा श्रमिकहरू जान थालेको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव मेघनाथ भुर्तेलले बताए ।  टिकटको उपलब्धताको आधारमा श्रमिकहरू क्रमिक रूपमा जान थालेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप