सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
विकास निर्माण

हेटौँडा सडक विस्तार : पाँच सयभन्दा बढी घर भत्किने, छ सय व्यवसायी प्रभावित हुने

शुक्रबार, ०५ साउन २०८०, १२ : ३६
शुक्रबार, ०५ साउन २०८०

हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको पथलैयादेखि नारायणगढ खण्डको सडक खण्डमा पर्ने घर भत्किने भएका छन् । यो खण्डको सडक विस्तार कार्यका लागि डिभिजन कार्यालय हेटौँडाले निकालेको सूचनाअनुसार सो खण्डका घरटहरा भत्किने भएका हुन् । सो सडक सीमामा निर्माण भएका घरटहरा हटाउने सूचनाको म्याद सकिन अब १० दिन मात्र बाँकी छ । यही साउन १५ गतेभित्र सडक सीमा क्षेत्रमा रहेका घर टहरा हटाउनुपर्ने सूचनाको म्याद छ ।

यो खण्डको सडक विस्तार गर्न पछिल्लो पटक असार १० गते सडक डिभिजन कार्यालय हेटौँडाले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउन आग्रह गरेको हो । उक्त अवधिभित्र राजमार्गको दायाँबायाँ २५–२५ मिटर सडक सीमाभित्र निर्माण भएका हेटौँडाको मुख्य बजार क्षेत्रका घरहरू खाली गर्नुपर्ने सूचनाको आशय हो । 

सोही सूचना अनुसार हेटौँडा उपमहानगरपालिकाले पनि बजार क्षेत्रको सडक विस्तारमा सघाउन सडक किनारमा रोपिएका फूल तथा बिरुवाहरूको गमलालाई स्थान्तरण गर्न थालेको छ । उपमहानगरपालिकाको गत असार दोस्रो सातामा बसेको नगरसभाबाट सडक विस्तारमा समन्वय र सहकार्य गर्ने सर्वसम्मत निर्णय नै भएको थियो । सोही निर्णयअनुसार उपमहानगरपालिकाले बुधबार रातिबाट सडक किनारमा भएका गमला तथा फलामे बार हटाउन सुरु गरेको हो । पूर्व–पश्चिम राजमार्गको २५ मिटर क्षेत्रमा पर्ने भएपछि उपमहानगरपालिकाले उक्त सडकअन्तर्गत रहेको हेटौँडा–१ र १० तर्फको राप्ती रोडको सडक पेटीमा राखिएका गमला स्थानान्तरण गरेको हो ।

उपमहानगरपालिकाले सडक विस्तारमा सहजता प्रदान गर्न उक्त सडक क्षेत्रको किनारमा रहेका अशोकका बिरुवा पनि स्थानान्तरण गर्ने तयारी गरेको छ भने सबै वडा अध्यक्षहरूलाई सडक विस्तार कार्यमा सहजीकरण गर्न आग्रह गरेको छ ।

लामो समयदेखि उक्त राजमार्गअन्तर्गतको मकवानपुर खण्डको सडक हालसम्म विस्तार हुन सकेको छैन । दैनिक हजारौँ सवारी साधन र बढ्दो जनसङ्ख्याको चापका कारण हेटौँडा बजार अव्यवस्थित भनेको छ भने साँघुरो सडकमा सवारी चापका कारण दुर्घटनाको जोखिम बढ्दो छ । सडक डिभिजन कार्यालय हेटौँडाले सडक सीमामा निर्माण गरिएका भौतिक संरचना हटाउन सूचना निकालेसँगै सो विषयले निकै चर्चा पाएको छ । सडक विस्तारका लागि हेटौँडाको रातोमाटेदेखि राप्ती पुलसम्म मुख्य रूपमा समस्या रहेको छ ।

उपमहानगरपालिकाले केही दिनअघि तयार पारेको प्रारम्भिक तथ्याङ्क अनुसार हेटौँडाको रातोमाटेदेखि राप्ती पुलसम्ममा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ वटा घर भत्किने देखिएको हो । उपमहानगरपालिकाका अनुसार सो सडकखण्डमा परेका अकिांश घर पूर्ण रूपमा र केही घरको आंशिक रूपमा क्षति हुने तथ्याङ्कमा उल्लेख छ ।

सडक विस्तारमा सङ्घीय सरकारको चासो कम हुनु र अदालती प्रक्रियाका कारण यो योजना अलपत्र अवस्थामा थियो । हेटौँडा बजारबाट पश्चिमतर्फ राप्ती पुल पारि हेटौँडा–११, थानाभर्याङदेखि मनहरि गाउँपालिकाको लोथरसम्म (करिब ४० किलोमिटर) सडकमा २५ मिटर विस्तार गर्न कुनै अवरोध छैन । ती स्थानमा सडक सीमा क्षेत्रको अवरोध हटिसकेका छन् भने हेटौँडा–१५, रातोमाटेदेखि बाराको अमलेखगञ्ज–पथलैयासम्म पनि बिनाअवरोध सडक विस्तार हुने अवस्था छ ।

घना बस्ती र मकवानपुरको मुख्य व्यापारिक केन्द्र रहेको हेटौँडाको व्यावसायिक व्यवस्थापनको विषयले सडक विस्तारमा समस्या पार्दै आएको छ । पछिल्लो समय हेटौँडा बजार क्षेत्रको सडक विस्तारका लागि मकवानपुरका प्रमुख राजनीतिक दलहरू एकढिक्का बनेका छन् । मकवानपुरमा क्रियाशील राजनीतिक दलहरू हेटौँडा बजार क्षेत्रको सडक विस्तारमा सहयोग गर्ने पक्षमा उभिएका छन् । व्यवसायी तथा वास्तविक पीडितहरूको व्यवस्थापन गर्दै सडक विस्तार गर्नुपर्ने उनीहरूको धारणा रहेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैयासम्म र चितवनको नारायणगढसम्म बाटो विस्तार भइसकेकाले मकवानपुरमा मात्रै रोक्न सम्भव नभएको भन्दै विकसित हेटौँडा निर्माण अभियानमा अघि बढ्नुपर्ने उनीहरूको धारणा रहेको छ । राज्यले कुनै पनि नागरिकहरूलाई सुकुम्बासी बनाउन नहुने भन्दै तथ्याङ्क सङ्कलन गरी मुआब्जाको व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ ।

पाँच सयभन्दा बढी घर भत्किने
राजमार्ग क्षेत्रको सडक विस्तारका क्रममा हेटौँडा बजार क्षेत्रका पाँच सयभन्दा बढी कच्ची तथा पक्की घरहरू भत्किने भएका छन् । राजमार्गको रातोमाटेदेखि राप्ती पुलसम्मको सडक दायाँबायाँ गरी कुल ५३१ घरटहरा क्षति हुने हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।

सडक विस्तारका लागि उपमहानगरपालिकाले केही दिनअघि तयार पारेको प्रारम्भिक तथ्याङ्क अनुसार हेटौँडाको रातोमाटेदेखि राप्ती पुलसम्ममा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ वटा घर भत्किने देखिएको हो । उपमहानगरपालिकाका अनुसार सो सडकखण्डमा परेका अकिांश घर पूर्ण रूपमा र केही घरको आंशिक रूपमा क्षति हुने तथ्याङ्कमा उल्लेख छ ।

सो तथ्याङ्क अनुसार हालको हेटौँडा १५ रातोमाटेदेखि हेटौँडा–८ र ९ को सिमाना हनुमान गेटसम्मको सडक खण्डको दायाँतर्फ २४ र बायाँतर्फ ९१ वटा गरी जम्ममा ११५ वटा घरटहरा विस्तारका क्रममा क्षति पुग्ने भएको छ । सो खण्डको हेटौँडा–१५ को दायाँ–बायाँ केही बस्ती छन् । हेटौँडा–८ तर्फ औद्योगिक क्षेत्रको भूभाग पर्छ भने हेटौँडा–९ तर्फको खण्डमा बाक्लो बस्ती रहेको छ ।

त्यस्तै हनुमान गेटदेखि कर्रापुलसम्मको खण्डमा १२२ घरमा क्षति पुग्ने देखिन्छ । हेटौँडा–८ र ९ मा पर्ने सो खण्डमा पनि ८ तर्फ केही उद्योग रहेकाले ४१ वटा मात्र घरटहरा पर्छन् भने हेटौँडा–९ तर्फ ७१ वटा घर पर्दछन् । सो खण्डमा २०५८ मा तत्कालिन सुकुम्बासी समस्या समाधान आयोगले बाढी पहिरो पीडितहरूको व्यवस्थापनका लागि लालपुर्जा वितरण गर्दै बस्ती बस्न दिएको थियो ।

त्यसैगरी कर्रा पुलदेखि उत्तरतर्फ हेटौँडा बजार क्षेत्रको कोर एरिया पर्दछ । मुख्यतः हेटौँडा–४ र हेटौँडा–१० नम्बर वडामा पर्ने सो कर्रादेखि सुमार्गी कम्प्लेक्ससम्मको खण्डमा मानव बस्ती रहेको छ । सो खण्डको दायाँबायाँ तर्फ कुल ११२ वटा घर पर्छन् । सडक विस्तारका क्रममा सो खण्डको हेटौँडा–४ सुमार्गी कम्प्लेक्सतर्फ ७६ र हेटौँडा–१० फरेस्ट्री क्याम्पसतर्फ ३६ घर पर्छन् । सो खण्डको हेटौँडा–१० तर्फ क्याम्पस र तत्कालीन राजपरिवारले प्रयोग गर्दै आएको भवन रहेको छ । उक्त भवनलाई हाल रानी दरबार नामबाट चिनिन्छ भने उक्त दरबारमा राजारानी भ्रमणमा आउने र बस्ने गर्दथे । हाल सो क्षेत्र नेपाल ट्रस्टको अधिकार क्षेत्रमा रहेको छ भने नेपाली सेनाको क्याप बस्दै आएको छ ।

सडक विस्तारका क्रममा सुमार्गी कम्प्लेक्सदेखि उत्तरतर्फ बुद्धचोकसम्म ९७ वटा घरहरूमा क्षति पुग्ने देखिन्छ । सो खण्डमा हेटौँडाको मुख्य बजार क्षेत्र अवस्थित रहेको छ । उक्त खण्डको हेटौँडा–४ तर्फ ४६ र १० तर्फ ५१ घरटहरामा क्षति पुग्ने भएको छ । बुद्धचोकबाट सो राजमार्ग पश्चिमतर्फ मोडिन्छ । सो खण्डमा हेटौँडा–१ र १० नम्बर वडा रहेको छ । बुद्धचोकबाट चाइना गेटसम्मको खण्डमा हेटौँडा–१ तर्फ २८ र हेटौँडा–१० तर्फ ३५ वटा गरी ६३ वटा घरहरूमा क्षति पुग्ने तथ्याङ्कमा उल्लेख छ । उक्त खण्डको हेटौँडा–१ तर्फ हेटौँडा अस्पताल अवस्थित रहेको छ भने १० तर्फ नेपाल टेलिकम, जिल्ला प्रहरी कार्यालय र हेभिइक्युपमेन्ट कार्यालय रहेको छ ।

चाइना गेटबाट पश्चिमतर्फ राप्ती पुलसम्मको हेटौँडा–१ र १० को अन्तर्गत २२ वटा घरटहरा सडक सीमामा पर्दछन् । २०७३ सालमा पहिलो पटक सडक विस्तारका क्रममा सो खण्डमा डोजर प्रयोग गरी घरटहरा हटाइएको थियो । जसकारण सो खण्डको हेटौँडा १ तर्फ ९ र हेटौँडा १० तर्फ १३ घर पर्छन् । सोही खण्डमा सडक डिभजिन कार्यालय हेटौँडाको कार्यालय समेत अवस्थित रहेको छ । राप्ती पुलबाट पश्चिमतर्फ भएर जाने सडक विस्तारमा कुनै समस्या रहेको छैन ।

हेटौँडा बजार क्षेत्रको बाटो विस्तारका क्रममा रातोमाटेदेखि राप्ती पुलसम्मका खण्डमा व्यवसाय गर्दै आएका करिब ६०० व्यवसायी प्रभावित हुने उपमहानगरपालिकाको तथ्याङ्क छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप