बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मन

शनिबार, ०६ साउन २०८०, १० : २४
शनिबार, ०६ साउन २०८०

समयको दोष कि तिम्रो 
आखिर मन के रहेछ 
उडिरहन्छ एकोहोरो 
दोषी तिमी कति भनूँ 
निर्दोष कति, भनूँ कसलाई ? 
एकोहोरो बगिरहने त्यो,
कोशी जस्तै तिमी किन बनेनौ ?
नदीको गर्भमा शालिग्राम बोक्ने, 
कालीगण्डकी तिमी किन भएनौ ?

नबुझेर पनि हैन 
जानी जानी किन यस्तो भयो ?
ती च्याङ्गबाको मन हेर त
ती आपाहरू कति स्थिर छन् 
समयले तिमीमा परिवर्तन आयो कि ?
बदलिएको मनले मेरो मनमा सुनामी ल्याउँदा
तिमी किन हाँसिरहन्छौ ? 
लेतेको ढुङ्गा र माटो नमिले जस्तो मेरो मन 
थरथरिन्छ हावाको झोक्कामा
तिमी बगिरहन्छौ काली जस्तै शान्त बनेर किन ?

कोर्रा हानेका छैनौ होला 
थिल्थिलिएको छु म भित्रभित्रै 
देखेको छैन नेलकाँटी पयरमा
बाँधिएको छु समाजमा बन्धनले
निधारामा मूल्यको ट्याग नहोला
बेचिएको छु प्रत्येक पल
टेक्छु यही माटोमा
भासिन्छ किन ? 
हिँड्छु राजमार्गमा एकोहोरिएर
आफ्नै शरीरमा टेके जस्तो लाग्छ किन ?

बदलिएका छन् दृश्य
फेरिएका छन् चित्र
रङ बदलेको छ भूगोलले
आँखाले बदलिएको मनलाई
छिटै चिनेन कि ?
नयाँ दुलहीको त्यो पहिलो रातको मन 
भैंसालोटनमा झैँ फुटेको छ चिरा परेर 
कोहिनुरको खोजीमा म 
धड्कन बिनाको शरीर जस्तै
भन्छु परिवर्तित नबन 
आकाशमा उडेको, 
मालचरी जस्तै थकित म
समयले अपमानित किन बनाउँछ ?
किन बनाउँछ ??

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रीता भण्डारी
रीता भण्डारी
लेखकबाट थप