शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
मौद्रिक नीति

विदेश भ्रमणबारे मौद्रिक नीति : आर्थिक विधेयकविपरीत खर्चको सीमा किन बढाइयो ?

सोमबार, ०८ साउन २०८०, १३ : १७
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । विदेश भ्रमणबारे आर्थिक विधेयक र मौद्रिक नीतिको व्यवस्था एक आपसमा बाझिएको छ । सरकारको वित्त नीति (बजेट) लाई नै समर्थन गर्ने गरी राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याइएको बताउँदै गर्दा बजेटमा गरिएको व्यवस्था विपरीत भ्रमण खर्चको सीमा भने बढाएको हो ।

आर्थिक विधेयक, २०८० मार्फत सरकारले विदेश भ्रमणमा जानेहरूबाट ५ प्रतिशत भ्रमण शुल्क उठाउने उद्घोष गरेको छ । यस्तो शुल्क व्यक्तिले साट्ने विदेशी मुद्राबाट असुल्ने सरकारको नीति छ । यसो गर्दा विदेश भ्रमण निरुत्साहित हुने र भ्रमणकै नाममा वर्षेनी बाहिरिइरहेको अर्बौँको नगदमा कमी आउने सरकारको अपेक्षा छ । 

गत आर्थिक वर्ष २०७९/८० को ११ महिनामा मात्र विदेश भ्रमण शीर्षकमा १ खर्ब १९ अर्ब ९८ करोड ५० लाख रुपैयाँ बाहिरिएको छ ।  सोही समयमा विदेशी पर्यटकहरूबाट जम्मा ५८ अर्ब ६ करोड रुपैयाँ बराबरको मात्र विदेशी मुद्रा भित्रिएको अवस्था छ । 

समीक्षा अवधिभित्र पर्यटन शीर्षकमा आम्दानीभन्दा ६१ अर्ब ९२ करोड रुपैयाँले बढी भएसँगै सरकारले भ्रमण नियन्त्रणको नीति लिएको थियो । आर्थिक विधेयक, २०८० को अनुसूची २२ को १ मा वैदेशिक पर्यटन शुल्कको व्यवस्था गर्दै सरकारले विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लगाई असुल गरिने व्यवस्था गरेको छ । 

आइतबार आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको केन्द्रीय बैंकले सरकारको नीति विपरीत विदेश भ्रमणलाई प्रोत्साहनको नीति लिएको छ । विदेशी विनियम व्यवस्थापन नीतिको ११७ नम्बरको बुँदामा भ्रमण खर्च सुविधासम्बन्धी व्यवस्था गर्दै केन्द्रीय बैंकले भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधा बापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलरमा २५०० सम्म उपलब्ध गराइने उल्लेख गरेको छ । यसअघि यस्तो व्यवस्था एक व्यक्तिले वर्षमा दुई पटक गरेर १५०० अमेरिकी डलरसम्म सटही सुविधा पाउँथे । 

किन बढाइयो भ्रमण खर्च ?

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र माग र आवश्यकका आधारमा केन्द्रीय बैंकले भ्रमण खर्च सुविधा केही वृद्धि गरेको बताउँछन् । ‘चालु आर्थिक वर्षको मौद्रिक नीति सरकारको वित्त नीति र भ्रमण नियन्त्रण नीति विरुद्ध गएको छैन/होइन पनि । बजारको माग र आवश्यकताले मौद्रिक नीतिमार्फत विदेश भ्रमणको डलर सटही सुविधा बढाएका हौँ । विदेश भ्रमण, औषधी उपचार, बिजनेश प्रयोजनका लागि जाँदा १५०० डलर मात्रले साह्रै नै गाह्रो भयो, धान्न सकिएन भन्ने जनगुनासोपछि केन्द्रीय बैंकले सम्बोधन गरेको हो,’ डेपुटी गभर्नर मिश्रले रातोपाटीसँग भने । 

त्यस्तै ढुकुटीमा पछिल्लो समय विदेशी मुद्राको सञ्चिति समेत पर्याप्त भएको बेला सेवाग्राहीलाई सुविधा दिऊँ भनेर सटही सुविधा बढाइएको उनले बताए । 

‘यसअघि पनि भ्रमण खर्च सटही सुविधा ३ हजार अमेरिकी डलर थियो । एक व्यक्तिले वर्षमा दुई पटक गरेर ३ हजार डलरसम्म भ्रमण खर्च मुद्रा सटही सुविधा पाउँथे । तर, तीव्र आयात, रेमिट्यान्समा सङ्कुचन आएसँगै विदेशी मुद्रामा चाप पर्‍यो र खर्च घटाउन बाध्य भयौँ । ३ हजार डलर रहेको भ्रमण खर्च सटही सुविधालाई दुई पटक गरेर १५०० डलरमा झार्‍यौ । तर अहिले त्यसरी कस्नुपर्ने अवस्था छैन, सहज भएसम्म सुविधा दिऔँ भनेर नै मौद्रिक नीतिबाट यस्तो व्यवस्था गरिएको हो । तर, भोलि फेरि अप्ठेरो परे यस्तो सुविधा घटाउँदै नियन्त्रण गर्छौँ,’ मिश्रले भने । 

विगत तीन वर्षको भ्रमण खर्च

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गएको तीन वर्षमा मात्र विदेश भ्रमण शीर्षकमा २ खर्ब ३७ अर्ब ८० करोड ८० लाख रुपैयाँ नगद पलायन भएको छ । यो सोही समयमा विश्व पर्यटन बजारबाट नेपालमा भित्रिएको नगदको तुलनामा २२१.५४ प्रतिशतले बढी हो । 

गएको तीन वर्ष भ्रमण तथा पर्यटन शीर्षकमा नेपाल भित्रिने विदेशीहरूबाट जम्मा ९४ अर्ब ६२ करोड ९० लाख ८० हजार रुपैयाँ बराबरको मात्र आम्दानी भएको छ । सोझो हिसाबमा यस अवधिमा नेपाललाई सेवातर्फको भ्रमण शीर्षकमा १ खर्ब ४३ अर्ब १७ करोड ८० लाख ६० हजार रुपैयाँ घाटा लागेको छ । 

कुन वर्ष कति घाटा लाग्यो ?

सन् २०२० देखि २०२२ को अन्तसम्म नै कोभिड–१९ को प्रभाव कायमै रह्यो । यसै प्रभावकाबीच के नेपाली–के विदेशी खासै आउजाउ भएन । बरु विदेशी पर्यटकभन्दा नेपालीहरू नै बढी विदेश भ्रमणमा गएको तथ्याङ्कमा देखिन्छ । 

राष्ट्र बैंकको तथ्याङ्कअनुसार सन् २०२०/२१ अर्थात् आर्थिक वर्ष २०७६–७८ को ११ महिनामा नेपाल भ्रमणमा आएका विदेशीहरूले जम्मा ६ अर्ब ६९ करोड ३० लाख रुपैयाँ बराबरको खर्च गर्दै गर्दा उता नेपालीहरूले विदेश भ्रमणमै ७२ अर्ब ४ करोड ७० हजार रुपैयाँ खर्चेका छन् । सोही वर्ष मुलुकलाई ६५ अर्ब १० करोड रुपैयाँ माथिको भ्रमण घाटा लागेको छ । 

यस्तो घाटाको शृङ्खला आर्थिक वर्ष २०७७–७८ मा पनि रोकिँदैन । आर्थिक वर्षको जेठ मसान्तसम्म थप वैदेशिक भ्रमण घाटा १२.४६ प्रतिशतले बढ्दै ७३ अर्ब २१ करोड १० लाख पुगेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा विदेशी पर्यटकले २९ अर्ब ८७ करोड ६० लाख रुपैयाँ बराबर भित्र्याइरहँदा उता सोही अवधिमा नेपालीहरूले ८७ अर्ब अर्ब ३ करोड ३० लाख रुपैयाँ विदेशमा खर्च गरेका छन् । 

यस्तै, पछिल्लो आर्थिक वर्ष २०७९/८० को ११ महिनामा भ्रमण शीर्षकमा ५८ अर्ब ६ करोड रुपैयाँ भित्रिदै गर्दा १ खर्ब १९ अर्ब ९८ करोड ५० लाख रुपैयाँ बाहिरिएको केन्द्रीय बैंकले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ८.३ प्रतिशतको वृद्धि हो । 

यसरी वर्षेनी भ्रमण शीर्षकमै मुलुकलाई ठुलो घाटा लागिराख्दा ब्यालेन्स अफ पेमेन्ट (बीओपी) मा प्रभाव परेको केन्द्रीय बैंकले जनाएको छ । यद्यपि, पछिल्लो समय मुलुकको पर्यटन क्षेत्र सुधार भएसँगै विदेशी पर्यटकको आगमनसमेत बढ्दा घाटामा केही कमी आएको हो । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ८ लाख ४९ हजार ७२८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यसले भ्रमण खर्चको असन्तुलनको दरार केही कम गर्न भूमिका खेलेको केन्द्रीय बैंकको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप