आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

औषधि पसल अनुगमन गर्न गएको टोलीलाई व्यापारीले थुने

सोमबार, ०८ साउन २०८०, २० : ५६
सोमबार, ०८ साउन २०८०

सुनसरी । औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई इनरुवाका व्यापारीले थुनेका छन् ।  

मेडिकल पसल सञ्चालकसहित स्थानीय व्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाको टोलीलाई २ घण्टा बढी थुनेका हुन् । 

गृहको पत्रानुसार औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने क्रममा विवाद चर्केपछि मेडिकल सञ्चालक तथा व्यापारीहरु आन्दोलनमा उत्रिएका थिए । सो क्रममा अनुगमन टोलीमाथि हातपातको प्रयास भएको बताइएको छ ।  औषधी व्यवसायी र व्यापारीको अवरोधका कारण बाहिर निस्कन नसकेको अनुगमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पु¥याएको थियो । 

व्यापारीहरुले ओषधि पसल बन्द गर्ने धम्की समेत दिएका छन् । प्रदर्शनमा उत्रिएका नेशनल मेडिसिन सेन्टरका सञ्चालक योगेन्द्र मेहताले अनुगमन टोलीको शैलीमाथि प्रश्न उठाउँदै आन्दोलनमा उत्रिनुपरेको प्रतिक्रिया दिए । उनले अनुगमनमा सहभागी जिल्ला अस्पतालका इनरुवाका निमित्त मेसु डाक्टर देवराज घिमिरे घटनाको कारक भएको बताए ।

यता अनुगमन टोलीको नेतृत्व गरेका प्रशासकीय अधिकृत केशव खतिवडाले औषधि व्यवसायीको रवैया ठिक नभएको प्रतिक्रिया दिए  ।

उनले अनुगमन टोलीमाथि व्यापारी, व्यवसायीको अवरोध र आक्रमण प्रयास निन्दनीय रहेको बताए । 

खतिवडाले अनुगमनका क्रममा अधिकांश औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएकाले पुनः अनुगमन गरी कारबाहीको प्रक्रियामा ल्याउने बताए ।

यता घटना पश्चात् जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुगमन प्रतिवेदन तयार पारी घटना छानबिन गरी दोषी उपर कारबाही थाल्ने जनाएको छ ।- (न्युज एजेन्सी नेपालबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप