आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एसियाडको विशेष तयारीमा नेपाली बक्सिङ

बुधबार, १० साउन २०८०, १९ : ४३
बुधबार, १० साउन २०८०

काठमाडौँ । १९औं एशियाली खेलकुदमा पदक जित्न सक्ने खेलको सूचीमा पहिलो प्राथमिकतामा रहेको नेपाली बक्सिङले विशेष प्रशिक्षण सुरु गर्ने भएको छ ।  

आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाउ शहरमा १९औं एसियाड सुरु हुँदैछ । सोही एसियाडमा नेपालको बक्सिङसहित तेक्वान्दो र करातेलाई पदक सम्भावनाको खेल रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले पहिलो प्राथमिकता राखेर तयारी गर्दै आइरहेको छ । 

सोहीअन्तर्गत पछिल्ला केही महिनादेखि नेपालीको बक्सिङ टोलीले तयारी सुरु गर्दै आइरहेको हो । भारतीय प्रशिक्षक शिव सिंहको नेतृत्वमा रहेको प्रशिक्षण टोलीमा दीपक महर्जन, राज श्रेष्ठ र प्रवीण तुलाधर छन् । राखेपले १९औं एसियाडमा खेल्ने खेलको टुङ्गो लगाउँदा नै प्राथमिकतामा राखेको तीन खेललाई विशेष तयारी गराउने उद्घोष गरेको थियो ।

उक्त विशेष तयारीअन्तर्गत आवश्यक परेको खण्डमा विदेशी प्रशिक्षक, वैदेशिक प्रशिक्षण र म्याचएक्सपोजर जस्ता मुख्य पक्षहरू समावेश गर्ने लगायत राखेपका योजनामा थिए । पहिलो प्राथमिकतामा रहेका तीन खेलमा पूर्ण कोटामा प्रतिष्पर्धा गराउने योजनाअनुरूप नेपालको १३ बक्सरले आगामी एसियाडमा प्रतिष्पर्धा गर्दैछ । 

पोखरामा एक हप्ताको प्रशिक्षण र भारतको पन्जाबका बक्सरसँग मैत्रीपूर्ण प्रतियोगिता खेलेपछि नेपालको बक्सिङ टोलीले वैदेशिक प्रशिक्षणको यात्रा थालेको छ ।

१९ औं एशियाली खेलकुदको तयारीका लागि नेपाली बक्सिङ टोलीले भारतमा नै प्रशिक्षण गर्ने भएको हो । एक महिना विशेषण जुलाई २७ देखि अगस्ट  २७ सम्म भारतको पन्जाबमा हुनेछ । पन्जाब इन्स्टिच्युट अफ स्पोर्ट्स पटियालाको टोलीसँग प्रशिक्षणका साथै मैत्रीपूर्ण खेल पनि खेल्ने योजनामा रहेको प्रशिक्षक दीपक महर्जनले जानकारी दिए । 

उक्त विशेष प्रशिक्षणका क्रममा नेपाली टोलीले भारतका लागि क्युबाका प्रशिक्षक फर्नान्डेज र अन्य भारतीय प्रशिक्षकसँग पनि प्रशिक्षण गर्ने कार्यक्रम रहेको नेपाल बक्सिङ महासंघले जनाएको छ । 

सोही विशेष प्रशिक्षणमा जाने नेपाली टोलीलाई बुधवार राखेपमा आयोजित एक कार्यक्रमका बीच बिदाइ गरिएको थियो । उनीहरूलाई राखेप सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गर्नुभएको थियो । सो अवसरमा सदस्यसचिव घिसिङले एशियाली खेलकुदमा नेपाली बक्सिङको गर्विलो इतिहासलाई फर्काउनका लागि पछिल्ला समय काम आफूले काम गरिरहेको उल्लेख गरे । साथै उनले संघलाई पनि पदक जित्ने लक्ष्यका साथ ठोस योजना ल्याउन पटकपटक निर्देशन पनि दिँदै आएको बताउनु भयो । 

सन् २०१० मा चीनकै गोङ्झाउनमा भएको १६औं एशियाली खेलकुदमा नेपालको बक्सिङले पदक जितेको थियो । हाल नेपाली टोलीको प्रशिक्षणमा रहेका दीपक महर्जनले कांस्य पदक जितेका थिए । त्यसयता, भने नेपाली बक्सिङ एसियाली प्रतिष्पर्धा सुखद् बन्न सकिरहेको छैन । यस पटक भने नेपाली बक्सिङले पुरानो साख फर्काउने विश्वास सदस्यसचिव घिसिङको छ । १९औं एसियाड अगाडि चीनको हानझाउमा विभिन्न देशका प्रतिनिधिहरूले गर्ने टर्च ¥यालीमा चीनमा नै भएको एसियाडमा पदक विजेता दीपक महर्जनले नेपालको तर्पmबाट प्रतिनिधित्व गर्नेछन् । बक्सिङकै खेलाडीलाई प्रोत्साहन हुने उद्देश्यअनुरूप बक्सिङकै प्रशिक्षकलाई त्यो अवसर सुम्पिएको राखेपका सदस्यसचिव घिसिङले बताए । 

सदस्यसचिव घिसिङले प्राथमिकतामा रहेका तीन खेलमध्ये बक्सिङबाट आफू र समग्र राज्यले नै धेरै आशा गरेको बताए । तयारी गाडि भएका सानासाना प्रतियोगितालाई पनि एसियाड नै सम्झेर मेहनत गर्दै आफूलाई पूर्ण रूपमा तयार राख्न सदस्यसचिव घिसिङले खेलाडीलाई आग्रह गरे । साथै उनले प्रशिक्षकहरूका लागि पनि यो ठूलो अवसरसँगै जिम्मेवारी पनि प्राप्त भएको बताए । सदस्यसचिव घिसिङले यो जिम्मेवारी पूर्ण रूपमा पालना गर्न प्रशिक्षकहरूलाई निर्देशन दिए ।

१९औं एसियाडमा सेप्टेम्बर २४ देखि बक्सिङ प्रतिष्पर्धा हुने छ । जहाँ नेपालका सात पुरुष बक्सर र ६ महिला खेलाडीले चुनौती प्रस्तुत गर्दैछन् । पुरुष ५१ केजीमा रविन थापा, ५७ केजीमा बुद्ध लामा, ६३ केजीमा भूपेन्द्र थापा, ७१ केजीमा दीपेश लामा, ८९ केजीमा दीपक श्रेष्ठ,  ९२ केजीमा रविन नेपाल र ९२ केजीमाथि आशिष दुवाडी छन् । महिला ५० केजीमा सुस्मा तामाङ, ५४ केजीमा मीनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा, ६० केजीमा संगीता सुनार, ६६ केजीमा विनीता थापामगर र ७५ केजीमा सरस्वती रानाले नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्नेछन् ।  

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप