सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदेश

सुनौली नाकामा कडाइ

बिहीबार, ११ साउन २०८०, १९ : ५८
बिहीबार, ११ साउन २०८०

बुटवल । केही दिन यता भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेको छ । भारततिर जाने र नेपालतिर आउने दुवैलाई चेकजाँचमा कडाइ गरिएको हो ।

सीमावर्ती बजारमा किनमेलका लागि बाक्लो आउजाउ हुँदा भारतीय सुरक्षाकर्मीले नेपालीलाई खासै रोकतोक गर्दैनथ्यो । तर केही दिन यता तस्बिरसहितको परिचय खुल्ने कागजात हेरेरमात्र भारतीय सुरक्षाकर्मीले आफ्नो क्षेत्रमा प्रवेश दिने गरेको छ ।

भारतीय सीमा सुरक्षा बलका उच्च अधिकारीले केही दिनअघि सीमा नाकाको निरीक्षण गरेपछि नाका क्षेत्रमा थप कडाइ गरिएको बताइन्छ ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका–३ का राजेन्द्र गुप्ताले विगतको तुलनामा नाकामा कडाइ गरेको अनुभूति आफूहरुलाई भइरहेको बताए ।

हाल भैरहवा भन्सार कार्यालयले १ सय रुपैयाँभन्दा बढी मूल्यको समान ल्याउँदा भन्सार लाग्ने नियम लगाएपछि भारतीय सुरक्षाकर्मीले नाकामा कडाइ गरेको कतिपयको भनाइ छ ।

भारतीय प्रहरीले नेपालीहरूलाई परिचय पत्र माग्ने, गाडीबाट झारेर सोधपुछ गर्ने जस्ता दुःख दिने काम गरेको भैरहवाका व्यवसायी सागर अधिकारीले रातोपाटीलाई बताए ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक अनिल थापाले पनि पछिल्ला दिनमा भारतीय सुरक्षाकर्मीले नाकामा विशेष कडाइ गरेको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नाका कडाइको विषयमा औपचारिक रूपमा केही नआएको तर शंकास्पद लागेका व्यक्तिलाई सोधपुछ गर्ने गरेको सुनिएको बताए ।

केही अघि पाकिस्तानी महिला सीमा हैदर काठमाडौँ आएर स्थलमार्ग हुँदै भारत पुगेको घटना प्रकाशमा आएपछि सीमा क्षेत्रमा कडाइ गरिएको केहीको बुझाइ छ । सीमा हैदरको भारत आगमनलाई भारतमा निकै चर्चा र चासोका साथ हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप