बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा असभ्य रुपमा सञ्चालन हुनथाल्यो : वामदेव गौतम

शुक्रबार, १२ साउन २०८०, १५ : १९
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताएका छन् ।  

शुक्रबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य गौतमले यस्तो बताएका हुन् । उनले नेपालको संसद् पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भएपनि अहिले संसारका कुनैपनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको बताए । 

गौतमले सांसदहरु संसदको नियमावलीलाई बेवास्ता गरी जथाभाबी रुपमा उठेर बोल्ने गरेको बताए । उनले एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको टिप्पणी गरे । उनले पुरानो संसद् परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आबद्ध गराएर नयाँ संसद् बनाएको भन्दै पहिलेको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीन भएको बताए । उनले पछिल्लो समय प्रतिनिधिसभा मात्रै नभएर राष्ट्रिय सभा पनि त्यस्तै हुन थालेको बताए । 

गौतमले कुनैपनि पार्टीले सांसदहरुलाई लगाएर संसदको गतिविधि अवरोध गर्न नपाउने भन्दै संसद् अवरोध गर्ने विषय नियमावलीमा समेत नभएको बताए । उनले सांसदहरुले संसद् आफ्नो विचार व्यक्त गर्ने मात्रै भएको भन्दै अन्य राजनीतिक मुद्दामा पार्टीहरुले कार्यव्यवस्था समितिमा मिलाउनुपर्ने बताए । उनले उद्देश्य मुलुक ढङ्गले संसद् चल्न नदिने किसिमले संसद् अवरुद्ध गराउने काम भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप