शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पानी नपरेपछि रोपाइँ गर्न दमकलकाे प्रयोग

मङ्गलबार, १६ साउन २०८०, १४ : ४५
मङ्गलबार, १६ साउन २०८०

पर्सा । रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन् । साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर पर्नुपरेको हो । 

किसानले खेतमा पानी लगाउन दमकलको चर्को मूल्य तिर्न बाध्य छन् । रोपिएको धान पनि हुन्छ की हुँदैन भनेर किसान चिन्तित छन् । डिजलबाट चल्ने दमकलको भाडा प्रतिघण्टा रु चार सय तथा बिजुलीबाट चल्नेको मूल्य प्रति घण्टा रु तीन सय तिर्नु परिरहेको पोखरिया–४ का सन्तोषप्रसाद चौहानले जानकारी दिए । 

गण्डक नहरमा पानी छैन । स्थानीय तहले कुलो सफा नगर्दा किसान मारमा छन् । उनीहरु दमकलको भरमा खेतमा पानी हाल्न बाध्य छन् । “आकासे पानी अभावमा रोपाइँ गर्न ढिला हुँदा यसवर्ष बाली उत्पादन घट्ने अवस्था छ”, पर्साको जगतपुरका सुरेशप्रसाद पटेलले भने । गत वर्ष पानीको सुविधा भएपनि मल उपलब्ध नगराउँदा समस्या भएको थियो । यसवर्ष सरकारले बेलैमा मल उपलब्ध गराए पनि वर्षा नहुँदा किसानलाई समस्या भएको छ ।  

पर्सामा साउनको दोस्रो साता वित्दा समेत ५० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए । ग्रामीण भेगमा आकासे पानी नपरेकाले रोपाइँ गर्न ढिला भएको र उत्पादनमा कमी आउने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप