बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार

बिहीबार, १८ साउन २०८०, २१ : २०
बिहीबार, १८ साउन २०८०

बाँके । शान्ति पुनःस्थापना गृह, बाँकेले जिल्लाका विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका दुई सय ८८ महिलाको उद्धार गरेको छ ।

सबैभन्दा बढी जमुनाहा नाकाबाट दुई सय ३३ महिलाको उद्धार गरिएको छ । यस्तै जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया नाकाबाट चार र कोहलपुर बसपार्कबाट १७ महिलाको उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिए । उद्धार गरिएकामध्ये बाँकेका ५८ र बर्दियाका ४२ महिला छन् । अहिलेसम्म जिल्लाका सबै नाकामा ४० हजार पाँच सय ४६ जनालाई सूचना तथा परामर्श दिएको सुवेदीले बताए ।  

सुवेदीका अनुसार एक वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी चारवटा मुद्दा दर्ता भएका छन् । “खुला सीमा भएका कारण मानव बेचबिखन रोकथाममा चुनौती छ”, उनले भने । गरिबीका कारण अवसर खोज्दा दलालको चङ्गुलमा फस्ने खतरा रहेको उल्लेख गर्दै संयोजक सुवेदीले मानव बेचबिखनको जोखिममा रहेकाको उमेर समूह १८ देखि २५ वर्ष रहेको जानकारी दिए । पुनःस्थापना गृह बाँकेकी संयोजक सिर्जना गौतमले नयाँ–नयाँ तरिका अपनाएर मानव बेचबिखन गर्न थालिएको जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा भारतबाट उद्धार गरिएकाको सङ्ख्या २२ रहेको छ । संस्थामा खोजतलासका लागि परेका एक सय ७२ निवेदनमध्ये एक सय २४ जना भेटिएको तथ्याङ्क छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप