आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद उत्कर्षमा

उपाध्यक्ष लक्ष्मण किशोर जिम्मेवारी परित्यागको तयारीमा, सोधियो स्पष्टीकरण
शुक्रबार, १९ साउन २०८०, १० : ५२
शुक्रबार, १९ साउन २०८०

धनगढी । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद चुलिएको छ । पार्टीभित्रको जिम्मेवारी बाँडफाँडलाई लिएर विवाद चर्किएको हो । सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका लक्ष्मण किशोर चौधरीले पार्टीको केन्द्रीय उपाध्यक्षलगायतको जिम्मेवारीबाट राजीनामा दिने भएपछि विवाद उत्कर्षमा पुगेको हो । उनी नागरिक उन्मुक्तिका सङ्गठन विभाग प्रमुख हुन् ।

पार्टीको मूल्याङ्कन प्रणाली खराब हुँदा आफूमाथि अन्याय भएको भन्दै उनले पार्टी जिम्मेवारीका ती दुवै पदबाट राजीनामा दिन लागेको बताएका छन् । उनले भने, ‘पार्टीमा विधि पद्धतिलाई लत्त्याइन्छ, मर्यादामा रहेको एउटा क्याडरलाई लत्त्याएर कनिष्ठलाई अघि सार्छ भने हामीले गरेको लगानी, त्याग, तपस्याको कदर हुँदैन भने मैले पार्टीको उपाध्यक्ष र सङ्गठन विभाग प्रमुख भएर बस्नुको कुनै औचित्य छैन । साधारण सदस्य मात्रै भएका माननीयले क्याबिनेट पाउँछन् भने मैले उपाध्यक्ष र सङ्गठन विभाग प्रमुख भएर आफ्नो समय र सम्पत्ति दुरुपयोग गर्नुको औचित्य छैन ।’

त्यस्तै, उनले आफू पार्टी नेतृत्वलाई गुलामी गर्न नसक्दा र आर्थिक डिमान्ड पूरा गर्न नसक्दा उपेक्षित हुनु परेको समेत आरोप लगाएका छन् । ‘मैलै कसै सामु लम्पसार हुन सकिन । नेतृत्वले चाहेको डिमान्ड पूरा गर्न सकिन । त्यो डिमान्ड अरूले पूरा गरेपछि मलाई पाखा लगाइएको हो’ उनले रातोपाटीसँग भने ।

यसैबीच पार्टी नेतृत्वप्रति असन्तुष्ट बनेका लक्ष्मण किशोरले सामाजिक सञ्जालमा राखेको धारणालाई लिएर पार्टी नेतृत्वले आफूलाई स्पष्टीकरण सोधेको बताइएका छन् । तर उनले पार्टीलाई विधि पद्धति अनुसार चलाउनुपर्ने र समग्र टीकापुरका जनताको अभिमतलाई कदर गर्दै धारणा राखेको बताएका छन् ।

उता, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले लक्ष्मण किशोरको राजीनामाले पार्टीलाई कुनै असर नपर्ने दाबी गरेका छन् । रातोपाटीसँग उनले भने, ‘उहाँले पार्टीको कुनै विधि र नियमलाई मान्नु भएको छैन । मिडियामा गएर जिम्मेवारीबाट राजीनामा दिने कुरा गर्नुहुन्छ । उसो भए पार्टी लाभको पदबाट पनि राजीनामा माग्न सक्छ नि !’

सबै कुरामा वरिष्ठता लागू नहुने संरक्षक चौधरीको भनाइ छ । उनका अनुसार पार्टीले आवश्यकताको सिद्धान्तका आधारमा निर्णय गरेको हो । ‘संसदीय दलको निर्णयमा मेरो हस्तक्षेप छैन’, चौधरीले भने, ‘संसदीय दलका अन्य छ जनाले गरेको निर्णय हो ।’

आर्थिक कारणले पेलानमा परेको लक्ष्मणकिशोरको दाबीलाई संरक्षक चौधरीले सोझै इन्कार गरेका छन् । यहाँ नाउपाका ७ जना प्रदेश सभा सदस्य छन् । तीमध्ये पार्टीको मर्यादाक्रमअनुसार वरिष्ठ तथा पार्टीका उपाध्यक्ष एवम् सङ्गठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीलाई संसदीय दलको नेता चयनदेखि हाल मन्त्रीको सिफारिससम्म पन्छ्याइँदै आइएपछि उनी रुष्ट बनेका हुन् ।

पार्टीका जुनियर नेता रामेश्वर चौधरीलाई संसदीय दलका नेता बनाएपछि पार्टीमा विवाद सुरु भएको बताइन्छ । विवादको निकासको लागि उनीहरू दुवैलाई मन्त्री नियुक्त गर्ने सहमतिपछि दलको नेतामा घनश्याम चौधरी र प्रमुख सचेतकमा खुसीराम चौधरीलाई नियुक्त गरियो । तर मन्त्री सिफारिसमा उनलाई पुनः पन्छ्याइपछि चौधरी पार्टी नेतृत्वप्रति रुष्ट बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप