बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्ष चिनहाईलाई ‘भरतपुर भ्रमण वर्ष २०२४’ को निमन्त्रणा

शनिबार, २० साउन २०८०, १० : १८
शनिबार, २० साउन २०८०

लासा । मित्र राष्ट्र चीनको तिब्बत प्रान्तको भ्रमणमा रहेकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्ष यान चिनहाईलाई भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक निमन्त्रणा गरेकी छन् । 

शुक्रबार साँझ तिब्बतको राजधानी लासामा आयोजित विशेष कार्यक्रममा प्रमुख दाहालले निमन्त्रणा–पत्र प्रदान गरेकी हुन् । अध्यक्ष यान चिनहाई नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटघाटको क्रममा प्रमुख दाहालले नेपाल र चीनसँगको सम्बन्ध र तिब्बतको लासासँगको सांस्कृतिक र राजनीतिक सम्बन्धको बारेमा चर्चा गर्दै भरतपुर र तिब्बत बीचको पारस्परिक हित र समग्र  विकासको बारेमा स्मरण गराएकी थिइन् ।

सो अवसरमा अध्यक्ष यान चिनहाईले नेपालको स्थानीय सरकारको  प्रमुखको रूपमा पहिलो पटक स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । चीन नेपालको एक असल छिमेकी रहेको र नेपाल र नेपाली जनताको बृहत्तर हितमा सधै लागिरहने विश्वास व्यक्त गरे ।अध्यक्ष यान चिनहाईले चीन सरकार र नेपाल सरकारका उच्च पदस्थ प्रतिनिधिहरूको आपसी भेटघाटले नेपाल र चीन बीचको जनस्तरको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको धारणा राखेका थिए । 

नेपालले विश्व मञ्चमा एक चीन नीतिको पक्षमा आफ्नो दृढ धारणा राख्दै आएकोमा नेपाल सरकार र नेपाली जनतालाई तिब्बत प्रान्त र चिनियाँ सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे । भेटघाटमा महामहिम यान चिनहाईले भरतपुर महानगरपालिकाले वर्ष २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा उत्सवको रूपमा मनाउन लागेकोमा खुसी व्यक्त गर्दै वर्ष २०२४ मा समय मिलाएर आफू भरतपुर आउने बताउँदै तिब्बती नागरिकलाई नेपाल र भरतपुरको भ्रमण गर्न प्रेरित गर्ने बताइन् । 

त्यस्तै चीनले नेपालसँग सीमा जोडिएको सबै नाकाहरू छिट्टै खोली आवातजावत र व्यापार आदान प्रदानलाई सहज बनाउँदै लैजाने नीति चीनले लिएको बताइन्। 

चिनहाईले भरतपुरले तिब्बतको सिगात्से सहरसँग भगिनी सम्बन्ध कायम गरी जनस्तरको सम्बन्धलाई थप सुदृढ गरेको बताउदै भरतपुरले सिगात्सेको लागि पशु आहार साईलेज प्रदान गरेको प्रति महानगर प्रमुख दाहाल र भरतपुरका जनताप्रति आभार व्यक्त गरे ।

सो अवसरमा भ्रमण दलको तर्फबाट भरतपुर महानगर प्रमुख दाहालले नेपाल र चीनबीच समय समयमा हुँदै आएका उच्चस्तरीय भ्रमण आदानप्रदान दुई देशबीच रहिआएको घनिष्ठ एवम् मैत्रीपूर्ण सम्बन्धको एउटा विशेष आयाम भएको उल्लेख गरिन् । नेपाल सधैँ एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेको बताइन् । 

नेपाल र चीनबीच रहिआएको सम्बन्ध जनस्तरमा समेत प्रगाढ बनाउन भरतपुर महानगर र तिब्बतको सिगात्से सहरबीच भगिनी सम्बन्ध स्थापनाको कार्य अघि बढेको उनको भनाई थियो । भगिनी सम्बन्ध विस्तार भएपछि दुवै महानगरहरूले जनताको जीवनस्तर सुधार्ने सम्बन्धमा एक आपसमा अनुभव र क्षमता आदान प्रदान हुने अपेक्षा लिएको बताइन् । साथै आर्थिक सामाजिक क्षेत्रमा हुने सहकार्यबाट आयात निर्यात तथा व्यापारिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गरिन् ।

चीनको तिब्बत सरकारले नेपाल सरकारलाई निरन्तर प्रदान गरी रहेको आर्थिक प्राविधिक सहयोगको पुन स्मरण गर्दे भरतपुर महानगरको विकासमा समेत थप आर्थिक प्राविधिक सहयोगको लागी अनुरोध गरिन्। साथै भरतपुरमा चिनिया लगानी बढाउन र भरतपुर महानगरले घोषणा गरेको भरतपुर भ्रमण वर्ष सन २०२४ लाई सफल बनाउन चिनिया पर्यटकलाई नेपाल र भरतपुर नगरपालिका भ्रमण गर्न अभिप्रेरित  गराउने कार्यमा सद्भावको अपेक्षा राखिन् । शुक्रबार साँझ उच्च स्तरीय भेटघाटपछि चिनहाईले  नेपाली प्रतिनिधि मण्डलको सम्मानमा रात्री भोजको आयोजना गरेका थिए । 

चीनको स्वसासित क्षेत्र तिब्बतको भ्रमण रहेको प्रतिनिधि मण्डलले लासा सहरको ऐतिहासिक धरोहर पुतला दरबार बार्किड्ग स्टेट लगायतका स्थानहरूको अवलोकन गरेको भरतपुर महानगरपालिकाका प्रेस विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताए । यस अघि प्रतिनिधि मण्डलले सिगात्से सहरको भ्रमण गरी सेकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप