आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागको सफ्टवेयर किन हुन्छ बेला बेला डाउन ?

बिहीबार, २५ साउन २०८०, १९ : ३५
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । केही दिनेदेखि वैदेशिक रोजगार विभागको सफ्टवेयरमा समस्या देखिएको छ । विभाग अन्तर्गत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)को सर्भर डाउन भएको छ ।

जसले गर्दा श्रम स्वीकृति, पुनः श्रम स्वीकृति लगायतका कार्यमा अवरोध सिर्जना भएको छ । यस्तो समस्या भने पहिलो पटक आएको होइन । यसअघि पनि पटक पटक यस्तो खालको समस्या आउने गरेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफूलाई पूर्णरूपमा सूचना र प्रविधिमा लैजाने बताउँदै आएको छ । सोही आधारमा वैदेशिक रोजगार सम्बन्धीका सम्पूर्ण कार्य अनलाइन मार्फत नै हुँदै आएको छ । तर, बेला बेला डाउन हुने समस्याले सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।

पटक पटक यस्तो खालको समस्या किन आउँछ भन्ने प्रश्नमा विभागका महानिर्देशक मदन दाहालले सफ्टवेयरको क्षमता कम भएको बताए । ‘धेरै वर्ष पहिला सीमित प्रयोजनको लागि स्थापना गरिएको थियो । अहिले यसको कार्यक्षेत्र विस्तार हुँदै गयो । तर, सफ्टवेयर अपग्रेड भएन,’ उनले भने ।

दैनिक १२०० युजरलाई एकै पटक एक्सस दिन मिल्ने क्षमता रहेको तर, हाल १२०० भन्दा बढीको संख्यामा युजर आउन थालेपछि समस्या भएको उनको भनाई छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केबल भण्डारीले यसको क्षमता बढाउनको लागि यो वर्ष १० करोड बजेट विनियोजित गरिएको बताए ।

वैदेशिक रोजगार बोर्डको कोषमार्फत बजेट छुट्याएर सफ्टवेयर अपग्रेट गराउने काम हुने सचिव भण्डारीले बताए ।

यसको क्षमता अभिवृद्धि नगर्दा समस्या देखिने भन्दै यसप्रति विभाग र मन्त्रालय सचेत रहेको बताए ।

पटक पटक समस्या आउन थालेपछि व्यवसायीहरूले भने व्यवसायी र श्रमिकलाई दुःख दिने नियतले यस्तो गर्दै आएको आरोप लगाएका छन् । अनलाइन मार्फत भनिएको सिस्टममा समस्या निकालेर आर्थिक चलखेल गर्दै श्रम स्वीकृति लगायतको काम गराउने षड्यन्त्र भइरहेको व्यवसायीहरूको आरोप छ ।

विभागले फाइल सर्भर माइग्रेटको कार्य सम्पन्न भएको तर, विगतको समस्या पुन आउनु सक्ने जनाएको छ । प्रणालीमा विगतमा आएको समस्याको कारण श्रम स्वीकृति दिने क्यू रहेकोले श्रम स्वीकृति नभएसम्म हवाईटिकट समेत नलिन सबैमा अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप